|

जनकपुरधाम : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाल कम्युनिस्ट पार्टीको वर्तमान दुई तिहाईको सरकारले संवैधानिक निकायलाई त्रसित गर्न तथा सर्वसत्तावादलाई स्थापित गर्न दुई तिहाईको सरकार निर्माण गरेको आरोप लगाएका छन्। उनले कम्युनिस्ट शासन पद्धति केन्द्रिकृत शासन पद्धतिको पक्षमा देखिएको आरोपसमेत लगाए। 

बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका प्रमुख सचेतक खाँडले वर्तमान सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्नुपर्नेमा त्यसको विपरीत केन्द्रित शासन पद्धतिको शुरुवात गर्न लागेको बताए। उनले कम्युनिस्ट सरकारले देशलाई लोकतान्त्रिक वा कम्युनिस्ट शासन पद्धतिबाट अगाडि बढाउने भन्ने अन्योलमा राखेकोले देश बन्दीको घेरामा फसिरहेको बताए।

जसरी राजाको अन्त्य भयो, त्यसैगरी यो सरकारको अन्त्य हुन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँडले ओली सरकारले शान्ति सुरक्षा, बलात्कार, हत्या हिंसा र महँगी बढाउँदै गएको र सरकारको कुनै निगरानी–नियन्त्रण गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए। उनले जनताको कमाइलाई बेवास्ता गरी अहिले ३३ प्रतिशतसम्म देशमा महँगी वृद्धि हुनु नै सरकारको आयू घटनु भएको तर्क गरे। उनले भने, ‘जसरी राजा ज्ञानेन्द्र सर्वसत्तावादी भए त्यसरी नै अहिलेको सरकार हुँदैछ, जसरी राजाको अन्त्य भयो, त्यसैगरी ओली सरकारको अन्त्य हुन्छ।’

उनले प्रधानमन्त्री र मुख्यमन्त्री एउटै पार्टीका भए पनि व्यापक तिक्तता देखिएकोले पनि अबको पाँच वर्ष सरकार चल्ने कुनै आधार नरहेको स्पष्ट पारे। उनले भने, ‘संघीयता विरोधी जनादेशलाई पाँच वर्ष सरकार चलाउने अधिकार भए पनि सरकार चल्दैन। अबको १० वर्षमा दुनियाँको कुनै पनि कुनामा कम्युनिस्ट सरकार रहँदैन, कम्युनिस्ट सरकार पुरानै ढर्राबाट स्वतन्त्रता र समानताको विपरीत केन्द्रिकृत सोचबाट सर्वहाराको नाममा सत्ता संचालन गर्ने ध्येयले अगाडि बढिरहेकोले दुनियाँबाटै कम्युनिस्ट समाप्त हुन्छ।’

उनले गृह मन्त्रालय मातहतमा रहेको अनुसन्धान विभाग र अर्थमन्त्रालयका मातहतमा रहेका महत्वपूर्ण विभागहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मातहतमा ल्याएर ज्ञानेन्द्र शैलीले देश चलाउन खोजेर अराजकता निम्त्याउन खोजेको आरोप लगाए। उनले अहिलेको सत्तारुढ दल नेकपासँग बहुमत हुँदाहुँदै पनि सरकारलाई मधेश केन्द्रित दल संघीय समाजवादी फोरमलाई सहभागि तथा समर्थन लिएर दुई तिहाईको सरकार रहे पनि संविधान संशोधन नहुनु विडम्वना भएको बताए।

उनले विगतमा नेकपा एमालेको छवि मधेश आन्दोलनको बखत निकै नै नकारात्मक रहेकोले सुधारका लागि मधेश केन्द्रित दललाई सरकारमा ल्याए पनि संविधान संशोधनको चर्चासमेत नहुनुले गम्भीर षड्यन्त्र भएको आरोप लगाए। उनले एउटै पार्टीका अध्यक्ष र प्रधानमन्त्री रहेकोले शक्ति सन्तुलनमा निकै नै समस्या भइरहेकोले यो सरकारलाई सैद्धान्तिक आधारशीला कमजोर रहेका टिप्पणी गरे।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पूर्वमन्त्री एवं केन्द्रीय सदस्य रामकृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, जिल्ला अध्यक्ष महेश शंकर गिरिसहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.