|

काठमाडौं : तिहार अर्थात् दीपावली उल्लासको चाड हो। रंगीचंगी प्रकाशको पर्व हो तिहार। दीपावलीलाई विशेषत: दाजुभाइ, दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वको रूपमा मानिन्छ। तिहारलाई विशेष प्राथमिकता दिएर धेरै गीतहरू गाइएका छन्। तिनै गीतहरूमध्ये केही गीतहरू यस प्रकार छन्।

'भैलिनी आए आँगन'

नेपालीहरूको महान चाड दीपावलीसँगै सबैभन्दा धेरै बज्ने गीतमध्येको एक हो, 'भैलिनी आए आँगन।' शम्भु प्रधानको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र 'स्वर्ग'मा समावेश रहेको छ यो गीत। यस फिल्मका निर्माता हुन् अर्जुन श्रेष्ठ। नीर शाह, गौरी मल्ल, पवन मैनाली आदि अभिनित उक्त नेपाली चलचित्रमा समावेश यो गीत सदावहार चर्चित गीतमध्येको एक हो।

'निधारैमा लर्काएर सप्तरंगी टीका'

चलचित्र 'विजय पराजय'मा रहेको यस गीतले तिहारको महत्त्व कति रहेको छ, प्रष्ट पारेको छ। राजेन्द्र सलभको निर्देशनमा बनेको यो गीत दिनेश अधिकारीले लेखेका हुन्। स्वर हेमलताको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाको रहेको छ।

'दशैँ तिहार'

गायक सुगम पोख्रेलको संगीत र स्वरमा रहेको यो गीत रवि श्रेष्ठले लेखेका हुन्। 'शिल्यान्यास' एल्बममा रहेको यस गीतमा गायक स्वयंको अभिनय देख्न पाइन्छ। यो गीतमा दशैँ र तिहारलाई हर्षोल्लासको रूपमा चित्रित गरिएको र विशेष गरेर परदेशिएका युवाहरूको मनमा उठेका भावनाहरूको एकमुष्ठ अभिव्यक्तिलाई गीतको माध्यमबाट देखाउन खोजिएको छ।

'तिहार आएर होला'

नेपाली लोकदोहोरीमा स्थािपतमध्येका एक हुन् ऋषि अधिकारी। उनले गाएको 'तिहार आएर होला' भन्ने गीत सदावहार चर्चित गीतमध्येको एक हो। ऋषि अधिकारी र अन्यको आवाज रहेको उक्त गीतले गाउँमा खेलिने देउसी-भैलोको ज्वलन्त दृश्य देखाएको छ। 'देउसिरे' एल्बममा रहेको उक्त गीत स्वयं अधिकारीले लेखेका हुन्। यो गीत धौलागिरी क्यासेट सेन्टरबाट बजारमा आएको थियो।

'दियो बाली साँझको फूल सजाए पूजाको'

नेपाली चलचित्र 'चिनो'मा समावेश छ यो गीत। धनकी देवी लक्ष्मीले सधैँ कल्याण गरून् भन्ने मुख्य आशय यस गीतमा देखाउन खोजिएको छ। यस गीतमा स्वर भने आशा भोसलेको रहेको छ। संगीत रन्जित गजमेरले भरेका हुन्। चलचित्र 'चिनो'मा भुवन केसी, शिव श्रेष्ठ, कृष्टी मैनाली, शर्मिला मल्ल, सुभद्रा अधिकारी, सुनिल थापालगायतको अभिनय रहेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.