|

बाँके : नेपालगन्जमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङमा स्थानान्तरण भएपछि बाँकेमा भएका खानेपानीका ५५ वटा योजना प्रभावित भएका छन्। आमनागरिकलाई स्वच्छ पिउने पानी वितरण गर्ने उद्देश्यले खानेपानीका योजना छनोट भए पनि कुनै योजनाको काम अगाडि बढ्न नसकेको डिभिजन कार्यालयले जनाएको छ।

बनाएका आयोजनाका लागि वजेट विनियोजन समेत भइसकेको छ। ‘योजना छनोट गरेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङलाई दिएका छौँ।डिभिजन कार्यालयले प्रदेश सरकारलाई बुझाएको छ। तर कार्यक्रम अहिलेसम्म स्वीकृत भएर आएको छैन,’ तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेका इन्जिनियर प्रकाशजङ शाहले भने।उनले कार्यक्रम स्वीकृत भएर नआएका कारण यस चालू आर्थिक वर्षमा दुई वटा योजना बाहेक कुनै सम्पन्न नहुने स्पष्ट पारे। विगत वर्षदेखि निर्माण भइरहेका नौवस्ता खानेपानी र कचनापुर खाने पानी आयोजना बाहेक अन्य आयोजनाको काम सम्पन्न नहुने संकेत देखिएको छ,’ उनले भने।

बाँकेमा तराई–मधेस खानेपानी आयोजनाका २३ र उच्च प्रविधियुक्त खानेपानी आयोजनाका ३२ आयोजना संचालनमा छन्। तर, बाँके जिल्ला स्थित खानेपानी तथा सरसफाई डिभिजन खारेज भएपछि आयोजना निर्माण तथा अनुगमनको काम रोकिएको छ। बाँकेमा कार्यालय टुंगो नलागेपछि कर्मचारी अलमलमा छन्। बाँके, बर्दिया र दाङ जिल्ला हेर्ने गरि खानेपानी डिभिजन कार्यालय दाङमा स्थापना भए पनि क्रमागत रुपमा संचालन भइरहेका आयोजना हेर्ने अख्तियारी कसैलाई नतोकिएको इन्जिनियर शाहले बताए। ‘कर्मचारी तोक्न ढिलाई हुँदा निर्माणाधिन आयोजना र यस चालू आर्थिक वर्षमा निर्माण हुने आयोजनाको सम्पूर्ण काम प्रभावित भएका छन्,’ शाहले भने। उनले प्रदेश सरकारले निर्णय गर्न नसकेका कारण आफूहरू अलमलमा परेको बताए।

तीन जिल्ला हेर्नेगरि कार्यालय स्थापना भए पनि पहिलेका साविक जिल्लामा भएका कर्मचारी पनि डिभिजन कार्यालयमा नभएको उनले बताए। ‘कामको प्रकृति अनुसारको कर्मचारी नहुँदा कार्यालयको सम्पूर्ण काम प्रभावित हुने सम्भावना छ,’ उनले भने। उनले कर्मचारीको ब्यवस्था नगरे योजनाहरू अलपत्र पर्ने बताए। 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुणनिधी पोख्रेलले कर्मचारी थोरै भएकोले परिचालनमा समस्या भएको बताएका छन्। उनले जिल्लामा फिल्ड कार्यालय राख्ने प्रदेश सरकारको नीति नरहे पनि जिल्लामा हुने योजनाको काममा सहजता ल्याउन फिल्ड कार्यालय राख्ने योजना बनाएको बताए।उनले अवको एक हप्ताभित्र सम्बन्धित जिल्लामा कर्मचारी खटाई सक्ने जानकारी दिए।

एउटा जिल्लामा बसेर तीन जिल्लाको काम हेर्न सम्भव नभएको बताउँदै उनले फिल्ड कार्यालयका कर्मचारीलाई आधिकारिक रुपमा खटाइने बताए। ‘प्रदेश सरकारबाट परिपत्र आउन ढिलाई भएको छ। उताबाट परिपत्र आउनासाथ कर्मचारी परिचालन गर्छौं,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.