|

भक्तपुर : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्र आपसी मेलमिलापको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरद्वारा नेपाल संवत् ११३९ न्हुँद, शुभदीपावली तथा छठ पर्वको अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले आन्तरिक झगडा र एकले अर्कोलाई सहयोग नगरेकै कारण विगतको निर्वाचन पराजय भोग्नु परेको बताउँदै पार्टीभित्र मेलमिलापको वातावरण आवश्यक भएको बताएका हुन्।

उनले कांग्रेसको सामू ठूलो चुनौती रहेको बताउँदै कार्यकर्ताहरूलाई हतास र निराश नबन्न आग्रह गरे। उनले भने, ‘हारबाट हतास हुने होइन, निराश बन्ने होइन, हारलाई जितमा परिणत गर्नका साथै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन जसले टिकट पाए पनि एक भएर चुनावमा लाग्ने शिक्षा र संस्कारको विकास गर्न जरुरी छ।’

उनले नेपाल संवतका प्रर्वतक शंखधर साख्वाको योगदानको चर्चा गर्दै भने ‘शंखधर साख्वाले नेपाली जनताको ऋण मोचन गरेर जुन कार्य गरे त्यो गरिबी निवारणको एउटा महत्वपूर्ण नमूना हो।’

भक्तपुर कला र संस्कृतिको धनी जिल्ला भएको बताउँदै उनले यहाँको प्यागोडा शैलीको मन्दिर र पुरानो शहरको स्वरूपले यसको महत्व थप वृद्धि गरेको बताए। सभापति देउवाले मठमन्दिरको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ भन्ने मान्यता कांग्रेसको रहेको बताए।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य सुरेन्द्र केसीले राप्रपा लोकतन्त्रको रक्षा र सम्वर्द्धनको पक्षमा सधैं लोकतान्त्रिक गठबन्धनको पक्षमा र कांग्रेसले चाल्ने लोकतान्त्रिक कदमको पक्षमा रहेने स्पष्ट पारे।

कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सचिवद्वय उद्धव सिलवाल र निशान ढुंगेल, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमली, प्रचार शाखा प्रमुख एवं स्मारिका प्रकाशन समितिका संयोजक केदार खड्का, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतका वक्ताहरूले कांग्रेसभित्र गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा सभापति देउवाले कांग्रेस भक्तपुरद्वारा प्रकाशित जय नेपाल भक्तपुर नामक स्मारिका विमोचन गरेका थिए। साथै स्मारिका प्रकाशनमा विशेष योगदान र सहयोग गर्नुहुने जिल्ला सदस्य राजनकाजी त्वाटी र नेपाली कांग्रेस भक्तपुर नगर १ का इकाइ सभापति पवन भुजुलाई सम्मान गरेको थियो। कार्यक्रममा श्री पद्म माध्यामिक विद्यालयका विद्यार्थीहरूले कुमारी नृत्यलगायतका सांस्कृतिक प्रस्तुत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.