|

हेटौंडा : मकवानपुरमा हालसम्म महिलालाई कैद वा बन्दी गर्न कारागार छैन। यसो हुँदा मकवानपुर प्रहरी मात्र होइन चितवन कारागारले समेत समस्या खेप्नु परेको छ। अभियुक्त वा कैद तोकिएका महिलालाई जिम्मा लगाउन मकवानपुर प्रहरीलाई चितवन धाउँदै हैरान त छँदैछ चितवन कारागारमा समेत क्षमताभन्दा बढी कैदी हुँदा व्यवस्थापनमा समस्या परेको छ।

१५ जना क्षमता भएको चितवन महिला कारागारमा हाल ५७ महिला कैदी रहेको चितवन कारागारले जनाएको छ। ती कैदीमध्ये २६ जना मकवानपुर जिल्ला प्रहरी कार्यालबाट पठाइएको कारागारले जानकारी दिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा महिलाका लागि निर्मित कारागार छ तर पुरुष बन्दीका लागिमात्र प्रयोग गरिएको छ। 

भीमफेदी कारागारमा दुई वटा ब्लक निर्माण गरिएको छ। ‘क’ ब्लकमा ४३६ जना र ‘ख’ ब्लकमा ४४९ कैदी छन्। एक हजार २५० जना अट्ने क्षमताको कारागार निर्माण गरिएको छ। तर हाल ८८६ जना कैदी थुनुवामा छन्। ११९ जना थुनुवा र ७६७ जना कैदी रहेको कारागारले जानकारी दिएको छ। क्षमता भन्दा निकै कम कैदी बन्दी भएकाले कारागार खालीजस्तै देखिन्छ। ठाउँ हुँदा पनि मकवानपुर प्रहरीलाई महिला कैदी चितवन नै पुर्‍याउनुपर्ने वाध्यता छ।

२०२८ सालमा स्थापना भएको कारागारमा हालसम्म पनि महिलाका लागि व्यवस्था हुन सकेको छैन। आर्थिक वर्ष २०७२/०७३ मा १२ जना,आव २०७३/०७४ मा १५ जना र आव २०७४/०७५ मा १७ जना र चालु आर्थिक वर्षको हालसम्म ४ जना महिला कैदीलाई चितवन पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक वुद्धिराज गुरुङका अनुसार महिला बन्दीलाई पटक-पटक अदालत उपस्थित गराउनुपर्ने हुन्छ। तर यहाँ महिला बन्दीगृह नहुँदा समस्या पर्नेगरेको प्रउ गुरुङले बताए। करिब ७६ किलाेमिटर लामो बाटो हुँदै कैदीलाई ल्याउनु/लैजानु पर्दा सुरक्षा जोखिम र आर्थिक समस्या पर्ने प्रउ गुरुङले गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.