|

काठमाडौं : पहिले त म यो बताइदिऊँ कि म एकदमै सामन्य पाठक हुँ। कुनै किताबमाथि लेखिहाल्ने मेरो ल्याकत छैन। मलाई जे लाग्छ, त्यही लेख्छु। यो लेख पढ्ने क्रममा रमेश सायनका हितैषी र फ्यानहरूलाई यो पनि सायनको फ्यान रहेछ लाग्न सक्छ। छुटेका अनुहारमाथि सबैको आआफ्नै धारणा रहेछ, आआफ्नै अनुहार रहेछ। सायनसँग नजिकै रहेर उठबस गरेको हिसाबले म जे लेख्दै छु, त्यो निष्पक्ष नहुन सक्छ। ऊसँग आलोचना सुन्ने कान छन्। म सुध्रिनुपर्छ भन्ने उसमा चेतना छ। मतलव ऊ बिग्रेको कुरा उसलाई थाहा छ। म आज उसलाई बेस्मारी गाली गर्नेछु। 

गाली गर्नुपूर्व जे छ, त्यही हेरौँ- छुटेका अनुहारमा एउटा सामान्य पाठकको धारणा। अहिले म लेख्दै छु। छुटेका अनुहार मेरो ठेगाना पहिल्याउँदै दक्षिण कोरिया आइपुग्यो। कोरिया सायनले पनि तीन वर्ष मजदुरी गरेको देश हो। मेरो निम्ति मात्रै थिएन किताब, कोरियाभर सबै पाठक माझ पुर्‍याउनु पनि थियो। किताब आउँदा सायन आएझैँ भयो।

उसका यादहरू पुनर्ताजगी भए। म अहिले जुन कम्पनीमा काम गर्दै छु, सायन धेरै पटक आइसकेको ठाउँ। ऊ म स्वार्थी छु भन्छ। ऊ कुनै एंगलबाट पनि स्वार्थी छ जस्तो लाग्दैन। पत्याउने कुरा गरे पो पत्याउनु! सबैले नपत्याउने कुरा कसले पत्याउँछ? यो कुरा नपत्याउनुहोस् कि ऊ स्वार्थी हो। यो कुराचाहिँ पत्याउनुहोस्, ऊ महास्वार्थी हो। मलाई लाग्छ- बिना प्रसंग ऊ आफ्ना बाआमालाई पनि सम्झिँदैन। सम्झिँदा पनि ऊसँग भूमिका हुँदैन। सिधै मेरो यो काम गरिदिनुपर्‍यो भन्छ।

उसको यही बानीले सबैलाई मोहनी लगाउँछ। कम्तीमा ऊ यही दुनियाँमा छ। यही साथी सर्कलमा छ। उसको खोपडीको कुनै तहमा सबैको नाम लेखेर राखेको छ, जो कुनै दिन उसलाई स्वार्थी मात्रै होइन, महास्वार्थी हुन अभिप्रेरित गराउँछ। उसले सम्झेका दिन साँच्चै मनको सगर उज्यालो हुन्छ। उसले हामी केही साथीलाई कोरियामा किताब बेच्न एकै साथ सम्झियो। मनको सगर उज्यालो भयो। 

उसको किताबभित्र छिर्नुअघि आफ्नै दिमागको पाना पल्टाएँ, को को कता कता छुटे? एक पटक स्मृतिपटलमा भुमरी चल्यो, यादहरू तितरबितर भए। यादहरूको आलाप गुन्जियो, यादहरूको बिलाप पोखियो। यादहरूको पोखरीमा ढुंगा खस्यो, यादहरू छचल्किए। अरूलाई के लाग्छ त्यो होइन, वस्तुगत या विषयगत तथ्य र सिद्धान्त के हुन्, त्यसका विषयमा बहस गर्न म आफूलाई योग्य मान्दिनँ। तर एक सरल पाठकलाई उसको सरल नजरले के देख्यो? त्यो मात्रै लेख्छु। त्यो लेख्न मलाई कुनै वाद या सिद्धान्त जानिरहनु आवश्यक छैन।

किताब हातमा परेको तीन दिनपछि मैले किताब खोलेँ। वाह! किताब क्या गजब छ! पाना पल्टाउन के सुरु गरेको (एक झमट गाली दिइहालौँ) खोइ भूमिका? 'कबाट कछुवा, ख खरायो, खरायोको सिङ छैन, कता हरायो' भनेझैँ। सिङ नै रहेनछ, भेटियोस् कहाँबाट? फेरि अर्को पाना पल्टाएँ। (ऊ आफूलाई रूखो मनुवा हुँ भन्छ, किताबभित्र पनि भेटिन्छ) खोइ विषय सूची? सिङ त छैनछैन, पुच्छर पनि छैन। मेरो बानी छ- किताब पढ्नुपूर्व भूमिका पढ्ने। खयर, पछिल्लो समय भूमिका लेखन विवादित बन्दै गइरहेको कुरा पनि आइरहेका छन्। निष्पक्ष छैनन् भन्ने कुरा पनि छ। तर सबै भूमिका लेखकलाई एकै तराजुमा जोख्न भने हुँदैन।

सही मूल्यांकनका साथ लेखिएको भूमिकाले किताबको ओज बढाउँछ। भूमिका समग्र किताबको निचोड हो, सारांश हो। यदि पाठकको पनि किताब हो भने खोइ त भूमिका? अघिल्लो किताबमा पनि कुनै भूमिका थिएन, प्राय: सबै चुपै रहे। अब यसमा पनि छैन। यो त सुनियोजित नै भयो। यदि यो किताब पाठकको पनि हो भने पाठकको पनि चाह हुन्छ- किताबप्रति विश्लेषकहरूको के कस्तो दृष्टिकोण छ भनेर थाहा पाउने। साहित्यको पनि आफ्नै मूल्य मान्यता विधा र आधारहरू होलान् र हुन्छन्। यसलाई जो कसै लेखक, सम्पादक, प्रकाशक या पाठकले तोडी हाल्न मिल्दैन।

हामी दैनिक जीवनमा सिस्टमको रट लगाइरहेका हुन्छौँ। समाज र साहित्यका अगुवा या सचेतकहरूले नै सिस्टमलाई नपछ्याउने हो भने बोली र रटले मात्रै समाज सुध्रिँदैन। यदि लेखकले अरूभन्दा आफूलाई फरक धारमा उभ्याउन खोजेका हुन् भने यो उति चलाखीपूर्ण भएन। भूमिका र विषय सूची नहुनुको पछाडि लेखकलाई मात्रै दोष देखाउनु पक्कै न्यायिक नहोला। यसमा सम्पादक र प्रकाशकको पनि उतिकै हात छ। यो कुरा उनीहरूले सुझाउनुपर्थ्यो र सुल्झाउनुपर्थ्यो।

लु मानौँ, लेखक, सम्पादक र प्रकाशकलाई अरूसँग झुक्न नसक्ने बानीले या ज्यू ज्यू गर्दै नहिँड्ने 'नेचर'ले भूमिका लेखन हुन सकेन होला। यसरी पन्छिन मिल्दैन। समाजका बुद्धिजीवी र अग्रजहरूले नै गलत संस्कारको डोर बसाले भने समाज कुन दिशातिर अग्रसर हुन्छ? यो कुराको हेक्का राख्नुपर्छ। उनीहरूसँग अरूसँग भन्दा बढी जिम्मेवारी छ, यो कुरा बुझ्नु जरुरी छ। तर विषयसूचीचाहिँ के कति कारणले राखिएन? मात्रै एक पेज विषय सूची राख्न तीनै पक्षलाई केको महाभारत भयो? सबै पाठकसँग फुर्सदै फुर्सद हुन्छ भन्ने छैन। कुन शीर्षक कति पेजमा छ भन्ने कुरा उल्लेख हुनुपर्थ्यो। यो विषय सूची नराख्नलाई महाकाव्य, खण्डकाव्य, नाटक या उपन्यास होइन। सुरुमै भनिएको छ- यो निबन्धसंग्रह हो भनेर। यदि संग्रह हो भने केके संग्रह गरिएको छ? त्यो उल्लेख हुनुपर्दैन? समीक्षकहरूलाई त झन् जटिल र झन्झटिलो बनाएको छ। कुनै लाइनले 'टच' गरेको हुन्छ, शीर्षक याद छ, पेज अन्योल। यो पाठकमाथिको अन्याय हो। 

पाठक एक क्रेता र उपभोक्ता पनि हो। उसले आफ्नो खल्तीको मूल्य लगाएर किताब किनेको हुन्छ। लेखक, सम्पादक र प्रकाशकहरू ब्राण्ड र डिलर। यो एउटा सरल प्रश्न हो र गम्भीर त्रुटि। यदि उनीहरूले भूमिका र विषय सूची राख्न सक्दैनन् भने पाठक र समीक्षकहरूबाट प्रतिक्रिया खोज्नु पनि बेकार हो।  यहाँ जति शीर्षकहरू छन्, साह्रै सुन्दर छन्। म यति छन् भनेर भन्दिनँ। ब्राण्डहरू रूखो हुन मिल्छ भने उपभोक्तालाई पनि त्यो छुट छ। एक, एक क्रमश: पढ्दै गएँ।

वास्तवमै सायनलाई पढ्न साह्रै मजा आउँछ। अझ सित्तैमा पढ्दा त मजा आउँथ्यो भने उसलाई किनेर पढ्नु झनै मजाको कुरा। पढ्दै जाँदा अल्छी लागेर बिसाइहालौँ, एउटा लामो थकाइ मारौँ भयो, बन्द गरेर दुई चार दिन नै नपढौँ, यस्तो कहीँ कतै हुँदैन। किताबसँग मिसिएपछि 'क्युरियोसिटी'को कतै अपमान हुँदैन। एकदमै लयात्मक, एकदमै बिम्बात्मक! जताततै आफू नै आफू भेटिन्छ किताबमा। सायद लेखकको असल धर्म यहि नै हो, जहाँ हरेक शब्दहरूमा, शीर्षकहरूमा पाठकले आफूलाई भेटोस्, आफू नै महसुस गरोस्। आफू नै हिँडोस्। आफू नै डुलोस्। स्वयंलाई रुवाओस्। स्वयंलाई हाँस्ने बहाना मिलोस्। स्वयंलाई स्पर्श गरोस्। स्वयंलाई अलग्याअोस्।

यी सबैसबै लहरहरू छुटेका अनुहारभित्र मनग्य पाइन्छ। पढ्दै जाँदा आफैँसँग छुटेको आफ्नै समय आफैँ सामु आएर उभिन्छ। यो नै लेखकको सबैभन्दा कुशलता हो। करिब पाँच घण्टाको अवधिमा किताबको यात्रा सकिन्छ। सामाजिक संजालमा छुटेका अनुहार प्राय: एकै बसाइमा सकेको प्रतिक्रिया पाठकहरूबाट प्रशस्तै आएको छ। यसले दुई कुरा सहजै दर्शाउँछ- एक किताब पढ्नयोग्य छ। दुई सायनको किताब पर्खी बस्नेहरूको भोक। भोक सबैभन्दा महत्त्वपूर्ण कुरा, भोक मेटिनु चरम आनन्दको कुरा। छुटेका अनुहारका सम्बन्धमा अहिले लेखिरहँदा मलाई एक प्रकारको डर लागिरहेको छ। उनका सुन्दर शब्दहरूमाथि मेरो सस्तो टिप्पणीले कतै दाग पो लाग्ने हो कि? यो डर मभित्र मडारिइरहेको छ र पनि म लेख्ने जमर्को गरिरहेको छु। डर एक सम्मान पनि हो उनलाई।

कला सबैसँग हुन्छ तर शब्द सिँगार्न सक्ने कला सबैसँग हुँदैन। किताब एकदमै सरल विषयवस्तुमाथि सरल भाषा शैली र आकर्षक प्रस्तुतिले साह्रै सुन्दर र सहजै बुझ्न सकिने बनाइएको छ। यो म जस्ता सामन्य पाठकका लागि एकदमै स्वस्थ कुरा हो। डाक्टरी कुरा होइन। समाजको एक तप्का र तहमाथि लेखकले सुन्दर र व्यंग्यात्मक शैलीको माध्यमबाट निरन्तर प्रहार गरेको प्रशस्तै अनुभूत गर्न सकिन्छ। हुनत उनले अघिल्लो कृतिमा पनि त्यो झल्को दिएका थिए। किशोर वयमा रुसी र चिनियाँ लेखकहरूका संघर्षशील तथा क्रान्तिकारी पुस्तकहरूको प्रभाव पनि परेको हुन सक्छ। उनले ‘फेल’ शीर्षकमा आफूलाई यस्तै चित्रण गराएका छन्। त्यो तह र तप्का भनेको मालिक र शासक वर्ग हो।

किताबको सुरुवातमै तलतलको मात्रा ज्वरो बढ्दै गएको थर्मोमिटरझैँ निरन्तर बढ्दै जान्छ। नेपीली युग 'भर्चुअल' युगमा पाइला राख्दै गर्दाको सुरुवाती कालखण्ड हुबहु चित्रित छ- ‘सिमकार्ड’ शीर्षकमा। उसो त 'रानी ‘खान’की छोरी हो'मा लेखकले आफूलाई निचोरेर पगालेर लेखेका छन्। एउटा कविताको अंश बारबार दोहोरिन्छ शीर्षकभरि, जसले यो निबन्ध होइन, कविता पढिरहेको भान दिन्छ। उक्त कवितांशले पूरै पाठ कवितामय लाग्छ। यो निबन्ध निकै मार्मिक छ तर अझै गहिराइमा पुग्न सक्नुपर्थ्यो लेखक।

आफू जसरी पग्लिएर लेखे, पाठकलाई पनि उसैगरी पगाल्न सक्थे। तर पग्लिन खोज्दाखोज्दै निबन्ध सकिन्छ। यस्तै पाठकलाई पगाल्न सक्ने शीर्षक ‘रामलाल केही हैन’ र ‘अर्गानिक मान्छे' पनि हो। यसमा पनि लेखक धेरै गहिराइमा छलाङ नमारी अरू शीर्षकमा मोडिएका छन्। रामलाल दु:खको एक बिम्ब हो, जो हाम्रो टोल छिमेकको दर्पण। रामलालमा रामलाललाई लेखेकले साँच्चै सुन्दर आकर्षक तरिकाले टिपेका छन्। 'उसले सिधै गफ गर्न सक्ने त टोलका भुस्याहा कुकरसँग मात्रै रहेछ।’ यो सिंगो समाजप्रतिको धारिलो व्यंग्य पनि हो। कुलिन वर्ग र न्यून वर्गको फराकिलो अन्तर यहाँ प्रस्टै झल्किन्छ। ‘अर्गानिक मान्छे’मा दीपक जस्ता पात्र गाउँघरमा छ्याप्छ्याप्ती मौलाएका छन्।

यो चेतनाको उच्चस्तरबाट लेखिएको निबन्ध हो। बाँकी सबैमा आख्यानको स्वाद व्यापक मात्रामा छ। यो हिसाबले हेर्दा साँच्चीकै निबन्धका पाठकहरूलाई यो कृतिले अन्याय गरेकै छ, यो नितान्त मेरो धारणा हो।

सडक र बिजुली पुगेका सुदूर गाउँहरूमा अहिले 'मल्टिनेसनल' कम्पनीहरूको आतंक थामी नसक्नु हिसाबले छापामार शैलीमा बढेको छ। शहर त यस्ता कम्पनीहरूको चंगुलमा फसेको जुग भयो, अब गाउँ पनि गाउँ रहेन। आजभोलि घरमा पाकेको खाना, बारीमा फलेको तुलफुल कसैलाई मन नपर्ने भइसक्यो। यो सबै असर मल्टिनेसनल कम्पनीहरूकै आतंक हो। यसमा लेखकले भनेका छन्- ‘दलाल शब्दको ठाउँमा अरू थुप्रै नेपाली शब्दहरू छन् तर उसको लागि दलाल शब्द नै ठीक छ। उनी हरेक चिजमा दलाली हान्दिन्थे, जस्तो : जमिन बेच्ने धनीमाथि, खाडी जाने मजदुरमाथि, बजारमा साग बेच्ने किसानमाथि, गाडी किन्ने ग्राहकमाथि।’ यो अहिले समाजमा फस्टाइरहेको असली चित्र हो। सायन वास्तवमै शब्दका जादूगर हुन्। बेठीक ठाउँ र बिना प्रसंगमा उनी कुनै शब्द खर्चने गर्दैनन्। यो एक असल लेखकको सबैभन्दा उत्तम गुण हो।

जब पढ्दै डटपेनमा पुगिन्छ, 'डटपेन' शीर्षकमा पनि निबन्ध लेख्न सकिन्छ भनेर सोचेकै रहेनछ। ऊ नसोचेका कुरा सजिलै लेखिदिन्छ। सिंगो शिक्षक जमातलाई उसले तीखो व्यंग्य वाण साँधेको छ। जस्तै : ‘हाम्रा शिक्षक भन्नु तेल निथ्रिएका सुक्खा पिना जस्ता प्रेम निथ्रिएका रूखा जिनिस थिए। जसले मास्टरको हात भेट्यो, उसले कट्टु मुत्यो।’ यो वाक्यांशले एक दुई शिक्षकको मुहार ताजा गराइदियो। अहिले पनि यो प्रवृत्ति निर्मूल भइसकेको छैन। यही शीर्षकको अर्को कवितांशले दुर्गम गाउँको मुहार सर्लक्कै उतारेको छ- ‘त्यो दुर्गम गाउँ, जहाँ नुन हिँडेर दाल तरकारीसम्म आउँथ्यो, जहाँ वर्षमा एकाध पटक नयाँ कमिज हिँडेर ज्यानसम्म आउँथ्यो। चाडपर्व लाहुरेको काँधमा चढेर गाउँसम्म आउँथ्यो।’ यो शीर्षकमा एक फन्टुस पात्रलाई राम्रोसँग चित्रण गरिएको छ। चकचक शीर्षकमा बालापनका साना मसिना हर्कतहरू दुरुस्तै उतार्नु लेखकको खुबी हो। सरल कुरा उठाएर उस्तै लयमा मिलाएर राख्नु एकदमै मुस्किल काम हो। मुस्किल मान्छेहरूले मात्रै यस्तो चुनौती सहजै पार गर्छन्। अन्तिममा एक शिक्षकको चकचक साँच्चै नमीठो छ।

मन चसक्क हुन्छ, थाहा नहुने ठाउँमा बिझाउछ, नदुख्ने ठाउँमा दुख्छ। उनले आफ्नो प्रेम लेखे। साथी लेखे। देश लेखे। परदेश लेखे। उनले आफूलाई लेख्न मिल्नेसम्म लेखे। एउटा कवि, जो मूलधारमा उभिएर बहस गर्ने हिम्मत राख्छ। ऊ पनि आप्रबासी मजदुरको नाममा देश बाहिरिनु साँच्चै देशको युवा उत्पादन निकै जर्जर अवस्थामा पुगेको देखिन्छ। किताबभरि सायन साह्रै मजाले पोखिएका छन्, साह्रै नमजाले पोखिएका छन्। उनी शब्दका कुशल कालीगढ हुन्।

करिव छ वर्षदेखि मसँगै काम गर्ने पूर्व विराटनगरका एक भाइ छन्। उनले कोर्सका किताब पढ्न छाडेदेखि कुनै किताब नपढेको कुरो बताइरहँदा उनले छुटेका अनुहार किनेर पढ्न थाले। उनी बताउँछन्- 'सायन दाइको किताब साँच्चै रहरलाग्दो र’छ, पढ्न थालेपछि नसकी उठ्नै मन नलाग्ने। कहिल्यै किताब नपढ्ने मान्छेले पनि किताब पढ्दा आफूलाई भेट्यो, आफ्नो बिम्बलाई भेट्यो, आफ्नो परिवेशलाई भेट्यो। जब किताबमा आफूलाई भेट्दा, आफ्नो परिवेशलाई भेट्दा, उसको चेहरामा जुन प्रकारको हार्मोनको महकता देखिन्छ, त्यो मैले देखेँ। सायन त्यो स्तरमा लेख्छन्, त्यो स्तरका प्रशंसाका पात्र हुन्।  किताब निकै लयात्मक छ। यो एउटा लामो कविता जस्तो पनि हो। किताब एकै बसाइमा सकिन्छ। किताब पढ्दै जाँदा अरू लामो हुनुपर्ने महसुस हुन्छ। पाठकहरूलाई सहजै किताबतर्फ खिच्न सक्नु यो किताब र लेखकको विल्कुलै सकारात्मक पक्ष हो। सकारात्मक पक्ष नव्वे प्रतिशत भए पनि बाँकी पक्षमा केही त्रुटि छ। उनले 'लभ लक' र 'अनलक' एकै किताबमा राख्नु, कमजोरी हो। यहाँ प्रश्न र उत्तर खेलेजस्तो छनक भेटिन्छ।

किताब एकदमै तथ्यगत विषयवस्तुमा मात्रै टिकेर अगाडि गएको अनुभूत प्रशस्तै गर्न पाइन्छ। अझै त्यसमा मसला स्वरूप काल्पनाशीलता ,करुण रस र दार्शनिक चेतको भरपूर प्रयोग गर्न सकेको भए सुनमा सुगन्ध हुने कुरा नकार्न सकिन्न। किताबभरि उनले आफूलाई लेखेका छन्। आफ्नै घटना परिघटनाहरूलाई लेखेका छन्। आफूलाई प्रथम पात्रमा उभ्याएर राखेका छन्। यसो गरिरहँदा उनको दोहोरो चरित्र सहजै देख्न सकिन्छ। उनले धेरै ठाउँमा आफूलाई हार नमान्ने पात्रको रूपमा चित्रित गरेका छन्। आफैँसँग हार्ने कुरा, आफैँसँग डराउने कुरा उनलाई कदापि स्वीकार छैन। म पात्रको मनोविज्ञान केलाउँदा सबै ठाउँमा त्यस्तो भेटिँदैन। जस्तो : लभलक जागिर तीन उपशीर्षकमा ऊ मनग्य डराएको छ। आफैँसँग भागेको छ। अर्गानिक मान्छेमा त म पात्र मल्टिनेसनल कम्पनीको सूत्र नै भूलेर निकै विचलित बाटो हुँदै गुज्रिएको छ।

यसरी उनको दोहोरो चरित्रले पाठकलाई केही अलमल पार्न सक्छ तर जीवनप्रतिको सही तत्त्वबोधले नै 'लभलक'मा ऊ भागेको कुराचाहिँ सही हो। यहाँ ऊ वर्तमानमा मात्रै रमाउने होइन, भविष्यप्रति पनि उति नै चिन्तित छ भन्ने कुरा आाकलन गर्न गाह्रो छैन। एक दुई उसका वाक्यहरू साँच्चै नमिलेको जस्तो, साँच्चै नसुहाएको जस्तो लाग्छ। जस्तै : ऊ हरेक ठाउँमा आफ्नो बाको घर भन्छ, बाको घरमा बस्छु भन्छ। यो कति नमिल्दो वाक्य, कति नसुहाउँदो वाक्य! एक असल मान्छेलाई, एक असल लेखकलाई यसो भन्नु शोभनीय हुन्छ? कि गाउँको घर भन्नु अलिक सुहाउँछ। सकेसम्म घर भन्नु, यो पो मिल्ने वाक्य हो। जब बाआमा आफ्ना हुन् भने घर कसरी अर्काको भयो? कि उसको बाआमाप्रतिको मोहभंग भएको हुनुपर्‍यो। यस्तो पनि किताबभरि या किताबबाहिर उसको जीवनमा पनि देखिँदैन। यो सरासर गलत वाक्य मन्त्रझैँ जपिरहन्छ- किताबमा पनि, किताबबाहिर पनि। ऊ आफैँले 'क्रिएट' गरेको एउटा समाज छ, जहाँ समाजको पनि ऊप्रति केही दृष्टान्त होलान्, त्यस्लाई पनि उसले मध्यनजर गर्नु जरुरी छ।

अर्को प्रसंग नभनी मैले यतिकैमा अन्त्य गरेँ भने मेरो मन अमिलो भइरहनेछ। किताबको सरसर्ती यात्रा गर्दा यो निबन्ध नभएर संस्मरणात्मक कृति भन्नुपर्थ्यो कि? कि त कथासंग्रह भन्नुपर्थ्यो। विषयवस्तुको हिसाबले मात्रै यो निबन्धसंग्रह हो भन्न सकिएला। नभए त लेखक स्वयंले पनि हरेक शीर्षकमा यो कथा हो भनेर बगिरहेका छन्। सरसर्ती पढ्दा गैरआख्यान होइन, आख्यानकै तिर्खा मेटाउँछ, आख्यानकै भोक मेटाउँछ शिवाय- 'बाको घडी क्रान्ति।' किताबभरिमा निबन्ध छ भने त्यो बाको घडी क्रान्ति हो, जो साँच्चीकै निबन्ध हो, जसमा सायनको दार्शनिक चेत भरपूर मात्रामा देख्न सकिन्छ। जस्तै : ‘तँ यो सेकेण्ड सुई जस्तै चलाख हुनुपर्छ, टाठो बन्नुपर्छ, घण्टा सुई जस्तो जिन्दगीको काम छैन।' जस्तै : ‘घडीले अर्धक्रान्ति गर्‍यो, मलाई मात्र सेकेण्ड सुई जस्तै चलाख हुनुपर्छ भन्यो। एक घण्टाको अघिपछि जन्मेका दिदी भाइलाई बाको घडी क्रान्तिले छुट्यायो।’

यो चेतनाको उच्चस्तरबाट लेखिएको निबन्ध हो। बाँकी सबैमा आख्यानको स्वाद व्यापक मात्रामा छ। यो हिसाबले हेर्दा साँच्चीकै निबन्धका पाठकहरूलाई यो कृतिले अन्याय गरेकै छ, यो नितान्त मेरो धारणा हो। यहाँ मैले केही शीर्षकहरू मात्रै लेखेँ। अरू राम्रा शीर्षकहरू पनि छन्। पुरै किताबमा प्रयोग भएका शबदहरू लोभलाग्दा छन्।

२५० थुँगामा फुलेको यो किताब साँच्चै राम्रो फूलबारी हो भन्न मैले कुनै पनि हालतमा कन्जुस्याइँ गर्नुहुँदैन। हिँड्ने मान्छे नै लड्छ, नहिँड्ने मान्छै होइन। रमेश सायनलाई अझै लामो यात्राको शुभकामना। पुस्तक पढ्नै पर्छ भन्ने छैन, नपढ्दा पनि हुन्छ। नपढ्दा के बिग्रिन्छ भन्दा एउटा सुन्दर किताबका सजीव अक्षरहरू पढिएन भन्ने कुरामा थकथकी हुन्छ। किताब पढिरहँदा हाम्रो समयको साँच्चिकै सम्मान भएको महसुस हुन्छ। त्यसका लागि पनि सायनलाई बधाई।

जाँदाजाँदै सम्पादन पक्षलाई पनि बधाई, उसको मौलिक स्वाद ठाउँठाउँमा राम्रै भेटिन्छ। सायन शब्दका कालीगढ त हो तर अशुद्ध लेखनको महारथि पनि हो। उसको अशुद्धपनलाई निफनेर शुद्ध बनाउन जोतारे धाइबाले ठूलै मिहिनेत खर्च गरेको आभास हुन्छ। लिपि बुक्सलाई पनि बधाई, जसले एउटा राम्रो लेखकलाई साथ दियो। धन्यवाद ‘किताब यात्रा’लाई, जसले दक्षिण केरियासम्म किताबको यात्रा सहज गराइदियो। अन्तमा धन्यवाद कोरियाभित्र साथीहरूले जसरी छुटेका अनुहार पढ्ने उत्साह व्यापक देखाइदिनुभयो।

जाँदाजाँदै छुटेका अनुहारलाई सफलताको शुभकामना। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.