|

डडेल्धुरा : आलिताल गाउँपालिकामा जडान गरिएको सडक सौर्यबत्ती जडान गरेको ६ महिना नपुग्दै बिग्रिएर बन्द भएका छन्। आलिताल गाउँपालिकाले गत जेठमा जोडेको ३० वटा सडक सौर्यबत्तीमध्ये २६ वटा सडक ६ महिना नपुग्दै बिग्रिएका हुन्। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा आलिताल गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा कुल २९ लाखको लगानीमा सडक सौर्यबत्ती जडान गरेको थियो। जहाँ अहिले ३० वटा सडक सौर्यबत्तीमध्ये जम्मा ४ वटा पनि तीन/चार घण्टा मात्रै बल्ने गर्दछन्। 

बत्ती जडान गरेको जम्मा चार महिना हुन नपाउँदै बत्ती निष्कृय भएकोले पटक–पटक गुनासो गरिरहँदा पनि आलिताल गाउँपालिकाले आनाकानी गरिरहेको स्थानीय बासिन्दाको आरोप छ। 

सरकार र स्थानीय तहको लगानीमा जडान गरिएका सौर्यबत्ती बाल्न पाएको केही महिना नै बिग्रिदा जनातालाई ठग्ने काम भइरहेको स्थानीय पदमबहादुर डालाले बताए। ‘यसमा सरकार र स्थानीय तहको लगानी भयो भन्ने छ।’ उनले भने, ‘विकास गर्ने भनेर जनताबाट उठाएको करको पैसाले गरेको कामबाट जनतालाई सेवा नपाउँदै बिग्रिनु जनतालाई ठग्ने काम मात्रै भइरहेको छ।’ 

काम सम्पन्न भएपछि मात्रै रकम निकासा गर्नका लागि समिति गठन गरेको र आफूहरूलाई कुनै पनि जानकारी नभएको उपभोक्ता समितिका सदस्य खेमराज खत्री बताउँछन्। ‘सोलारबत्ती नबल्नुमा मुख्य दोषी गाउँपालिका र ४ का वडाअध्यक्षको पनि विशेष भूमिका छ।’

 उनले भने, ‘यसबारे उपभोक्ता समितिले पटक–पटक कुरा उठाए पनि हाम्रा कुरालाई बेवास्ता गरियो।’ 

आलिताल गाँउपालिकामा जम्मा ३० वटा सडक सौर्यबत्तीहरू जडान गरिएका र जसमध्ये १६ बत्ती गोदाम बजार र १४ बत्ती घरेलु बजारमा जडान गरिएका हुन्। सौर्यबत्ती जडानका लागि समिति गठन गरेको भए पनि काम संचालन गर्दा उपभोक्ता समितिसँग समन्वय नगरी बाहिरका व्यक्तिहरूले काम गरेको उपभोक्ता समितिका अध्यक्ष नेत्र श्रेष्ठले बताए। 

गाउँपालिका र ठेकेदारबीचको कमिशनको कारणले गुणस्तरहीन ब्याट्री प्रयोग भएको उपभोक्ता समितिका सचिवको दावी छ। सुरुमा उपभोक्ता समिति, गाउँपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँगको त्रिपक्षीय सम्झौता गरिएको भए पनि समन्वय नै नगरी काम अगाडि बढाएको उपभोक्ता समितिका सचिव पदमबहादुर थापा मगर बताउँछन्। 

के भन्छ गाउँपालिका?

गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पाण्डेयले भने सडक सौर्यबत्तीहरू बिग्रिएका र यसका लागि सम्बन्धित पक्षसँग कुरा भएको जानकारी दिए।  सायैबत्ती जडानमा गाउँपालिकाको ३० प्रतिशत म्याचिङ फण्ड रहेको समेत उनले बताए। 

गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले भने बजार क्षेत्रमा जडान गरेको ब्याट्रीमा समस्या आएपछि कम्पनीलाई ताकेता गर्दा प्राविधिक बाहिर गएकाले आउन नसकेको र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग दुई वर्षको वारेन्टी भएकाले उसले समस्याको सामाधान गर्ने बताए। 

बत्ती नबल्ने समस्याको समाधान गर्न गाउँपालिका लागिरहेको उनको भनाइ छ। उनले चाँडोभन्दा चाँडो कम्पनीबाट प्राविधिक आएर समस्याको समाधान हुने उनको दाबी छ। सडक सौर्यबत्तीहरू बिग्रिएर बल्न छोडेपछि आलिताल गाउँपालिकामा रहेका मुख्य गोदाम बजार र घरेलु बजारमा अन्धकार छाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.