समाज

मारुनी नाचको संरक्षणका लागि देउसी भैलो
SHARES

कात्तिक २२, २०७५

    अछाम : जिल्लाको रामारोशन गाउँपालिका ३ कालापानिका मगर युवाले मारुनी नाचको संरक्षणका लागी देउसी भैलो खेलेका छन्। मगर समुदायमा नाचिने मारुनी नाच पछिल्लो समयमा लोप हुन लागेको भन्दै यसको संरक्षणका लागी देउसी भैलो खेल्न लागेको मगर युवा धनबहादुर थापामगरले बताए। 

    रामारोशन गाउँपालिकादेखि पञ्चदेवल विनायक नगरपालिकाको विनायक बजारसम्म देउसी भैलो खेल्दै आएका उनीहरूले पौराणिक कथामा आधारित गीतहरूलाई मारुनीको भाकामा गाउँदै देउसी भैलो खेलिरहेका छन्। मगर युवा धनबहादुर थापा मगरका अनुसार देउसीभैलो खेलेर जम्मा भएको रकम पनि मारुनी नाचको संरक्षणका लागि खर्च गरिनेछ।

    जिल्लाको रामारोशन गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका, तुर्माखाद गाउँपालिका लगायतका क्षेत्रमा बसोबास गर्ने मगर समुदायले नाच्ने मारुनी नाच यस क्षेत्रमा निकै चर्चित तथा लोकप्रिय नाच हो। समुदायका विभिन्न शुभ कार्य न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवी देवताको आराधना गर्दै यो नाच नचाउने गरिन्छ। राम, सरस्वतीको आराधना गरेर गीत गाउने तथा मारुनी नचाउने गरिन्छ।

    पुरुषलाई महिलाको भेषमा सजाएर पौराणिक कथामा आधारित गीतका साथ मादलको तालमा नाचिने मारुनी नाच लोपोन्मुख अवस्थामा छ। मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुरसिङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन्। गायकमा एक गुरु हुन्छन् जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ। मारुनी नाचको मुख्य पात्र पुरुषलाई सिंगार पटार गरी महिलाको कपडा एवं गहना लगाइ दिइन्छ। मारुनी मादलेको अघि र पछि घुमेर नाच्छन्। नाचको पूरा अवधिसम्म एउटै मारुनीले मात्र नाच्छन्।

    पुरसिङ्गेले महिलाको कपडा लगाएको हुँदैन। यदी मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुरसिङ्गेलाई एक मादलेसँग नाच्ने जिम्मा दिइन्छ। पुरसिङ्गे एकपछि अर्को गर्दै नाच्न सक्छ। मादले कम्मरमा मादल भिरेर मारुनीसँगै नाच्छ। मारुनी नाच नेपालको परम्परागत नाच हो।

    पुरुषलाई महिलाको कपडा पहिराएर मारुनी बनाएर मादलको तालमा पुराना पौराणिक कथामा आधारित गीत गाएर नाचिने यो नाच नेपालका मगर, गुरुङ, तामाङ, लिम्बू जातिको मुख्य संस्कृति पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]