|

कपिलवस्तु  : चाडपर्वका वेला बढिमात्रामा माटोको भाँडाकुँडा बिक्री हुन छोडेपछि कपिलवस्तुका कोहार जातिको पेसा संकटमा परेको छ। उक्त जातिलाई पुर्ख्यौली पेशा संकटमा पर्दा यस पेशालाई जोगाउन उनीहरूलाई समस्या पर्न थालेको छ। बढ्दो आधुनिकतासँगै माटाका भाँडाकुँडा बनाई बिक्री गरी जीवीकोपार्जन गर्न कठिन हुन थालेपछि उनीहरूको पेशा संकटमा परेको हो।

माटाको भाँडाकुँडा बेचेर तिहार मनाउने कोहार जातिको चाहाना अधुरै बन्न पुगेको छ। विशेष गरी तिहारका बेला माटोका भाँडाकुँडाको माग बढी हुने गरे पनि केहीवर्ष यता बिक्री हुन छाडेका कोहारहरू बताउँछन्। बजारमा आकर्षक डिजाइनका बिद्युतीय बत्ती पाउन थालेपछि माटोका भाँडाकुँडाले बजार पाउन छाडेको छ।

गाउँ शहरका प्रत्येक घरमा पहिले तिहारका बेला माटोको दियाेमा बत्ती बालिन्थ्यो। तर आजभोलि दियो बाल्ने घर निकै कम पाइन्छ। त्यस्तै तिहारका बेला केटाकेटी खेल्ने माटाका भाँडकुँडा पनि आजभोलि प्लास्टिकको सामग्रीको आगमन पछि विस्थापित बनेका छन्। अन्यबेला भन्दा तिहारमा पनि माटोको भाडा खरिद गर्न उपभोक्ताहरूले नआए पछि कोहार जाति आफ्नो पेशा संकटमा पर्न थालेको भन्दै चिन्तित बन्न थालेका छन्।

स्वास्थ्यका हिसाबले पनि माटोका भाँडाकुँडा राम्रो हुन्छ तर उपभोत्ता प्लाष्टिकका सामान तर्फ नै आकर्षित भइरहेका छन्। पुर्ख्यैली पेशाले गुजारा चलाउन हम्मेहम्मे परेपछि कोहार जातिको पेशा संकटमा परेको छ। तराईमा माटोका भाँडाकुँडा बनाउने जाति कोहार हुन्। नेपालमै सबैभन्दा बढी कोहार जातिको बसोबास कपिलवस्तुमा छ।

कपिलवस्तु नगरपालिका ७ बस्ने रामगोपाल कोहार माटाको भाँडाकुँडा विक्रि नहुँदा आफूहरू समस्यामा परेको बताउछन्। यो वर्ष पनि तिहार लागि सक्दा बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, गमला र गाग्री लगायतका सामग्रीको मागै छैन। दुई-तीन वर्ष अघिसम्म माटोको दियो बेचेर राम्रो आम्दानी गरी  जनाको परिबार पाल्दै आएका सन्तराम कोहारले अब यो पेशाले थेग्न नसकिने बताए। उनले विद्युतीय र प्लाष्टिकको झिलीमीली बत्ती, मैनबत्तीको प्रचलन गाउँसम्म पुगेपछि अब पुर्ख्याैली पेशा छोडनुको बिकल्प नभएको बताए।

तीनचार वर्ष अघि सम्म तिहारको बेला माटोका भाँडाकुँडा बेचेर २० हजार बढी आम्दानी गर्ने गरेको यो बर्ष एक हजारको पनि ब्यापार गर्न नसकेको कोहार समुदायहरुको गुनासो छ। भाँडाकुँडा बेचर दिपावली मनाउने उनको सपना पनि चकनाचुर भएको गुनासो उनीहरूको छ। तिहारमा मात्रै एउटा दियाको १० देखि १५० रुपैयाँ सम्म बिक्री हुने गरेको उनीहरु बताउछन्। अन्य समयमा भने माटोको दियो बिक्री हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.