|
प्रतीकात्मक तस्वीर

रामेछाप : जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारको समयमा राति १० बजेभन्दा पछाडि देउसी-भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना प्रकाशित गरी रातको समयमा देउसी भैलोको नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी-भैलो खेल्न आग्रह गरेको हो।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले तिहारको समयमा पटका, भूइँचम्पा, आतासबाजीलगायतका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको उत्पादन ओसारपसार, बिक्रीवितरण तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ। अमर्यादित कार्यबाट सर्वसाधारणलाई त्रसित बनाउने काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। चाडपर्वमा मनोरञ्जन गर्ने बाहनामा जुवा, तासजस्ता खेलहरू खेल्ने/खेलाउने, अवैध मदिराको बिक्री वितरण गर्नेमाथि पनि कारवाही हुने जनाइएको छ।

मादक पदार्थको सेवनबाट झै–झगडा, हुलहुज्जत तथा शान्ति–सुरक्षामा खलल पुग्न सक्ने भएकोले यस्तो निर्णय गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। तिहारको समयमा म्याद नाघेका एवं गुणस्तरहीन अखाद्य वस्तुहरू बिक्री वितरण गर्ने, अस्वभाविक मूल्यवृद्धि गरि कालो बजारी गरेको पाइएमा त्यस्ता व्यवसायीमाथि पनि कारवाही हुने प्रजिअ शर्माले बताए।

यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापले सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा असुल गर्नेलाई पनि कारवाही गर्ने भएको छ। सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गर्ने सवारीलाई ठाउँकोठाउँ कारवाही गरिने जनाएको हो।

सूचनाको बर्खिलाप गरी कसैले गलत काम गरेको पाइएमा कडा कारवाही हुने चेतावनी पनि जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.