|

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न सफल भएको छ।

मंगलबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग बराबरी खेलेपनि स्पेनिस महारथी बार्सिलोनाले दुई खेलअगावै प्रतियोगिताको अन्तिम १६ मा स्थान बनायो।

चोटका कारण मैदान बाहिर रहेका लियोनल मेसीको अभाव देखिएको खेलमा बार्सिलाना १–१ गोलको बराबरीमा रोकियो। सिल्भा डी ओलिविराले ८३ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएपनि खेल सकिन ३ मिनेट बाँकी छँदा इन्टरका माउरो इकार्डीले बराबरी गोल फर्काएका थिए।

समूह बीमा बार्सीलोनाले ४ खेलबाट १० अंक जोडेर नकआउट चरणमा स्थान बनाएको छ भने इन्टर मिलान ७ अंकसहित प्रि क्वार्टरफाईनलको नजिक छ। यसै समूहको अर्को खेलमा प्रिमियर लिग क्लब टोटेनह्यामले पीएसभीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ। उसले घरेलु मैदानमा पीएसभीलाई २–१ ले हरायो। टोटनह्यामका लागि दुवै गोल ह्यारी केनले गरे।

डि जोङको गोलमार्फत पाहुना टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिए पनि टोटनह्यामले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। ७८ औ मिनेटमा बराबरी गोल फर्काएका केनले खेल सकिन एक मिनेट बाँकी छँदा विजयी गोल गर्दै टोटनह्यामको अघिल्लो चरण सम्भावनालाई कायम राखे।

जितपछि टोटनह्यामको ४ खेलबाट ४ अंक छ। ऊ तालिकाको तेस्रो स्थानमा छ। पीएसभी एक अंकसहित पुछारमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.