|

बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्ज छिमेकी मुलुक भारतको 'ट्रान्जिट प्वाइन्ट' भएकोले भारतलाई सुहाउँदो उत्पादन गर्न उद्योगी, ब्यवसायीलाई सुझाव दिएका छन्।

भारतको सबै थल मार्ग नेपालगन्जसँग जोडिएको भन्दै उनले ऐतिहासिक नगरी नेपालगन्जलाई आधुनिक शहरको रुपमा विकास गर्न भारतमा पैठारी हुने सामानको उत्पादन बढाउनु पर्ने जिकिर गरे। मुख्यमन्त्री पोख्रेलले नेपालगन्जलाई घना बस्ती बनाउने वा ब्यवस्थित शहर बनाउने नेपालगन्जबासीको हातमा रहेकाे बताए। 

नेपालगन्जस्थित पुन;निर्मित रानीतलाउको उद्घाटन गर्दै उनले नेपालगन्जको ऐतिहासिकतालाई कायम राख्ने दायित्व स्थानीयको भएको बताए। उनले स्थानीयको सहयोगले मात्र विकास सम्भव हुने र दीगो विकासका लागि स्थानीय नै जागरुक हुने धारणा राखे। ‘विकासमा स्थानीयको सहभागिता भए मात्र दीगो हुन्छ।नेपालगन्जलाई राम्रो वा नराम्रो बनाउने काम स्थानीयले मात्र गर्न सक्छ,’ उनले भने। उनले हाम्रो नेपालगन्ज, राम्रो नेपालगन्जको अवधारण सहितको योजना बनाए।

प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए। उनले नेपालगन्जको विकास तीव्रगतिमा भए पनि हरियाली र सरसफाई घट्दै गएको गुनासो गरे। ‘उपमहानगर पालिकाले हरियाली र सरसफाई अभियान चलाअाेस्। प्रदेश सरकार अभियानमा साथ दिन तयार छ,’ मुख्यमन्त्री पोख्रेलले भने। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य महेश्वर गहतराज (अथक), प्रदेश सांसद् आइपी खरेल, जिल्ला विकास समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेकपा बाँकेका कार्यदल सदस्य अशोक कोइराला लगायतले मन्तब्य राखेका थिए। 

रानी तलाउमा नौका विहार शुरु

२२ लाख ७८ हजार लागतमा जीर्ण रहेको रानीतलाउको जीर्णोद्धार गरी नौका विहार शुरु भएको छ। जलविहार गर्न चाहनेका लागि बुधवारदेखि पूर्णरुपमा खुल्ला गरिने उपमहानगरपालिकाले जनाएको छ। बोटिङका लागि प्लाष्टिकका चार वटा बोट (डुंगा) को अवस्था गरिएको उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताले जानकारी दिए। तलाउलाई चारैतिरबाट पर्खालले घरिएको छ। पर्खाल र जीर्ण बनेका अन्य भौतिक संरचनामा रङरोगन गरिएको छ। डिप बोरिङमार्फत पानी भरिएको छ भने वरिपरि पलाएका झारपात सफा गरेर चिटिक्क पारिएको छ।  

बालबालिकाका लागि उद्यान, बटुवा बस्नका लागि कुर्ची, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ। दक्षिणतर्फ तीनवटा कटेज निर्माण गरिनुका साथै पूर्व र पश्चिमतर्फ रमणीय पार्क स्थापना गरिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.