|

रामेछाप : आत्महत्या गरेको भनिएकी रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका ४ धोबी बजारकी झलमाया तामाङले आत्महत्या गरेको नभई हत्या गरिएको आशंका स्थानीयले गरेका छन्।

झलमायाले आत्महत्या गरेको नभई हत्या गरिएको हो भन्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, सोही गाउँपालिका ३ का अध्यक्ष यमबहादुर महत, वडा ४ का अध्यक्ष लीलाबहादुर बस्नेतसहित २३९ जना स्थानीयले संयुक्त हस्ताक्षर गरी स्थानीय प्रहरी चौकीमा उजुरी दिएका छन्।

धोबी बजारकी ४० वर्षीया झलमाया श्रेष्ठको शव सोमबार उनकै घरको धुरीकाे बलोमा झुण्डिएको अवस्थामा फेला परेको थियो। हत्या गरी झुण्ड्याइएको भन्दै मृतकका पत धननारायण श्रेष्ठ र त्यहीको स्थानीय गोपिनी कार्कीविरुद्ध गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का सहितको २३९ जना स्थानीयले प्रहरीमा किटानी जाहेरी दिएका छन्।

मृतक महिलाले मृत्यु हुने अघिल्लो दिन पतिले कुटपिट गरी मार्न खोजेको भन्दै बचाउन बजारमा हारगुहार गरेको स्थानीयले बताएका छन्। स्थानीयको अनुसार पतिले मार्न सक्ने भन्दै आफूलाई बचाई दिन झलमायाले स्थानीयलाई अनुरोध गरेकी थिइन्।

मृतक महिलाले छिमेकीसँग सहयोग मागेको स्थानीले बताए पनि प्रहरी कार्यालयमा उजुरी भने नदिएको जिल्ला प्रहरी कार्याल रामेछापका सूचना अधिकारी शेख अदालतले बताए। गाउँपालिका अध्यक्षसहितको स्थानीयले उजुरी दिएपछि आरोपित धननारायण र गोपिनीलाई प्रहरीले पक्राउ गरेको छ। दुईजना मिलेर उनको हत्या गरेको भन्दै स्थानीयबासीले उनीहरूलाई कालोमोसो लगाउन खोजेपछि सुरक्षाको लागि पनि उनीहरूलाई नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ।

शवको पोष्टमार्टमा रिपोर्ट भने आत्महत्या गरेको भनी आएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। शवको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमार्टम गरिएको हो। तर पोष्टमार्टको रिपोर्ट गलत आएको भन्दै गाउँपालिकाको अगुवाइमा शव पुनः परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडाैं पठाएको छ।

झलमायाको हत्या गरिएको दावी गर्दै घटनाको गहिरो अनुसन्धान गर्नुपर्ने गाउँपालिका अध्यक्ष खड्काले बताए। सत्यतथ्य छानबिन नभएसम्म आफूहरूले मृतक झलमायाको शव नबुझ्ने परिवार स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.