|
प्रतीकात्मक तस्वीर

विराटनगर : भारतीय नगरिकलाई नगरिकताको लागि सिफारिस दिने विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव अर्यालसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् वडाध्यक्ष अर्यालसहित नागरिकता सिफारिस गर्ने, साक्षी बस्ने र नागरिकता लिने गरी १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

झुठा विवरणका आधारमा भारतीयलाई नेपाली नागरिकता सिफारिस गरेको, नागरिकता दिलाएको र लिएको अभियोगमा आइतबार मुद्दा दायर भएको हो। गैरनेपाली नागरिकलाई नागरिकताको सिफारिस दिने वडा अध्यक्ष अर्याल विराटनगर महानगरपालिकाका प्रवक्तासमेत हुन्।

भारतीयलाई नागरिकता सिफारिस गरेको अभियोगमा वडा अध्यक्ष अर्यालसहित सोही वडाका सदस्य रमेश साह, वडासचिव पुष्षा तिम्सिना विरुद्धसमेत मुद्दा दायर भएको छ। बाबु बनेर नागरिकता दिलाउने मुख्य अभियुक्त विराटनगर १ घर भइ कटहरी गाउँपालिका १ बस्ने ५५ वर्षीय सत्यनारायण पोद्दारको बयानको आधारमा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेको हो।

यसैगरी प्रहरीले झुटो विवरण पेश गरी पोद्दारको छोरा बनेर नागरिकता लिने २२ वर्षीय सञ्जीब पोद्दार, २० वर्षीय धिरज पोद्दार, जितेन्द्र पोद्दार, २५ वर्षीय राजेन्द्र पोद्दार, २५ वर्षीय रोशनकुमार पोद्दार, १८ वर्षीय मिथिलेस पोद्दार र १९ वर्षीय पवन पोद्दारविरुद्ध पनि मुद्दा दर्ता गरेको छ। त्यस्तै उनीहरूको नागरिकतामा साक्षी बस्ने विराटनगर १ की ४७ वर्षीया सीमादेवी राम, सोही वडाका ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोशी गाउँपालिका १ बस्ने ४५ वर्षीय सुरेश पोद्दार, कटहरी गाउँपालिका १ बस्ने ४३ वर्षीय बैजनाथ शर्माविरुद्ध पनि  मुद्दा दर्ता भएको मोरङ अदालतले जनाएको छ।

मुख्य अभियुक्त सत्यनारयणले कान्छी श्रीमतीतर्फको छोराहरू भएको बताउँदै उनीहरूबाट मोटो रकम लिएर नागरिकता दिलाएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ। प्रहरीले अहिलेसम्म नागरिकता बनाइदिने मुख्य अभियुक्त सत्यनारायणलाई मात्र पक्राउ गरेको छ भने अन्य फरार छन्। सत्यनारायणले प्रतिव्यक्ति २२ हजार भारू लिएर उनीहरूलाई नागरिकता बनाइदिएको अभियोगपत्रमा उल्लेख छ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि भने पोद्दारले दुईवटा नागरिकता बनाइदिएका थिए। अन्यको नागरिकता भने त्यसअघि नै बनाइएको हो। उनले २०७४ मा एक जनाको र २०७५ मा अर्काको नागरिकता बनाइदिएको खुलेको छ। पछिल्लो सिफारिसप्रति जिल्ला प्रशासन कार्यालयले आशंका गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएपछि घटना बाहिर आएको हो।

प्रहरीले पोद्दारलाई पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वडा अध्यक्ष अर्याल, वडा सदस्य साह र सुन्दरहरैचा घर भर्इ हाल विराटनगर महानगरपालिका १ का वडासचिव तिम्सिना फरार छन्। फरार रहेका अभियुक्तको सोहीअनुसार र पक्राउ परेका सत्यनारायणको सोमबारदेखि बयान शुरु हुनेछ।

यसअघि वडा अध्यक्ष अर्यालबाहेकलाई मात्र अभियोग लगाउने तयारी सरकारी वकिलको कार्यालयले गरेको थियो। तर, प्रहरीले भने वडा अध्यक्षसमेतको सहभागिता रहेको भन्दै उनलाई पनि अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। कांग्रेस र महानगरको नेतृत्वले अर्याललाई मुद्दा नचलाउन दबाब दिएकै कारण शुक्रबार अभियोगपत्र दर्ता हुन सकेको थिएन।

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले वडाध्यक्ष अर्याल परिवन्दमा परेको बताउँदै उनको गल्ती नभएको दावी गरेका छन्। जन्मदर्ता, विद्यालयका प्रमाणपत्र, प्रहरीको सर्जिमिन र स्थानीय साक्षीसहित आएकाहरूलाई वडाध्यक्षले सिफारिस गरेको भन्दै उनले अर्यालको नियतवस दोष नभएको बताए।

नागरिकता ऐनअनुसार झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ। यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.