|

भोजपुर : जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा महँगो मूल्य लगाएर रुद्राक्ष किन्ने चिनियाँ व्यापारीको प्रवेश रोकिएपछि व्यापार चौपट भएको छ। जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा चिनियाँ व्यापारीलाई प्रवेशमा रोक लगाइएपछि रुद्राक्ष कारोबारमा समस्या भएकोे हो।

सिजनमै नगरपालिकाले यस्तो नीति ल्याउँदा रुद्राक्षको माग घटेको किसानको गुनासो रहेको छ। टुरिस्ट भिसा र बिजनेस भिसामा नेपाल आएका चिनियाँ व्यापारलाई गाउँ पस्न बन्देज लगाइएपछि रुद्राक्ष व्यापारमा समस्या सिर्जना भएको जनाइएको छ। जिल्ला प्रशासन, सुरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले गत भदौ महिनाको पहिलो हप्ता विदेशी व्यापारीको सुरक्षाका लागि भन्दै गाउँमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको थियो।

यस्तो निर्णयपछि किसानहरूले सोचे अनुसार रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन्। ‘नेपाल प्रहरीले वर्षेनी आइरहने चिनियाँ व्यापारीलाई गाउँ प्रवेशमा रोक लगाएपछि बजारमै लगेर दाना देखाउँदा राम्रो मूल्यमा लैजान मान्दैन्।’,षडानन्द नगरपालिकाका प्रमेशचन्द्र नेपालले भने, ‘जसले गर्दा व्यापार चौपट भएको हो।’

गाउँमा व्यापारी आउन छाडेपछि रुद्राक्षको मागमा कमी आएको अर्का स्थानीय भवीन्द्र कार्कीले गुनासो पोखे। रुद्राक्षको सिजनमै नगरपालिकाले लागू गरेको निर्णयले दसैं टार्नै धौधौ परेको उनको भनाई छ। इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक सञ्जीव ओलीले नगरपालिकाको निर्देशन अनुसार विदेशी व्यापारीलाई व्यक्तिगत सुरक्षाका लागि गाउँ जान रोक लगाइएको बताए। ‘नगरपालिकाको निर्देशन हामीले पालना गरेका हौं’, ओलीलेले भने, ‘व्यापारीको सुरक्षाका लागि पनि उनीहरूलाई बजार क्षेत्रमै बसेर रुद्राक्ष कारोबार गर्न अनुमति दिएका छौं।’

चिनियाँ व्यापारीका लागि षडानन्दको दिङ्ला बजार र साल्पासिलिछोको कुलुङ बजारमा मात्र बस्न, रुद्राक्ष कारोबार गर्न अनुमति दिइएको छ। किसानलाई बजारमै आएर रुद्राक्ष कारोबार गर्न पाउने व्यवस्था रहेको प्रहरी निरीक्षक ओलीले बताए। नगरपालिकाले गाउँघरमा चिनियाँ व्यापारीमाथि हुन सक्ने लुटपाट, चोरी लगायत सम्भावित दुर्घटनालाई मध्यनजर गरी निर्णय गरिएको जनाइएको छ।

व्यापारीको व्यक्तिगत सुरक्षालाई विशेष ध्यान दिँदै चिनियाँ व्यापारीहरुको गाउँमा प्रवेश रोक लगाउने निर्णय भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले बताए। ‘व्यापारीहरू पैसा बोकेर हिँडिरहेका हुन्छन्,' राईले भने, ‘उनीहरूमाथि सम्भावित दुर्घटना नहोस् भनेरै हामीले यस्तो निर्णय गरेका हौं।’ कुनै समय भारतमा मात्र निकासी हुने गरेको रुद्राक्ष अहिले इन्डोनेसिया र चीनमा पनि जाने गरेको स्थानीय व्यापारीहरुले बताए।

चिनियाँ व्यापारीहरूले रुद्राक्ष बगानमै पसेर खरिद गर्न थालेपछि रुद्राक्षको मूल्य र माग बढेको थियो। उनीहरूपछिल्लो समय भोजपुरको छिमेकी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी, तुम्लिङटारका अधिकांश होटल र व्यक्तिका घर भाडामा लिएर बस्ने गरेका छन्। उनीहरूले गोलो, चिल्लो, मिलेको, बुट्टादार र शरीरमा पहिरिँदा पनि नबिझाउने किसिमका रुद्राक्ष रोजेर लैजान थालेको जनाइएको छ।

गुणस्तरीय रुद्राक्षले अहिले पनि राम्रो भाउ पाइरहेको व्यापारीले बताएका छन्। स्थानीय व्यापारीका अनुसार ४, ५ र ६ मुखे दानाको गुणस्तर हेरेर प्रतिकिलो डेढ लाख रुपैयाँसम्म खरिद बिक्री हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.