|

  • श्री सुरेन्द्र-

काठमाडौंको भिडभाडमा हिँड्दा हिँड्दा दुई वर्ष बितिसकेछ। यो भीडलाई छोडेर आज दुई वर्षपछि घर जादैछु। सुदुरपश्चिम यातायातको गाडीको सिट नम्बर ५ मा छु।

लामो यात्रामा एसी र आरमदायी सिट भएको सफासुग्घर गाडी चढ्दा जो कसैलाई आनन्दानुभूति हुँदो रहेछ। म पनि स्वभाविक आनन्द अनुभव गर्दैछु। काठमाडौंबाट सुदुरपश्चिमका लागि चल्ने प्राय सबै गाडी नयाँ र सफा छन्। कुनै डिलक्स, कुनै एसी लेखिएको छ। जो आरामदायी सवारी साधनको सूचक बनेको छ। टिकट बिक्रेताले दुईचार वाक्य फालेपछि जो–कोहीले पनि डिलक्स/एसी गाडीको टिकट लिइहाल्छन्।

छिप्पिदै गरेको अँध्यारोसंगै म थानकोटबाट ओह्रालो झर्न थालेँ। गाडी पृथ्वी राजमार्गका घुम्तीहरुमा गुडिरहेको भएपनि मन भने सुदूरपश्चिम पुगिसकेको थियो। उसै त घर जाने योजना बनाउँदादेखि नै मनमा गाउँघर सम्झिएर मन नाच्न थाल्छ। गाडीमा त्यस्तै भयो। जसै गाडी हुँइकिदै थियो सुदूरपश्चिमका सुन्दर पाखा पखेरा र गाउँवस्ती सम्झनामा फिल्मको रिल घुमेझैँ भइरहेको छ। दिदीबहिनी, आमाबुवा आफन्त, नातागोतासंग बसेर कुराकानी गरिरहेको थियो मन।

मोबाइलमा एकपछि अर्को गरी बजेका डोटेली देउडा, लोकगीत, हिन्दी कालजयी गीतले यात्रालाई जीवन्त बनाइरहे। इयरफोनले कानमा मीठो संगीत दिइरहेको थियो जसले गाडीको आवाजबाट मुक्ति दिएको थियो। मोबाइलमा रहेका सयौं गीतमध्ये बिष्णु माझी र महेश औजीले गाएको ‘सुदूरपश्चिम स्वर्गसरी, नटुटाउ  प्रेमको डोरी, रैझौ जनमभरी...’ दोहोरिइरह्यो।

गीतको धुन र स्मृतिको उडानमा पृथ्वी राजमार्ग कटेको पत्तै पाइनछु। गाडीले गति घटाएपछि झ्यालबाट होडिङवोर्ड पढ्न भ्याए, ‘नारायणगढ चोक’ लेखिएको थियो। गाडी गुडिरहयो। राजमार्ग छेउछाउ आउने विभिन्न शहर बजार र बनजगंल नियाल्दै कल्पनाको उडानमा उडिरहेँ।

मध्यरातमा ड्राइभरले गाडी रोके, कपिलवस्तको गोरुसिंगे पुगिएको रहेछ। खाना खान एउटा मात्र होटल रहेछ। सादा खानाको २८० रुपैयाँ मात्र! दार्चुला अपी हिमालको यात्रा सम्झिए। जहाँ दुई वर्ष अघि एउटा पसलमा १२० रुपैयाँमा मासुभात खाएको थिएँ। सोचेँ हिमालमा धान फल्दैन तर त्यहाँ बस्नेहरु लुटन जान्दैनन्।

बिभिन्न जिल्लाहरु पार गरेर दोस्रो दिन बिहान ७ बजे गाडीले सुदूर नेपाल टेक्यो। कर्णाली तर्दै। कर्णाली पुल तर्नेबित्तिकै भूगोल मात्र होइन हावापानी सबै थोक फेरिएको महसुस हुन्छ। बाँकी नेपाल भन्दा भिन्न भाषा र संस्कृति बोकेको सुदूरपश्चिमको एउटा कुनामा मात्र पाइला टेक्दापनि आफ्नो घरको आँगनमा पाइला राखेजस्तो खुसी मिल्छ।

सुदूरपश्चिममा पातलो ज्यान भएका मानिस भेटिन्छन्। काठमाडौंमा जस्तो टाइट लुगा लगाएका केटी त्यति भेटिदैनन्। धनगढी र महेन्द्रनगर जस्ता सहरमा समेत कुर्ता लगाएका बढी भेटिन्छन्। तराईको गर्मीमा टाइट पाइन्ट लगाएर हिँड्न असजिलो भएर पनि हुनसक्छ। महेन्द्रनगर र धनगढी बजारमा बिहान साँझ कुर्ता सुरुवाल लगाएका क्याम्पस र कलेज जाने छात्राका लर्का साइकलमा हुइँकिएको सुन्दर दृश्य देखिन्छ। स्कुल र कलेजपिच्छे फरक–फरक खाले ड्रेस हुने हुनाले बजारनै रंगीचंगी फूलैफूलको बगैंचा जस्तो देखिन्छ।

बिहान १० बज महेन्द्रनगर बसपार्क पुगियो। झर्ने बित्तिकै महाकाली यातायातको काउन्टरमा पुगेर दार्चुलाका लागि टिकेट किनेँ। सिट चार्टमा गाडीको अन्तिम सिटमात्र खाली देखियो। विकल्प थिएन, त्यही सिटको टिकट लिएँ। गाडी ३ बजे दिउँसो छुट्ने भएकाले इलेक्ट्रिक रिक्सा चढेर महेन्द्रनगर बजार घुम्न थाले। आधा दशकअघि मैले छाडेको बजार बिरानो भइसकेको रहेछ। त्यो बेला मसंग हाँस्ने बोल्ने साथीहरुले पनि छोडेछन् महेन्द्रनगर बजार। तर, सडक, चोक अनि चौतारी उस्तै रहेछन्। मैले आँखा चिम्लेर पुराना दिनहरु सम्झिए। बजारमा घुम्दाघुम्दै ३ बज्न लागेछ। गाडी चढ्न बसपार्कभित्र पसेँ। टिकट काट्दा गाडी हेरेर काटेको थिइनँ। सोचेको थिएँ, काठमाडौंबाट आउने गाडी जस्तै नयाँ र सफा–सुग्घर होलान्। गाडीको अवस्था सोचेभन्दा ठीक उल्टो रहेछ।

यातायात व्यवसायी नयाँ गाडीमा डिलक्स/एसी लेखेर काठमाडौंको रुटमा चलाउँदा रहेछन्। पहाडी रुटमा थोत्रा गाडी। मैले चढ्ने गाडी निकै पुरानो र गन्हाएको रहेछ। तीन पटक भित्रबाहिर गर्दासम्म गाडी खचाखच भरिइसकेको थियो। गाडीमा न एसी, न आरामदायी सिट थियो। छतमा चामलका बोरा थिए भने गाडीभित्र ग्यासका सिलिण्डर। तिनै सिलिन्डरमा र बचेका ठाउँमा मुढा राखेर सिट नपाएका यात्रुहरु बसे। इन्जिनले थाम्नै नसक्ने भार बोकेर गाडीले महेन्द्रनगर बसपार्क छोड्यो। अनि कुद्न थाल्यो महेन्द्र राजमार्गमा , अत्तरियातर्फ।

साझँ ५ बजे अत्तरिया बसपार्क पुगेको हाम्रो गाडी थप यात्रु चढाउन दुईघण्टासम्म रोकियो। यातायात व्यवसायीले कतिसम्म बदमासी गर्दारहेछन् भने महेन्द्रनगरबाट यात्रु चढेर आएको सिटको पनि अत्तरियाबाट टिकट बेच्दा रहेछन्। नयाँ गाडी थप्न नदिने र थोत्रा गाडीमा यात्रु कोचाकोच भएर यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था देखापर्‍यो। यातायात क्षेत्रमा मौलाएको सिन्डिकेटको राक्षसी रुप देखियो। यात्रुहरु सकुशल घर पुगिजाउँ भनेर कुलदेवताको भाकल गर्न बाहेक केही गर्न सक्दैनन् यस्तोमा। पहाडको बाटोको डरलाग्दो यात्रा सुरु भयो।

अत्तरियाबाट गुडेको केही समयपछि गाडीले तराई छाडेर पहाडका घुम्तीहरु चढ्न थाल्यो। केही घण्टापछि बुढितोडा आइपुग्यो। मैले २०६५ सालको पिकनिक सम्झिएँ। आइएस्सी पढ्दा रेडियन्ट कलेज महेन्द्रनगरबाट पिकनिक आएका थियौं। त्यो दिनको दृश्य आखाँमा नाच्न थाल्यो। साथीहरुलाई सम्झेर आँखा रसाए, जो आज कहाँ छन् थाहा छैन।

धैरै माथि पहाडमा आइसक्यौ हामी। गाडीमा हिन्दी गीत नै बजिरहेको थियो। ‘मुझे इक पल चैन नआये सजना तेरे विना...।’ चुरे पहाडका घुम्ती चढिरहेको गाडीको झ्यालबाट झिलीमिली बत्ती बलेको तराईतिर नजर लगाएँ। जति–जति उकालो चढ्दै थियौं उतिउति जाडो बढदै गइरहेको थियो। बाक्लो लुगा लगाएको एकै छिनमा निदाएछु। डडेलधुरा कटेको पत्तै पाइन।

बैतडीको खोडपे पाटन बजार रहेछ। माथिबाट हेर्दा आकाशमा उडिरहेको जस्तो लाग्यो। गाडी डाँडामा रहेछ। बस्तीमा बलिरहेका बत्ती आकाशका ताराजस्ता लाग्थे। पहाडी जिल्ला भएकोले बैतडीका सडक डरलाग्दा भिर भएर जान्छन्। तर, राती भएकाले निन्द्रा लागेर होला त्यति डर लागेन।

बिहान झिसमिसेमा हाम्रो गाडीले चमेलिया पुल तरेर गोकुलेश्वर बजार (दार्चुला) प्रवेश गर्‍यो। केही समयको चिया बिश्रामपछि गाडी दार्चुला सदरमुकाम खलंगातर्फ उकालो लाग्यो। गोकुलेश्वर बजारमाथिका घुम्ती चढ्दै गाडी पहाडको टुप्पोमा पुग्यो। तीव्र गतिमा सीधा सडकमा हुइँकियो। गाडी गोकुलेश्वर बजार माथिको बगौरा डाँडोमा पुगेर रोकियो। सूर्य उदाउन थालिसकेको थियो, यात्रुले चियानास्ता गरे। अझै निकै लामो पर्वत श्रृङ्खला पार गर्नुछ। दार्चुला सदरमुकाम पुग्न अझै चार पाँच घण्टा बाँकी छ। सडक झनझन डरलाग्दो आइरहेको थियो। अग्ला पहाडमाथि गुडिरहेको गाडीबाट हेर्दा पहाडहरुबीच समुन्द्रझैं मडारिरहेको बादल देखिन्थ्यो।

साघुँरो सडक। ठाउँठाउँमा खोलाखोल्सी। रुखविनाका नांगा पहाडहरु। यात्रा डरलाग्दो छ। गाडी तिनै डाँडामा गुडिरहदा भीरमात्र देखिन्छ। ड्राइभरले गीत बजाउन सुरु गरिसकेका थिए। पहाडमा लोक, देउडा, दोहोरी गीत बढी बजाइने गरिन्छ। ड्राइभरले बजाए ‘धर्ती छोडौं प्रिय...’ बोलको देउडा गीत। बगौरा बजारबाट मालिकार्जुन मन्दिर जाने दोबाटो अनि दोबाटोबाट शंकरपुर गाविस नपुगुन्जेल निकै अग्ला पहाडहरुको बाटो काट्यौं।

ड्राइभरलाई छिटो सदरमुकाम पुग्ने हतारो भएर होला गाडी तीव्र गतिमा गुडाइरहेका थिए। शंकरपुर गाउँमा मैदानी भूभाग छ। गाउँको बीचैबीच भएर गएको नागवेली सडकको दायाँ बायाँ धान पहेँलपुर भएर पाकेको थियो, मगमग बासना छर्दै। ड्राइभरसंग मान्छे बाँचेका गीत एउटा पनि रहेनछन्, फेरि बजाए दोहोरी गीत ‘पुस्कल शर्माको स्वरमा रहेको 'छिटै मर्छस् भनेछ हेराउँदा, नरोए है बाँधेर लेराउँदा, आयु छोटो छ...।’ यस्तो गीत नबजाउन आग्रह गर्दा मानेनन् ड्राइभर।

शंकरपुरबाट मेलखेत नपुग्दासम्म डरलाग्दा घुम्तीहरुसहितको सडकमात्र छ। गाडी घुम्दा घुम्तीमा अब खस्यो कि भन्ने लाग्छ। मेलखेत पुगेपछि सडक पहाडको टुप्पोबाट तल ओर्लिएको छ। सडक डरलाग्दो भएपनि अब सिधा थियो। दत्तु धाप हुँदै उवडखावड  सडकको डिलैडिल उर्लेको महाकाली हेर्दै एघार बजे दार्चुला सदरमुकामको वीरेन्द्रवनमा रहेको बसपार्कमा  पुगेर गाडी रोकियो। गन्तब्यमा पुगियो। लामो सास लिए। यात्रुहरु भन्दैथिए, 'बाँचियो!’ 

बियोगका गीत कोठामा बसेर सुन्दा निकै मिठो लाग्ने गर्छ तर यात्रामा सुन्नु पर्दा सार्है गाह्रो हुँदोरहेछ। पछिल्लो समयमा मुत्यु सम्बन्धी देउडा, दोहोरी गीत अत्याधिक बनेका छन्। हामीले कलाकारको कला र गलालाई सम्मान गर्नुपर्छ। तर, यात्राका बेला यस्ता गीत नबजाइदिएमात्र पनि केही डर कम हुन्छ। मानसिक प्रताडना कम हुन्छ। लामो यात्रामा मृत्युका गीत नबजाइदिए हुन्थ्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.