|

‘जिरो फिगर छौ तिमी सिलिममा
हिरोइन खेल नेपाली फिलिममा 

खैरो कपाल’

कैलो कपाल पाल्न सौखिन सज्जन धामीले यही गीत गाएर संगीत क्षेत्रमा प्रवेश गरेका हुन्। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम पंचदेवल विनायक नगरपालिका– २ मा २०५२ असार २५ गते जन्मिएका धामी अहिले गीत संगीत क्षेत्रमा संघर्षरत छन्। 

गीत संगीतमा सानै उमेरदेखि रुचि भएका धामीले कक्षा १ देखि  १० सम्मको पढाइ  गाउँकै पंचदेवल माविबाट पूरा गरेका हुन्। माध्यमिक विद्यालय पूरा गरेर दाजुको इन्जिनियर बनाउने सपनासहित पूरा गर्ने इच्छा लिएर सुर्खेतमा उच्चमावि विज्ञान र गणित विषय पढे। धामी इन्जिनियर बन्ने सपनासहित काठमाडौं पसेपछि दाजुको भाइलाइ इन्जिनियर बनाउने सपनालाई पूरा गर्नेभन्दा पनि गीत संगीतमा लागे। 

‘दाजुको इन्जिनियर बनाउने सपना थियो। दाजुको सपना पूरा गर्नलाई नै विज्ञान र गणित विषय लिएर पढेँ’, उनले भने, ‘इन्जिनियर बन्नेभन्दा काठमाडौं पसेपछि गीत संगीतको मोहले तान्यो।’ 

मध्यम वर्गीय परिवारमा जन्मिएका धामीले गीत संगीतमा लागेको दुई वर्षमा ४० बढी गीत गाएका छन्। ‘खैरो कपाल’, ‘तरकारी बाली’, ‘झिमझिम परेली’, ‘दिलको फ्रेममा’, ‘कोकाकोला फिगर’, ‘चुरोट सल्काउने’, ‘ओई मेरी बाटुली’, ‘झाँक्री बा’, ‘डिजे  बजाको’ लगायतका शब्द, लय र संगीत आफै भरेर बजारमा ल्याएका छन्।

सानै उमेरमा बुबा गुमाएका धामीलाई आमा र दाजुहरूको कान्छोलाई इन्जिनियर बनाउने सपना थियो। धामीलाई भने गायक बन्ने सपना। मेल खाएन। उनी विदेश गएर पैसा कमाउने त्यहीबाट गित गाउने सोचेर काठमाडौं पसेका थिए। ‘मेरो गायक सपना थियो। घरमा सल्लाह मिलेन। मनमा अनेक सपना बोकेर विदेश जान्छु, पैसा कमाउँछु’, उनी भन्छन्, ‘अनि गीत निकाल्छु भनेर घरबाट भागेर विदेश जानका लागि म काठमाडौं हिँडेको थिएँ।’ 

विदेश जान भनेर काठमाडौं पुगेका धामीलाई म्यानपावर कम्पनी धाउँदा धाउँदै महिना दिन बित्यो तर भिसा लागेन। उनी थकित बने। के गरौँ, के गरौँ भइरहेका बेला जसरी पनि गीत निकाल्ने सोचमा पुगे उनी। आफन्तको सल्लाहमा एउटा गीत निकाले– तिजको गीत। त्यो गीत नै धामीको पहिलो गीत, ‘हिरो जस्तै बनेर’ बोलको थियो। ‘त्यो गीतमा गायक भागीरथ चलाउनेको लय र शब्दमा मैले र अनिता चलाउनेले स्वर  दिएका छौँ’, उनी भन्छन्, ‘काठमाडौंमा बसाइ गाह्रो भएपछि गीत गाउन थालेको हुँ।’  

धामीले विभिन्न प्रकारका गीतहरू बजारमा ल्याएका छन्। धामी गीतमा नयाँनयाँ प्रकारका भाका भर्न मनपराउँछन्। एकपछि अर्को गरी विभिन्न शैलीका गीत बजारमा ल्याएर दर्शक तथा श्रोताको मायाले बाँचिरहेको धामीले बताए। ‘दर्शक श्रोताको मन जित्न सफल गीत बनाउन धेरै त्यहीअनुसार मिहिनेत गर्न आवश्यक छ’, उनले भने, ‘दर्शक श्रोताको ढुकढुकी कसरी बन्ने भन्ने गायक आफैँले थाहा पाउनुपर्छ।’

गीत संगीतका क्षेत्रमा लागेका धामीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा गाइने देउडा गीतको संरक्षण गर्दै आएका छन्। देउडा गीतमा धामीको रुचि रहेको छ। भर्खरै मात्र मुगुका इरानी इरानी सुन्दरी भाम र धामीको संयुक्त स्वर ‘कहाँ छै माया जाल’ गीत बजारमा ल्याएका छन्। 

गीतमार्फत् पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको र त्यहीअनुसार पश्चिमका धार्मिक र पर्यटकीय क्षेत्रहरू कैलालीको घोडाघोडी तालदेखि मुगुको रारा तालसम्मको पर्यटकीय क्षेत्रका कुरा  ‘कहाँ छै माया जाल’ गीतमा राखिएको धामीले बताए। ‘म जुन ठाउँमा जन्मिएँ, त्यो ठाउँको विकासमा लाग्नुपर्छ’, उनले भने, ‘त्यसै आधारमा मैले पश्चिम नेपालका घोडाघोडी तालदेखि रारा ताल, अछामको पंचदेवल, बझाङको अपी सैपाल हिमाल र बाजुरामा पर्ने बडिमालिका र खप्तडको ऐतिहासिक पर्यटनको विकासका कुरालाई गीतमार्फत् ल्याउन खोजेको छु।’

उनी गलाका धनी मात्र नभएर एक कुशल शब्दशिल्पी पनि हुन्। ‘का छै माया जाल’लगायतका थुप्रै गीत उनी आफैँले लेखेका हुन्। लोक तथा देउडा गीत मात्र होइन, धामीले ‘कोकाकोला फिगर’ बोलको पप गीतसमेत गाएका छन्। ‘मलाई गीतका सबै प्रकारहरू मनपर्छ’, उनी भन्छन्, ‘अहिले सबै प्रकारका गीतमा संघर्ष गरिरहेको छु।’

धामीले नेपाली कलाकारहरूलाई प्रविधिका कारणले हिट बनाउने गरेको भए पनि बाँच्नका लागि आर्थिक समस्या झेल्नुपर्ने गरेको बताए। ‘कलाकारहरूलाई अहिले प्रविधिका कारणले हिट बनाउने गरेको छ’, उनले भने, ‘तर कलाकारले बाँच्नका लागि संघर्ष गर्नुपर्ने बाध्यता छ।’

अहिले देशका नाम चलेका कलाकारहरू पनि देश विदेशमा हुने सांगीतक कार्यक्रमले धानिएका र आफूहरू जस्ता सिक्दै संघर्ष गर्दै गरेका कलाकारहरूलाई नेपालमा ग्रामीण इलाकामा हुने स्टेज कार्यक्रमले बाँच्नलाई केही सहज बनाएको धामीले बताए। ‘नाम चलेका कलाकारहरू पनि विभिन्न सांगीतिक कार्यक्रमले धानिएका छन्’, उनले भने, ‘हामी जस्ता संघर्ष गर्दै गरेका कलाकारहरू गाउँगाउँमा हुने सांगीतिक कार्यक्रमले जीवन धानिरहेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.