|

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रा.लिका सञ्चालक सञ्जय सिंघललाई उद्योगमा कार्यरत कामदारमाथि कुटपिट गरेको आरोप लागेको छ। उद्योगमा १७ वर्षदेखि काम गर्दै आएका कामदार इन्द्रजित गर्गले आफूमाथि सिंघलले दुर्व्यवहार गर्दै कुटपिट गरेको भन्दै प्रशासनमा उजुरी दिएका हुन्।

सिंघलले ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै गर्गले मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षा माग गर्दै उजुरी दिएका हुन्। उद्योगको अनुगमन गर्दै कार्यालयमा आएको बेला मुक्का प्रहार गर्दै आफूमाथि कुटपिट गरेको उनको निवेदनमा उल्लेख छ। उद्योगमा पहिले कुटपिट गरेपछि भारतको सिलगुडीमा रहेको कार्यालयमा बोलाएर पनि आफूमाथि कुटपिट गरेको गर्गको भनाइ छ।

कुटपिटपछि जुठो पानी मेरो मुखमा छ्यापिदिएर दुर्व्यवहार गरेको उनले बताएका छन्। उद्योग परिसरमै रहेको क्वाटरमा बस्दै आएका उनलाई उद्योग प्रवेशमा निषेध गर्दै कुटपिट गरेर निकालिएको छ। उनले आफ्नो भए भरको सामग्रीसमेत बाहिर ल्याउन नपाएको गुनासो गरेका छन्। आफू बस्दै आएको क्वाटरको कपडाहरू समेत जलाइदिएको उनले बताए। गर्गले सुरक्षा माग गर्दै  दिएको निवेदनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशराज पाण्डेले बताए।

सिंघलले यसअघि पनि उद्योगमा कार्यरत कामदारमाथि दुर्व्यवहार तथा कुटपिट गरेको गुनासो मजदुरहरूले गर्ने गरेका छन्। उद्योगमा कार्यरत नेपाली कामदारहरू धीरेन लामा, बलराम काफ्ले, प्रकाश साह, हरिहर यादव र शंकरलाई पनि सिंघलले दुर्व्यवहार गरिसकेका छन्। आरती स्ट्रिप्सका निर्देशक सञ्जीव शर्माले भने मजदुर कुटपिट गरेको कुरा गलत भएको बताए।

कामदारमाथि भएको कुटपिटको विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.