|

जनकपुरधाम : धनुषामा एक महिलामाथि बोक्सी आरोपमा कुटपिटसँगै एक लाख  रुपैयाँ जरिवाना गरिएको छ। धनुषाको धनौजी गाउँपालिका- २ बस्ने ३८ वर्षीया मनतोरियालदेवी मण्डल खत्वेलाई पंचायतमै कुटपिटसँगै एक लाख रुपैयाँ जरिवाना गरेको घटना बाहिर आएको छ।

गत कार्तिक ९ गते पंचायतमा नै बोक्सी भन्दै कुटपिट गर्नुका साथै बोक्सी स्वीकार गर्न लगाई एक लाख रुपैयाँ जरिवाना गराइएको हो। ५० हजार रुपैयाँ भोजभतेर र ५० हजार रुपैयाँ पंच गरी कुल एक लाख रुपैयाँ जरिवाना गरिएको पीडित मण्डलले दुःखेसो पोखिन्। मन्तोरियालाई जेठाजु इन्दल मण्डल खत्वे र उनकी बुहारी इन्दलदेवी मण्डलले बोक्सीको आरोपमा जातीय पंच बोलाएर पंचायतमै मन्तोरियालाई निर्घात कुटपिट गर्दै बोक्सी स्वीकार गर्न लगाएका थिए।

पंचायतमा खत्वे समाजका स्थानीय माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजुसमेतले लछारपछार गर्दै कुटपिट गरेको पीडित मान्तोरियाले बताइन्। मन्तोरियाले भनिन्, ‘पहिला घरमा विवाद भयो। जेठाजु इन्दल, जेठानी मानकीदेवीलगायतले कुटपिट गरे। त्यसपछि जेठाजुले खत्वे समाजका पूरै पंचहरू बोलाएर मलाई बोक्सी स्वीकार गर्न लगाए।’

‘स्वीकार नगरेपछि पंचायतमै लछारपछार गर्दै पंचले समेत शरीरका विभिन्न भागमा निर्घात कुटपिट गरे। म स्वीकार गर्न बाध्य भएँ अनि पंचहरूले ५० हजार रकम र ५० हजारको भोज गर्नुपर्ने जरिवाना निर्णय गरे। जरिवाना तिर्न नसक्ने भनेपछि थप कुटपिट गरेर मलाई बेहोस बनाए’, मनतोरियाले भनिन्।

घटनापछि मन्तोरियाले विदेशमा रहेका आफ्ना श्रीमानलाई फोन गरेर भएको घटनाको वृत्तान्त सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधिकहाँ न्यायका लागि जान सुझाव दिए। मन्तोरियादेवी धनौजी गाउँपालिका- २ का वडा अध्यक्ष राजकुमार साहकहाँ उजुरी गर्न पुगिन्। उनका अनुसार वडा अध्यक्ष साहले समाजका पंचले गरेको निर्णयलाई स्वीकार गर्न र गाउँमै मिल्न सुझाव दिएका दिए। त्यसपछि गत बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दोषीहरूमाथि कारवाही र न्यायको माग गर्दै मन्तोरियाले ठाडो उजुरी दर्ता गराएको केन्द्र प्रमुख दीपिका ओझाले जानकारी दिइन्।

साथै पीडित मन्तोरियादेवीले घटना विषयमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई जानकारी गराउँदै न्यायका लागि पहल गरिदिन गुहार गरेकी थिइन्। मन्त्री यादवले घटनाको जानकारी लिएपछि यस विषयमा सत्यतथ्य पत्ता लगाएर यस्तो घटनामा संलग्न दोषीमाथि तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउने बताए।

मनतोरियाका श्रीमान् ईन्द्रजित मण्डल खत्वे वैदेशिक रोजगारीमा छन् भने उनका चार छोराछोरी रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.