|

सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्न र गरिव परिवारलाई परिचय पत्र दिएको छ। नागरिकको घरदैलोमा पुगी तथ्यांक संकलन गरेको गाउँपालिकाले मंगलबार परिचय पत्र प्रदान गरेको हो। 

नाैवटै वडाबाट संकलन गरेको विन्नता स्तरीकरणको नतिजाअनुसार प्रमाणपत्र बाँडिएको अध्यक्ष कविन्द्रकुमार केसीले बताए। अध्यक्ष केसीले गाउँपालिकाको गरिवलाई क, ख, ग र घ गरी चारवटा वर्ग विभाजन गरि प्रमाणपत्र वितरण गरिएको बताए। गाउँपालिकाको गरिवीका आधारमा बजेट विनियोजन गरिने छ। ‘वडास्तरको गरिविका आधारमा हामीले बजेट तथा योजना निर्माण गर्छाैं’ उनले भने,‘हचुवाका भरमा योजना र बजेट विनियोजन गर्नुले विकास भएन। तसर्थ गाउँपालिकाले गरिवी घटाउने लक्ष्यअनुसार विपन्न परिवारको पहिचान गरेको छ।’

गाउँपालिकाको गरिवीलाई आधार बनाएर १० वर्षे गुरुयोजना निर्माण गरिएको छ। सोही गुरुयोजना सफल पार्न गाउँपालिकाले र साझेदार संस्थाले वार्षिक बजेट तथा कार्यक्रमहरू लागू गर्ने भएको हो। गाउँपालिकाको वर्तमान अवस्थाको विश्लेषणसहित तथ्यांक सार्वजनिक गरिएको छ। गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा बाहुन क्षेत्री गरिव छन्। गाउँपालिकामा २७ प्रतिशत जनजाति,२९ प्रतिशत दलित र ३१ प्रतिशत बाहुन क्षेत्री गरिव र विपन्न रहेको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ। 

सिम्ताको गरिवी हट्ने र समृद्धिका लागि प्रदेश सरकारले विशेष क्षेत्रका रुपमा आगामी आर्थिक वर्षमा बजेट छुट्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताए। उनले गरिव र विपन्नमुखी कार्यक्रम ल्याउनुपर्ने बताए। सरकारले चालु आर्थिक वर्षको बजेटमा गरिव लक्षित नै भएको उनको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.