पाँचचोटि बोलाउँदा पनि आएनन् भुसाल

|

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्‍ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यमा देखिएको समस्याका कारण अहिले अस्पतालमा उपचारपछि बेडरेष्ट गरिरहेका छन्। यही समयमा नेपालीहरूको प्रमुख चाडपर्वको मौसम चलिरहेको छ। दशैँदेखि राजनीतिक दलका औपचारिक पार्टी गतिविधि लगभग ठप्पै छन्।

तर चाडपर्वका अवसरमा राजनीतिक दलहरूले चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। दशैंकै बेला नेकपा अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनी दशैंपछि टिचिङ अस्पतालमा ६ दिन उपचार गराएर अहिले बालुवाटारमा आराम गरिरहेका छन्। यसबीचमा आयोजना गरिएका शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरू देशका विभिन्‍न जिल्लामा आयोजना गरिएका कार्यक्रमहरूमा सहभागी भएका छन्। 

चाडपर्वको सन्दर्भमा आयोजना गरिएका कार्यक्रमहरूमा नेताहरूले देश दौडाहा गरिरहेका छन्। केन्द्रमा पार्टी एकता भएको लामो समय भइसक्दा तल्ला कमिटीहरू अझै एकीकरण हुन सकेका छैनन्। यसबीचमा नेकपाले प्रदेश कमिटीका पदाधिकारीलाई प्रदेशको नेतृत्वको होमवर्क गर्ने जिम्मा दिएको छ भने नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेललाई एकताको सम्पूर्ण खाका बनाउने जिम्मा दिएको छ।

चाडपर्वका कारण अहिले यी कामहरू पनि खासै हुन सकेका छैनन्। तर नेताहरू भने अहिले देश दौडाहामा छन्। चाडपर्वको सन्दर्भमा आयोजना गरिएका कार्यक्रममा नेताहरू सहभागी हुँदै आएका छन्। 

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा जिल्ला कमिटी दाङ र बाराले आयोजना गरेको शुभकामना आदानप्रदान तथा आमसभामा सहभागी भएका छन्। काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आयोजना गरिएका चियापान कार्यक्रममा समेत नेताहरू सहभागी भए। यसबीचमा नेता नेपाल संसदीय समितिले आयोजना गरेको पोखरा बिमानस्थलको अनुगमनसमेत गरेका छन्। सोमबार पनि संसदीय समितिको आयोजनामा निजगढ विमानस्थलको अनुगमनका निम्ति नेपाल नेपाल बारा गएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। 

नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि यसबीचमा विभिन्न कार्यक्रममा सहभागी भएका छन्। चाडपर्वको अवसरमा आयोजना गरिएका चियापान तथा आमसभा कार्यक्रममा सहभागी भएका छन्। काठमाडौं महानगरपालिकाको वडा नम्बर १३, १५ मा आयोजना गरिएको कार्यक्रममा नेता खनाल सहभागी भएका छन्। सोमबार काठमाडौं १४ मा आयोजना गरिएको कार्यक्रममा सहभागी भएको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। यसैगरी नेता खनाल पर्वत र कास्कीमा अगुवा कार्यकर्तासँग भेटघाट गरेका छन्। 

प्रचण्ड र विष्णु पौडेल संगसँगै हिँड्दा... 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल यसबीचमा आयोजना गरिएका केही कार्यक्रममा लगातार सँगसँगै हिँडिरहेका छन्। यसबीचमा नेता प्रचण्ड र पौडेल जनकपुर, चितवन, रुपन्देहीको बुटवलमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका छन्। सोमबार मोरङको विराटनगरमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेताद्वय सहभागी भइरहेका छन्।

यसबीचमा केही कार्यक्रममा लगातार सँगै देखिएका प्रचण्ड र पौडेल रूपन्देहीमा आयोजना गरिएका कार्यक्रममा भने विवादमा तानिए। त्यसो त दुई नेताको विरोध नभएर नेकपा स्थायी समिति सदस्य तथा रुपन्देही ३ बाट निर्वाचित सांसद घनश्याम भुसालले असन्तुष्टि जनाएपछि कार्यक्रम विवादित देखियो। 

रुपन्देहीको बुटवलमा शनिबार कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नेता भुसालले निम्ता नपाएको भन्दै कार्यक्रम ‘बहिष्‍कार’ गरेको समाचार बाहिरियो। प्रदेशस्तरीय भनिएको उक्त कार्यक्रमको आयोजक भने रुपन्देही जिल्ला कमिटी थियो। 

रुपन्देही कार्यक्रममा भुसालले नबोलाएको भनेर विरोध गरेपछि अन्य ठाउँमा आयोजना गरिएको कार्यक्रममा पनि यसको प्रभाव देखिन थालेको छ। तर, कतिपयले यसलाई पार्टीभित्रको आन्तरिक अन्तरविरोधको प्रभावका रूपमा बुझेका छन्। 

चाडपर्वका सन्दर्भमा आयोजना गरिएपनि यी सभाहरूलाई एकता सन्देशसभाका रूपमा लिइएको छ। तर ती सभाहरूमा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलमात्र सहभागी भएपछि नेकपाका बरिष्ठ नेताहरू समेत असन्तुष्ट रहेको नेकपाका नेताहरू बताउछन्।

पाँचचोटि बोलाउँदा पनि आएनन् भुसाल

रुपन्देहीको बुटवल कार्यक्रमका आयोजकका अनुसार उक्त कार्यक्रममा नेता भुसाललाई कार्यक्रमको निम्ता दिइएको थियो। तर पनि प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने नेकपाका धेरै नेताहरू सहभागी हुँदा रुपन्देहीकै घनश्याम भुसाल कार्यक्रममा गएनन्।

आयोजकका तर्फबाट ५ पटक निम्ता गरेको र घरमै गएर पनि जानकारी दिएको भए पनि नेता भुसाल सहभागी नभएको नेकपाका नेताहरूले बताउँदै आएका छन्। 'नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्तीमगर, स्थानीय जिल्ला कमिटीका आयोजकहरू, नेकपा जिल्ला सचिवमा प्रस्तावित नेताहरूले नै उहाँलाई निम्ता गर्नुभएको थियो', रुपन्देहीका एक नेताले भने, 'तर उहाँ किन उपस्थित हुनुभएन थाहा भएन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.