'कर तिर्नु सभ्य नागरिकको कर्तव्य पनि हो तर कर प्रणाली गलत भयो'

|

पर्यटकीय क्षेत्रको विकासमा प्युठानमा होटल व्यवसायीले उल्लेखनीय भूमिका खेलेको छ। स्वर्गद्वारी प्युठान महोत्सव, प्युठानका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँहरूको तस्वीर राखिएको फ्लेक्स प्रत्येक होटलका भित्ताहरूमा राखेर, देशभरका होटल व्यवसायी संघ, मिडिया, पर्यटन व्यवसायीलाई प्युठानमा रहेको स्वर्गद्वारी आश्रममा वृहत अन्तक्र्रिया गराएर, प्युठानमा नागरिक समाजबाट हुने परिवर्तनकारी आन्दोलनमा सहभागी हुँदै होटल व्यवसायी संघ प्युठानले हरेक क्षेत्रमा सहयोग पु¥याएको छ। २०६५ चैत १७ गते जुम्री बसपार्कमा चोपबहादुर कुँवरको संयोजकत्वमा भेला गरी शिवबहादुर पुलामीको अध्यक्षतामा ११ जना सदस्य रहने गरी कार्यसमिति गठन गरिएको थियो। 

सुरुदेखि भाडाको घरमा होटल व्यवसायी संघको कार्यालय रहेको छ। हाल संघको भवन निर्माण कार्य जारी रहेको छ। प्युठान नगरपालिका– ४ जुम्रीमा भवन निर्माण कार्य जारी छ भने सभा हल भाडामा लिइएको छ। यही कात्तिक १८ गते होटल व्यवसायी संघको नवौँ साधारणसभा तथा चौथो अधिवेशन गर्ने तयारीमा छ। प्युठानमा होटल व्यवसायीको भूमिका र अवस्था विषयमा थाहाखबरकर्मी शशिधर भण्डारीले होटल व्यवसायी संघ प्युठानका अध्यक्ष चन्द्रलाल न्यौपानेसँग गरेको कुराकानी प्रस्तुत छ। 

प्युठानमा होटल व्यवसायको अवस्थाको कस्तो छ?

विगतको तुलनामा अहिले होटलको व्यवसायको अवस्था राम्रो छ। भौतिक पूर्वाधारसहित प्युठानमा लगानीको दृष्टिकोणले जम्मा गरी हेर्ने हो भने अर्बौं रुपैयाँ लगानी भएको छ। होटल व्यवसायी संघ प्युठानमा अहिले दर्ता भएका मात्र ६५० होटल व्यवसायी फर्महरू छन् भने दर्तामा नआएका होटल गरी प्युठानमा ८०० बढी होटलहरू संचालनमा आएका छन्।  तथापि, यसले पर्याप्त मात्रामा पूरा भयो भन्नेचाहिँ होइन। संख्यात्मक हिसाबले प्युठानका लागि अहिलेको अवस्थामा पर्याप्त हो तर पूर्वाधारहरूसहितका होटलको अझै कमी छ भन्ने मलाई लाग्छ। पर्यटकीय स्थलहरूमा आगन्तुकहरूको संख्यामा वृद्धि नहुन्जेलसम्मका लागि संख्यात्मक हिसाबले होटलहरू पर्याप्त छन्। नराम्रा छन् भन्ने होइन तर पूर्वाधारको कमी छ। 

व्यवसायीको क्षमता विकास र साना उद्योग संचालनका लागि केही गर्नुभयो? 

व्यवसायीको क्षमता विकासका लागि हामीले हाम्रो बलवुताबाट मात्रै त के गर्न सक्छौ र? यसमा राज्यले लगानी गर्न जरुरी छ। फेरि पनि हामीले हाम्रो क्षेत्रबाट स्थानीय सरकारको केही आर्थिक सहयोगमा यस प्युठान जिल्लाका सबै व्यवसायीलाई समेटेर क्षमता अभिवृद्धि तालिमहरू बेलाबेलामा संचालन गर्दै आएका छौँ। तीन पटक हामीले सीपमूलक तालिम आयोजना ग¥यौँ। प्युठानका स्थानीय तहमध्ये गौमुखीको ठूलावेँसीबाट कुक, वेटर र होटल व्यवस्थापनको तालिम सुरुवात गरेका हौँ। गौमुखी गाउँपालिकाले तालिमको सहयोग गरेको थियो। प्युठानका अन्य स्थानीय तहमा पनि भोलिका दिनमा सीपमूलक तालिम संचालन गर्नेछौँ। त्यतिले मात्र पुग्दैन व्यवसायीहरूलाई पर्याप्त मात्रामा तालिम, अध्ययन अवलोकनलगायतका क्षमता अभिवृद्धि गर्न राज्यले ध्यान दिनुपर्छ। 

स्थानीय सरकारले लिने करका कारण व्यवसायमा केही असर परेको छ? 

व्यसायीले गर्नुपर्ने कुराहरू धेरै छन्। प्युठानको सन्दर्भमा केही कुराहरूको मापदण्ड पूरा गर्न समयमा लाग्ला तर तत्काल परिवर्तन अथवा सुधार गर्नुपर्ने कुराहरूमा सरसफाई, गुणस्तरीयता, पर्याप्त पूर्वाधार निर्माण, उचित स्थानको पहिचानसहितको लगानी र स्वच्छ प्रतिस्पर्धाको आवश्यकता देख्छु।

व्यवसायीहरूले तिर्दै आएका करहरू धेरै निकायहरूलाई तिर्ने क्रममा स्थानीय सरकार पनि थप भएको छ। कर तिर्नु सभ्य नागरिकको कर्तव्य पनि हो तर कर प्रणाली गलत भयो। व्यवसायीले राज्यलाई कर एकद्वार प्रणालीबाट तिर्ने व्यवस्था मिलाउनुपर्छ भन्ने हाम्रो जोडदार माग छ। अहिले हामीले कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, आन्तरिक राजश्व, बहाल कर, स्थानीय कर, एकीकृत सम्पति करलगायतका निकायमा कर तिर्दा एकातिर कागजी प्रक्रियामा झन्झटिलो हुनु र व्यवसायीले ती निकायमा जाँदा आउँदा बढी समय खर्चिनुपर्ने समस्याले हामीलाई निकै अप्ठ्यारो पारेको छ। यसलाई यथाशीघ्र सच्चाएर उचित दरको करसहित एकद्वार कर प्रणाली लागू गर्नुपर्छ। त्यसका लागि स्थानीय सरकारले सहयोगी भूमिका खेल्छ भन्ने विश्वास छ। स्थानीय सरकारको जिम्माबाट मात्र कर व्यवस्थित हुन सक्छ भन्ने लाग्छ। 

व्यवसाय धरापमा पर्नुको खास कारण के हो?

व्यवसाय धरापमा पर्नुको खास कारण त धेरै छन्। उपयुक्त स्थानको पहिचान नगरी खोल्नु, लगानी गर्न नसक्नु, राज्यका पर्यटनसँग सम्बन्धित गतिविधि प्रभावकारी नहुनु, राज्यको प्रोत्साहन अभाव, उपयुक्त पर्यटकीय क्षेत्रहरूको पर्यटकीय विकासको अभाव, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउन नसक्नु, सडक, यातायात, संचारलगायतका पूर्वाधारहरूको अभावसँगै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा कमी, ग्रामीण उद्यमीहरूको विकास नहुनु, उद्यममा अस्वच्छ प्रतिस्पर्धालगायतका विविध कारणले होटल व्यवसाय फस्टाउन सकिरहेको छैन। प्युठानमा होटलहरू पर्याप्त मात्रामा हुँदाहुँदै पनि स्तरीय सेवा सुविधासहितका होेटलहरूको कमी नै छ। 

व्यवसायीले सुधार गर्नुपर्ने पक्ष केके हुन्?

व्यसायीले गर्नुपर्ने कुराहरू धेरै छन्। प्युठानको सन्दर्भमा केही कुराहरूको मापदण्ड पूरा गर्न समयमा लाग्ला तर तत्काल परिवर्तन अथवा सुधार गर्नुपर्ने कुराहरूमा सरसफाई, गुणस्तरीयता, पर्याप्त पूर्वाधार निर्माण, उचित स्थानको पहिचानसहितको लगानी र स्वच्छ प्रतिस्पर्धाको आवश्यकता देख्छु।

यहाँका स्थानीय उत्पादन र पर्यटनलाई होटल व्यवसायीले कसरी जोड्न सक्छन्?

स्थानीय उत्पादन र पर्यटनलाई जोड्नका लागि व्यवसायीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ। प्युठानकै कुरा गर्ने हो भने होटल व्यवसायीले प्युठानका पर्यटकीय स्थलको फ्लेक्स बनाएर प्रचार पनि गरिरहेको छ। अब आर्थिक समृद्धि मुलुकले हासिल गर्ने हो भने कृषि र पर्यटन मुख्य अर्थतन्त्रको मेरुदण्ड हुनसक्छन्। त्यसैले स्थानीय उत्पदनको प्रवर्द्धन, पर्यटकले खोजेका सेवा सुविधा होटल व्यवसायीले दिन सक्नुपर्छ।

आगन्तुक पर्यटकहरूलाई मुख्यतया प्युठान जिल्लामा प्रदर्शनीको माध्ययमबाट अथवा विभिन्न मिडियाको माध्यमबाट यस क्षेत्रमा उत्पादन हुने मुख्य उत्पादनको प्रचार प्रसार र निश्चित दरभाउ कायम गर्दै स्थानीय उत्पादनलाई पवर्द्धन गर्न होटल व्यवसायीहरूले सक्छौँ। पर्यटकीय स्थलमा पर्यटकलाई भरपूर मनोरंजन गराउन होटल आवश्यक पर्छ, जसबाट स्थानीय उत्पादनको पवर्द्धनसँगै स्थानीयको आयआर्जनमा वृद्धि हुने र सँगै प्राकृतिक, सांस्कृतिक तत्त्वहरूको महत्त्व बढ्ने हुन्छ। 

तीन वर्षदेखि व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ। के कस्ता योजनाहरू ल्याउन सके होटल व्यवसायले समृद्धिका लागि योगदान दिन सक्ला?

यो मेरो तीन वर्षको कार्यकालमा थुप्रै कामहरू भएका छन् भने थप धेरै गर्न बाँकी पनि छ। अहिले हामी संघको सचिवालय व्यवस्थापन, संघको पहिचान, व्यवसायीहरूलाई एकआपसमा एकरूपता दिने, संस्थाको सचिवालय भवनका लागि जग्गा खरिद, भवन निर्माण, स्वर्गद्वारी प्युठान महोत्सव सम्पन्न, अध्ययन अवलोकन भ्रमण, क्षमता अभिवृद्धि तालिम, एम्बुलेन्स संचालनलगायतका मुख्य विषयमा केन्द्रित भयौँ। ती उल्लेखित सबै कार्यहरूको कार्यान्वयन भए। 

अब देश संघीयतामा छ। संघीय प्रणालीअन्तर्गत देशमा तीनै तहका निर्वाचन सम्पन्न भएको एक वर्ष पुग्न लाग्यो। तीन तहका सरकारहरू बनेका छन्। अब हामीले हाम्रो क्षेत्रबाट तीनै तहका सरकारहरूसँग पहुँच स्थापित गर्दै पर्यटन र कृषिको क्षेत्रमा साथै उद्योग र ऊर्जाको क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ। साथै प्युठान जिल्लामा उत्पादन हुने अनाज, कोदो, आलुबखडा, चिउरी, टिमुर, मौआ, चुत्रोलगायतका थुप्रै वस्तुहरूलाई प्रशोधन गरेर राज्यको नीति नियमभित्र रहेर मुस्ताङ र जुम्लाले उत्पादन तथा बिक्री गर्दै आएको मार्फाको रूपमा हामीले पनि प्युठानी मार्फा उत्पादन गर्ने हो भने आर्थिक रूपमा प्युठानलाई धेरै फाइदा हुन्छ। सरकारले लिएको ‘सुखी नेपाली ः समृद्ध नेपाल’ नारा प्रभावकारी हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.