|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार करिब तीन हप्तापछि सार्वजनिक कार्यक्रममा उपस्थित भए। मदन भण्डारी कला साहित्य फाउन्डेसनले गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओली उपस्थित भएका हुन्।

ओलीको स्वास्थ्य अवस्थाको ख्याल गरेर नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै कार्यक्रम आयोजना गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई डाक्टरहरूले आराम गर्न र धेरै नबोल्न सुझाव दिएका थिए। कार्यक्रममा प्रधानमन्त्रीलाई उपचार गर्ने चिकित्सक डा. अरुण सायमी कार्यक्रममा नै उपस्थित थिए। उनी प्रधानमन्त्रीको सामुन्ने बसेर ख्याल गरिरहेका थिए।

सुरुमा प्रधानमन्त्रीलाई बोल्न अनुमति दिइएको थिएन। कार्यक्रममा नै प्रधानमन्त्रीले बोल्न डा. सायमीसँग अनुमति मागेका थिए। प्रधानमन्त्रीले कार्यक्रम स्थलमा नै अनुमति मागेपछि डा. सायमीले छोटो मन्तव्य राख्न अनुमति दिए। तर, प्रधानमन्त्रीले २२ मिनेट मन्तव्य राखेका थिए।

भाषणका क्रममा प्रधानमन्त्रीले महाकवि देवकोटाको साहित्य लेखनको प्रसंशा गरेका थिए। उनले आफूले देवकोटाका कृति पढेर भावुक बनेको कुरा पनि बताएका थिए।

तर, कार्यक्रमको अन्त्यमा भने आफ्नै स्वास्थ्यबारे भनाइ राखेका थिए। उनले भने, 'म आउन सकिरहेको थिइनँ। आधा कार्यक्रम पछि जाऊँला भनेको सुरु नै गर्नुभएको रहेनछ। यति समय बस्न सक्छु जस्तो लागेको थिएन तर यतिञ्जेल बस्न सकेँ।'

प्रधानमन्त्री ओलीले लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किन्ने र देवकोटा स्मृति संग्रहालय बनाउने योजना रहेको सुनाएका थिए। उनले देवकोटाले कसरी लेख्थे, कुन खाटमा बस्थे, कसरी पढ्थे? सबै कुरा संग्रहालयमा राख्ने बताए। उनले देवकोटाले पिउने गरेका चुरोटका ठुटाहरू भने नराखिने बताए। देवकोटाका राम्रा कुरा मात्रै संग्रहालयमा राखिने उनले योजना सुनाए।

प्रधानमन्त्रीले आफूले देवकोटा जतिको ठूलो कवि नेपालमा मात्रै होइन, दुनियाँमा नै नभएको र नदेखेको बताए। उनले भने, 'कवित्वको मापन कति कविता लेख्यो भन्नेले होइन, कवित्व कति छ भन्ने कुरामा भरपर्छ। यस्तो विद्वान कतै देखेको छैन, कसैले भेटेको भए भनिदिनुहोला।'

ओलीले देवकोटाको 'मुनामदन' पढेर आफू रोएको पनि बताए। उनले देवकोटाको लेखनमा मिठास, कल्पनाशीलता र संस्कृत साहित्यको ज्ञान भएको बताए।

उनले देवकोटाका रचना युगअनुसार असाधारण भएको धारणा राखे। उनले जसले जतिबेला र जुन परिवेशमा पनि देवकोटाका रचना बुझ्न सक्ने दाबी गरे। 'बहुप्रतिभाशाली र प्राकृतिक प्रतिभा हुन्। उनी मूलबाट खसेको छाँगा जस्तो हुन्, जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गरे र अन्तर्राष्ट्रिय साहित्यलाई पनि ल्याए', ओलीले भने।

ओलीले देवकोटाका रचनामा रफ्तार रहेको आफूले पाएको बताए।

देवकोटाको कम उमेरमा नै निधन हुनुमा उनकै दोष रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, 'सिगरेट छोड्न नसक्ने, औँला पोल्यो भने त थाहा पाउनुपर्‍यो! ५० वर्षमा देवकोटालाई सिगरेटले लग्यो। महाकविलाई मार्ने सिगरेट देवकोटालाई नै समर्पित गरिदिऔँ। यदि कसैलाई यस्तो लत छ भने छाड्नुहोस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.