|

धनगढी : कैलालीका चोर नाका हुँदै अबैध सामग्री नेपाल भित्रिरहेका छन्। पछिल्लो तीन महिनामा बरामत भएको अबैध सामग्रीको तथ्यांकले पनि कैलालीमा तस्करी मैलाएको प्रष्ट पारेको छ। गतआर्थिक वर्षमा भन्सार छली आएको करिब ९७ लाख ८६ हजार रुपैयाँ रकम सशस्त्र प्रहरीले भन्सार कार्यालयलाई दाखिला गरेको थियो। 

यसआर्थिक वर्षको तीन महिनामा मात्रै १ करोड १३ लाख बराबरको सामान दाखिला गरेको छ। केही समय अघि अबैध भारतीय रकमसहित एकजना नेपाली पक्राउ परेका थिए। उनीबाट एककरोड १४ लाख रकम बरामत भयो। गतआर्थिक वर्षको १२ महिनामा भन्दा यस आर्थिक वर्षको ३ महिनामा दुई गुणा बढी सामग्रीहरू बरामत भएका छन्। अबैध सामग्री नेपाल सम्म ल्याउन प्रहरीसँग तस्करको सेटिङ हुने गरेको स्रोतको दाबी छ। प्रत्यक्षदर्शी र सर्वसाधरणहरू पनि सीमाका प्रहरीकै संलग्नतामा अबैध सामानहरू नेपाल भित्रिरहेको बताउँछन्।

‘ठूलो भन्सार नहुँदा प्रशासन र दुई नम्बरीहरू दुबैको मिलोमतोमा तस्करी भइरहेको छ’ सीमा क्षेत्रका एकजना नागरिकले भने,‘क्यारिङ गर्ने र प्रहरीबीच जानकारी हुन्छ। कुराकानी भएपछि जसको कुरा मिल्छ त्यो छुट्छ। जसको मिल्दैन। उसको सामान पक्राउपर्छ।’ सीमा क्षेत्रनजिक रहेका स्थानीयबासीहरूले प्रहरीकै संलग्नतामा तस्करी भइरहेको दाबी गर्छन्। नाम नबताउने सर्तमा एक जना व्यक्तिले भने, ‘तस्करहरूले प्रहरीलाई पनि पैसा दिन्छन्। घुमुवालाई पनि दिन्छन्।’ 

तस्करी नियन्त्रणमा खटिएकारु पनि तस्करी बढिरहेको बताउँछन्। शसस्त्र प्रहरी कार्यालय ३४ नम्बर गण कैलाली प्रहरी उपरीक्षक बिष्णु भट्टले भने‘ तथ्यांकले तस्करी बढेको देखिन्छ तर तस्करी नभएको देखाउन सामान बरामतनै नगर्ने भन्ने पनि हुँदैन।’ भट्टले भने, ‘तपाईहरु तस्करी बढेको भन्नुहुन्छ तर हाम्रो सक्रियता बढेको हो।’

कैलालीको हसुलिया, फुलबारी, जुगेडा लगाएतको चोर नाकाबाट बढि तस्करी भइरहेको छ। दैनिक लाखौँको अवैध सामानहरू भित्रिने गरेको छ। रासायनिक मल, खाद्यवस्तु, पेय पदार्थ, लत्ताकपडा, किराना तथा हार्डवेयरका सामानहरु सबै भन्दा बढी भित्रिरहेको पाइएको छ। प्रयाप्त छोटी भन्सार नहुँदा तस्करी बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि वलीले बताए। तर तस्करको प्रहरीसँग सेटिङको आरोप उनले नकारे।

‘खुल्ला नाका भएका कारण समस्या भएको हो। ती क्षेत्रमा प्रहरी युनिट पनि छैन। सशस्त्रको बीओपी पनि छैन। भन्सार पनि छैन। लुकाछिपीमै यस्तो काम भइरहेको छ ’ प्रहरी उपरीक्षक ओलीले भने। छोटी भन्सारहरू नहुँदा समस्या भएको उनले बताए। ‘तर तस्करसँग प्रहरीको सेटिङ छ भन्ने कुरा सरासर गलत हो’ ओलीले भने, अपराध नियन्त्रण गर्ने विषयमा सेटिङ होला। तस्करी नियन्त्रण गर्ने विषयमा सेटिङ होला तर अपराधलाई मौलाउन दिने र तस्करलाई बढवा दिने विषयमा कुनै सेटिङ छैन।’

प्रहरीसँगै भन्सार कार्यालयको संलग्नतामा पनि तस्करी हुने गरेको स्रोतको दाबी छ। कैलाली भन्सार कार्यालयका अधिकृत नारायणदत्त जोशीले आफूहरूको संलग्नता नरहेको र अन्य कार्यालयको विषयमा भन्न नसकिने तर्क ब्यक्त गरे। जोशीले भने, ‘सेटिङमा तस्करी हुने कुरामा हामीलाई जानकारी छैन। अरुको के छ हामीलाई थाहा छैन।’

विगतमा केही तस्करीमा प्रहरीकै संलग्ता रहेको पाइएको र उनीहरूलाई कारवाही गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए। फेरि त्यस्तो अवस्था आए कारबाही गरिने उनले बताए। ‘नेपाल प्रहरी र शसस्त्र प्रहरीका केही जवानहरुले त्यसलाई संरक्षण दिएको पाइएको थियो। उनीहरूलाई कारबाही गरियो। त्यसैले यस वर्षमा बढी मात्रामा सामान पक्राउ गरेका हौँ’ सहायक प्रमुख जिल्ला अधिकारी भट्टले भने,‘फेरि पनि त्यस्तो अवस्था आए अनुगमन गर्छाैं र कारबाही गर्छाै।’ 

सहायक प्रमुख जिल्ला अधिकारी भट्टले लामो समयसम्म एकै ब्यक्ति नेतृत्वमा रहदा तस्करी बढेको पाइएको बताए।  सातवटा छोटी भन्सारहरू मध्ये कैलालीमा हाल दुईवटा मात्रै चालू अवस्थामा रहेको छ। टीकापुर छोटी भन्सार पनि मुल भन्सारका रुपमा स्थापित भएपछि अहिले एउटा मात्रै छोटी भन्सार छ।

कैलालीमा प्रशस्त छोटी भन्सार नहुँदा तस्करी नरोकिएको एकपक्षको तर्क छ भने प्रहरी प्रशासनसँगै तस्करको सेटिङका कारण तस्करी मौलाएको अर्काे पक्षको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.