एसियाडमा रजत जितेको यूकेस गुरुङ आठौँ स्थानमा

|
फोटो : प्रतीक्षा काफ्ले

पोखरा : नेपालमै पहिलो पटक स्याङ्जाको स्वरेकमा आयोजना भएको प्याराग्लाइडिङ वर्ल्डकपमा कोरियाले उपाधी जितेको छ। स्वरेकमा तीन दिनसम्म चलेको खेलमा ६ राउण्ड सकिँदा कोरियाले १२ अंक ल्याउँदै उपाधी हात पारेको हो।

प्रतियोगितामा १८ देशका ७९ जना खेलाडीहरूले सहभागीता जनाएका थिए। नाम दर्ता भने १२१ देशका करिब १५० जना खेलाडीले नाम दर्ता गरेको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले जानकारी दिए।

कोरियाले जित्यो तीन स्वर्ण

प्रतियोगितामा ३ वटा स्वर्ण पदक जित्न सफल भएको कोरियाले खुल्ला, एकल तथा समूह चरणको खेलमा समेत एकलौटी बनायो। पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका कोरियाका स्याङज्यू लिमले दोस्रो दिनमा आफ्नो प्रस्तुति नै उल्ट्याए र सबैभन्दा अगाडि रहे। अन्तमा ६ राउण्डको खेलमा १२ अंक आफ्नो खातामा पार्दै खुल्लातर्फ उपाधी जिते।

वर्ल्डकपको छ राउण्डको खेलमा कोरियाली खेलाडीहरूले नै दोस्रो र तेस्रो स्थानमा आफूलाई उभ्याए। कोरियाका जीहुन हो १५ अंकसहित दोश्रो स्थानमा रहन् सफल भए भने किम कि हेवन तेस्रो भए। 

प्रतियोगितामा सोलोभानियाका प्रि–लोजुक रोकले चौथो स्थान हासिल गरेका छन्। प्रतियोगितामा १६ अंक ल्याएका उनी पहिलो दिनको दुई राउण्डको खेलमा भने अग्रस्थान रहेका थिए।

एसियाडमा रजत जित्ने गुरुङ आठौँ स्थानमा

एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडी यूकेस गुरुङ खुल्ला तर्फको इभेन्टमा ३३ अंकका साथमा ८ औं स्थानमा समेटिए।

महिलाहरूमा पनि कोरियाली अगाडि

तीन दिनसम्म चलेको छ राउण्डको खेलमा महिलातर्फ पनि कोरियाका खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक हात पारेका छन्। कोरियाकी हुनही किमले छ राउण्डको खेलमा महिलातर्फ उपाधी हात पारिन्। कोरियाकै योनह्याङ चो दोस्रो भइन्। त्यसैगरी इण्डोनेसियाकी गीता रेजकी गुण्टरी तेस्रो भइन्।

पुरुष टिममा नेपाल तेस्रो

वर्ल्डकपमा पुरुष समूहको प्रतिस्पर्धामा कोरियाले पहिलो र दोस्रो उपाधी हात पार्‍यो भने नेपालले तेस्रो स्थानमा चित्त बुझायो। कोरियाले ९३ अंकका साथ स्वर्ण पदक र  १६४ अंकका साथ रजत पदक हात पार्दा  नेपालले २८४ अंकका साथ कास्य पदक हात पार्न सफल भएको आयोजक टोलीका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए।

प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार ५००, एक हजार २०० र ७०० युरो प्राप्त गरे भने व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७५० र ५०० युरो प्राप्त गरेको आयोजक टोलीका सदस्य श्रेष्ठले बताए।

उपाधी जित्ने खेलाडीहरूलाई भूमि सुधार मन्त्री पद्मा अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज बहादुर गुरु लगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.