|

जनकपुरधाम : अयोध्या बस सेवा सञ्चालनका निमित्त साइकल यात्रामा निस्केका रञ्जितकुमार साह बससेवा सञ्चालनको आश्वासनसहित नेपाल फर्किएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणको क्रममा शुभारम्भ गरिएको जनकपुर-अयोध्या बससेवा बन्द भएपछि सञ्चालनका निमित्त साइकल यात्रामा निस्किएका साहले युपीका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटी छिट्टै बससेवा सञ्चालनको आवश्वाससहित नेपाल फर्किएका हुन्।

नेपाल-भारतको रामायण सर्किट निर्माणको क्रममा जनकपुरधाम-अयोध्या बससेवा औपचारिक रुपमा सञ्चालन भएर बन्द भएपछि त्यसलाई नियमित गर्न खाली खुट्टा साइकल यात्रामा निस्केका थिए। साथै नेपाल-भारतबीचको 'बेटी रोटी' को सम्बन्धलाई अझ प्रगाढ बनाउन जनकपुरधाम-अयोध्या बससेवाले कोशेढुंगा सावित हुने विश्वासका साथ आफूले साइकल यात्रा गरेको साहले बताए।

भारतकाे युपीका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा योगीले बससेवा सञ्चालनका निमित्त आवश्यक भौतिक पूर्वाधार तथा बाटोघाटोको समस्या रहेका कारण बससेवा बन्द भएको र भौतिक पूर्वाधारको निर्माणसँगै बससेवा सुचारु हुने आश्वासन दिएको साइकल यात्री साहले बताए। जनकपुरधाम उप-महानगरपालिका ४ निवासी ३१ वर्षीय साह गतकार्तिक २ गते जनकपुरबाट अयोध्याको लागि साइकलमा यात्रामा निस्केका थिए। उनी चार दिनमा ४२५ किलो मिटरको यात्रा तय गरी अयोध्या पुगेका थिए।

अयोध्यामा सांसद लल्लु सिंह, एमएलए वेदप्रकाश गुप्ता, प्रमुख ऋषिकेश उपाध्याय लगायतसँग समेत भेटेका थिए। भेटको क्रममा यात्री साहलाई साहसिक र उद्देश्य मुलक यात्राको प्रशंसा गरेको थियो। साइकल यात्री साहले युपीका मुख्यमन्त्री आदित्यनाथलाई भेटन लखनउ र पछि गोरखपुर साइकलले नै पुगेका थिए। साहले आवत-जावत गरी १९ दिनको यात्रामा १ हजार १२० किलोमिटर दूरी पार गरेका छन्। 

यात्राको क्रममा पाएको सहयोग दान 

राजपाका केन्द्रीय अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, जनकपुरधामका नगरप्रमुख लालकिशोर साह र अयोध्याका नगरप्रमुख ऋषिकेश उपाध्याय लगायतले यात्राको क्रममा दिएको पाँच हजार १०० रुपैयाँ अनाथालय र वृद्धाश्रममा दिएका छन्।

यात्राको प्रण पूर्ण रुपमा आफ्नो भएको र आफूले पहिले नै पैसाको जोहो गरेकोले यात्राको क्रममा पाएको रकम सहयोग दान गरेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.