|

भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा प्रदूषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदूषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन्।

दीपावलीअघि नै शहरमा बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ। दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्वचेतावनी दिएका छन्। प्रदुषण कम गर्न शहरभित्र भइरहेका निमार्णकार्यलाई नियन्त्रण गरिएको छ। सबै विद्यालयहरूमा तीन दिन बिदा दिइएको छ।

भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ। तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागू गर्न निकै कठिन हुने उनीहरूको विश्वास छ। भारतीयहरूले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने संकेतका रूपमा मनाउने गर्छन्।

विश्व स्वास्थ्य संगठनले १४ भारतीय सहरलाई अतिप्रदूषित सूचीमा राखेको छ। दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ। भारतीय शहरहरूमा पछिल्ला केही वर्षयता वायु प्रदूषणको मात्रा निकै बढेको बताइने गरेको छ।

भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पन्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्बराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूको बुझाई छ।

राजधानी दिल्लीमा बढेको प्रदूषणमा कमी गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक  गरेपनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित शहरीकरण साथै औद्योगिकीकरणले यस कार्यमा चुनौति दिने गरेको छ। प्रदूषण कमी गर्न र प्रदूषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.