|

भक्तपुर : नेपालमा दोस्रो पटक मष्तिस्क मृत्यु भएका व्यक्तिको अंग सफल प्रत्यारोपण गरिएको छ। गत कार्तिक १२ गते गणेशमान सिंह अस्पतालमा मष्तिस्क मृत्युु भएका एक व्यक्तिको दुई मृगौला वीर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा उपचाररत मृगौला पीडितलाई सफल प्रत्यारोपण गरिएको हो।

गणेशमान सिंह अस्पतालमा उपचार गराइरहेका सर्लाही सासापुरका ७२ वर्षीय टेकबहादुर योञ्जन लामाको मष्तिस्क मृत्युुपछि उनको दुई वटा मृगौला वीर अस्पतालमा उपचारार्थ ५६ वर्षीय सुमन (परिवर्तित नाम) र स्याङजाका ३० वर्षीय अरुण पौडेल (परिवर्तित नाम) लाई प्रत्यारोपण गरिएको शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले जनाएको छ। दुवै पीडितको छनोट स्कोरिङ प्रणालीको आधारमा गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

‘मष्तिस्क मृत्यु भएका व्यक्तिको अंग प्राप्त गर्ने बिरामीको छनोट गर्न लागू गरिएको स्कोरिङ प्रणालीअनुसार पहिलो प्राथमिकतामा परेका सुमन र अरुणलाई रामबहादुरको अंग प्रदान गरिएको हो, ’उनले भने। उनका अनुसार मष्तिस्क मृत्यु भएका व्यक्तिको अंग प्राप्त गर्ने बिरामीको छनोट चारवटा मापदण्डको आधारमा गरिन्छ। प्राप्त अंकका आधारमा पहिलो प्राथमिकतामा परेकालाई अंग दान गरिन्छ। जसलाई स्कोरिङ प्रणाली भनिन्छ।

स्कोरिङ प्रणालीमा लामो समयदेखि उपचार गरिरहेको, बढी मात्रामा अंग म्याच भएका, पुरुष तुलनामा महिलालाई प्राथमिकता दिने र अंग लिने र दिनेको बीचको उमेरको फरक सबैभन्दा कम भएको हुनुपर्दछ। प्रत्यारोपणमा वरिष्ठ मुटुरोग विशेषज्ञ एवं प्रत्यारोपण विज्ञ डा. कुमोद धितालसहित करिव ५० जनाको टोली सहभागी भएको डा. श्रेष्ठले जानकारी दिए।

‘गत कार्तिक १२ गते राति गणेशमान सिंह अस्पतालमा एक व्यक्तिको मष्तिस्क मृत्यु भएको खबर प्राप्त हुनासाथ सोही राति केन्द्रकी डा. कल्पना श्रेष्ठ, वरिष्ठ न्यूरो सर्जन प्रदीप श्रेष्ठ, फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती, गणेशमान सिंह अस्पतालका प्रमुख प्रशासकीय अधिकृत मिलन गुरुङ, डा. मोहनदेव भण्डारीलगायत अन्य विभिन्न अस्पतालका मेडिकल र नमेडिकल अफिरसहित ५० जनाको टोलीको सक्रियतामा यो सफलता मिलेको हो। यसमा ठूलो टिम वर्कको सहयोग र सहकार्यको योगदान रहेको छ,’ उनले भने। 

नेपालमा वर्षेनी एक हजार जनाको मष्तिस्क मृत्युु हुने गरेता पनि ऐन लागू भएको दुई वर्षमा जम्मा दुई जनाको अंगदान हुनु दुःखद भएको उनले बताए। उनले भने, ‘अंगदान सम्बन्धमा अझै जनचेतनाको अभाव छ। जलेर वा गाडेर नष्ट हुने अंगदान गरे एक जनाको अंगले कम्तीमा आठ जनाको ज्यान जोगाउन सकिन्छ।’ उनका अनुसार एक व्यक्तिको दुईवटा मृगौला, दुईवटा फोक्सो, मुटु, कलेजो, प्यांक्रियाज र सानो आन्द्राको प्रत्यारोपण गरी आठ जनाको ज्यान जोगाउन सकिन्छ।
डा. कुमोद धितालले अहिलेको सफलता अंगदानको क्षेत्रमा जनचेतना फैलाउन महत्वपूर्ण खुडकिलो हुने विश्वास व्यक्त गरे। 

अंग दाताका कान्छा छोरा मकर योञ्जन लामा (निर्मल) ले जनचेतना फैलियोस र समाजमा अन्यलाई प्रेरणा मिलोस भनेर बुबाको अंग दान गर्ने निर्णय गरेको बताए। उनले भने, ‘म भारतमा संगीत क्षेत्रमा काम गर्दछु। उतातिर ठूला-ठूला कलाकारहरूले पनि अंग दान गरेका छन्। यहाँ पनि यस्तो कानुन बनेको थाहा पाएपछि परिवारसँगको सल्लाहमा यो निर्णय गरेका हौँ’ लामाले भने, ‘म भारतबाट यहाँ आएपछि परिवारमा एकपटक छलफल भइसकेको रहेछ। डाक्टरहरूले पनि यो राम्रो काम हो भनेर कन्भिन्स गराइसकेका रहेछन्। खाली मेरो निर्णय पर्खिरहेको भन्ने थाहा पाएपछि मैले नि सहमति दिएको हुँ।’

केन्द्रकी डा. श्रेष्ठले योञ्जन परिवारलाई अंगदान गराउन परामर्श गर्नु नपरेको बताइन्। उनले भनिन्,‘अंगदानको विषयमा उहाँको परिवार धेरै सचेत रहेछ। त्यसैले उहाँहरूलाई परामर्शको जरुरी नै परेन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.