|

बागलुङ : भ्रमणको उत्तम समय भएकाले यतिबेला मुस्ताङका होटलहरू भरिभराउ छन्। मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण मुस्ताङका व्यवसायीलाई भ्याई-नभ्याई भएको छ। मुस्ताङ घुम्नको लागि उपयुक्त मानिने असोजदेखि मंसिर सम्ममा यहाँका प्राकृतिक तथा धार्मिक सम्पदा घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ।

केहीवर्ष पहिलासम्म पदयात्राममा आउने र धार्मिक यात्रामा आउने पर्यटक मात्रै देखिने मुस्ताङमा दुईवर्ष यता भने मुस्ताङको प्राकृतिक सौन्दर्यता हेर्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ। दशैं, तिहार, छठ लगायतका पर्वको समयमा विद्यालयहरू बन्द रहेकाले विद्यार्थीदेखि पारिवारिक घुमघामा निस्किनेहरू पनि मुस्ताङ पुगेका छन्। 

जोमसोम बजारका व्यवसायीका अनुसार पछिल्लो समय बाह्य भन्दा कयौं गुणा आन्तरिक पर्यटकको संख्या बढेको छ। दुई वर्ष पहिलासम्म मुस्ताङ जिल्लाभित्र सवारीमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र शेरचनले बताए।

‘पहिले ट्रेकिङमा आउने र मुक्तिनाथ दर्शन गर्न आउने मात्रै पर्यटकको रुपमा मुस्ताङ भित्रिने गरेका थिए’ शेरचनल भने, ‘यातायात क्षेत्रमा रहेको एकाधिकार तोडिएपछि आन्तरिक पर्यटकको संख्या कयौं गुणाले बढेको छ।’ दुईवर्ष पहिलासम्म यातायात क्षेत्रको एकाधिकारका कारण मुस्ताङ आउने पर्यटकलाई असहज भएको व्यवसायीले महसुस गर्न थालेका छन्। आफ्नै सावारी साधन लिएर निर्वाध मुस्ताङको प्राकृतिक छटामा रमाउन पाउने भएपछि आन्तरिक पर्यटकको ओइरो लागेको शेरचनको भनाई छ।

‘सवारीमा एकाधिकारले मुस्ताङको ढोका बन्द गरेको रहेछ। एकाधिकार तोडिएपछि अहिले त थामी नसक्नु पर्यटक मुस्ताङ भित्रिएका छन्’ शेरचनले भने। दुई वर्ष पहिलासम्म देशका बिभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने पर्यटकहरूले मुस्ताङको घाँसादेखि अनिवार्य मुस्ताङका यातायात व्यवसायीका सवारी साधनको प्रयोग गर्नुपर्ने व्यवस्था थियो। एकाध मुस्ताङ बाहिरका सावारी साधनले प्रवेश पाउने गरेको भए पनि अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण मुस्ताङ बाहिरका सवारी निकै कम मात्रामा भित्रिने गरेका थिए। 

मुस्ताङ घुम्नको लागि वर्षमा दुई सिजन उपयुक्त मानिने गरेका छन्। चैत्र महिनादेखि जेठ महिना सम्मको समय र असोजदेखि मंसिर सम्मको समय मुस्ताङ घुम्नका लागि उपयुक्त समय हुन्। यतिबेला मुस्ताङमा दैनिक ४ हजारदेखि ८ हजारसम्म पर्यटक भित्रिएका छन्। मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक तथा भारतीय पर्यटक र पदयात्रामा आउने पर्यटकका कारण मुस्ताङका सबै होटल भरिभराउ छन्।

म्याग्दीको सिमानासँग जोडिएको घाँसादेखि चीनको सिमानासँग जोडिएको लोमान्थाङसम्म रहेका मुख्य बजारहरूमा मुस्ताङका व्यवसायीहरूले होटल तथा लजको व्यवसाय गर्दै आएका छन्। जिल्लाभरिका मुख्य बजारहरूमा २५५ बटा होटल रहेको मुस्ताङ उद्योग बाणिज्य संघको तथ्यांकमा छ। ‘१०० जनाभन्दा धेरै पर्यटक राख्ने आठ दशवटा होटल मात्रै हामीसँग छन्। बाँकी सबै ४० देखि ५० जना क्षमताका छन्’ शेरचनले भने, ‘पर्यटको संख्या बढेअनुसारको बासस्थानको व्यवस्था मिलाउन कठिन हुने गरेको छ।’ 

मुस्ताङ पुग्ने आन्तरिक पर्यटका कारण यहाँको अन्य व्यवसायमा समेत फाइदा पुगेको स्थानीय बताउँछन्। स्थानीय उत्पादन स्याउ, फापरको पिठो, आलु लगायतका उत्पादनको  बिक्री वितरण बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.