|

बाँके : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगन्जलाई ‘मान सरोवरको हव’ को रुपमा विकास गरिने बताएका छन्। मानरोवर जानका लागि भारतीय पर्यटक नेपालगन्जको बाटो भएर जाने भएकोले नेपालगन्जलाई मानसरोवरको हवको रुपमा विकास गरि भारतीय पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना रहेको बताए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले वडा दसैँ, दीपावली, नेपाल सम्वत्, छठ, लोसार, मोहमद डे, क्रिष्मश डे लगायत पर्वको अवसर पारेर बुधबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले नेपालगन्ज विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन निर्माणको काम भइरहेको बताए।

मुख्य मन्त्री पोख्रेलले नेपालगन्ज-दिल्ली उडानका लागि रुट परमिटको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले नेपालगन्जमा मानसरोवरको प्रतीक पनि तयार गरि पार्कको रुपमा विकास गर्ने आश्वासन दिए। बाँकेमा प्रदेश ५ को मुख्य औद्योगिक क्षेत्र निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउँदै उनले पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्न प्रदेशका विभिन्न स्थानमा विद्युतीय बस संचालन गर्ने उद्घोष गरे।

‘विद्युतीय बस र सवारी साधनमा जडित ब्याट्री चार्ज गर्न प्रदेशका विभिन्न स्थानमा ब्याट्री चार्ज गर्ने ब्यवस्था गरिने छ,’ मुख्यमन्त्री पोख्रेलले भने। उनले नेपालगन्ज-कोहलपुर सडक खण्डमा विद्युतीय बस संचालनको समेत प्रदेश सरकारले तयारी गरेको जानकारी दिए।

देशलाई आर्थिक भार कम गर्न प्रदेश ५ का विभिन्न सडक खण्डमा विद्युतीय बस संचालन गरिने बताउँदै उनले यसका लागि चाँडै कार्ययोजना तयार हुने जानकारी दिए। उनले चाडपर्वले नेपालीबीच भएको सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरेको धारणा राख्दै नेकपा प्रदेश ५ का इन्चार्ज समेत रहेका पोख्रेलले नेपालगन्जको भारतसँग सिधा सम्पर्क रहेकोले भारत निर्यात हुने सामान उत्पादनमा प्रदेश सरकारले विशेष जोड दिने स्पष्ट पारे। ‘अव पूरानो ढर्राको उद्योगले बजार लिन सक्दैन, भारतमा समेत बजार बनाउन त्यहाँ आवश्यक पर्ने वस्तु उत्पादन गर्नुपर्ने हुन्छ,’ उनले भने। 

मुख्यमन्त्री पोख्रेलले दोस्रो संविधान सभाले नेपालीको आवश्यकता भन्दा धेरै अधिकार दिइसकेको भन्दै अव अधिकारका लागि आन्दोलन आवश्यक नभएको धारणा राखे। उनले देश समृद्ध भएमात्र संविधानले दिएको अधिकार जनताले प्राप्त गर्न सक्ने भन्दै देशलाई समृद्धिका लागि अवको अभियान केन्द्रित हुनुपर्ने बताए। ‘अव अधिकारका लागि होइन, देशलाई समृद्ध बनाउने आर्थिक क्रान्तिको खाँचो छ,’ उनले भने, ‘अधिकारका लागि राजनीतिक दुष्चक्रमा देशलाई ढकेलिनु हुँदैन।’

कार्यक्रममा नेकपा बाँके कार्यदल सदस्य अशोक कोइराला,कार्यदलका अर्का सदस्य अक्कलबहादुर बल, नेकपाका नेता अपार, प्राकृतिक स्रोतसाधन समितिका सभापति पूर्णाकुमारी सुवेदी, प्रतिनिधि सभाका सदस्य महेश्वर गहतराज, नन्दलाल रोकाय, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला लगायतको पनि उपस्थिति थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.