|

बाँके : देउसी भैलो खेलेर संकलन गरेको रकम पिकनिक खाने र घुमघाम गरेर सक्ने बाँकेका युवा र बाल क्लवले यस बर्षको दीपावलीमा देउसी भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाउने भएका छन्। नेपालगन्ज उपमहानगरपालिका १ मा गठन भएको बाल क्लव संजालले यस बर्ष देउसी भैलो खेलेर संकलन भएको रकमको २५ प्रतिशत बालबालिकाको शिक्षा, उद्धार, पुनस्र्थापना लगायतमा खर्च गर्ने भएको छ।

संकलन भएको रकमको २५ प्रतिशत रकम बालबालिकाको अधिकारका लागि अक्षयकोष स्थापना गरिने बाल क्लव संजालले जनाएको छ। मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा सहयोगी आवाज नामक संस्थाले लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जगाउन देउँसी भैलो खेलेको समितिका अध्यक्ष भीम ओलीले बताए। ‘तिहारको गीत मार्फत लागुऔषध विरुद्धको सचेतना जगाउने र संकलन भएको रकम सामाजिक कार्यमा लगाउने उद्देश्यले भैलो खेलेका छौँ,’ अध्यक्ष ओलीले भने। 

यसैबीच चिकित्सक, पत्रकार, मानवअधिकारकर्मीसहितको टोलीले निल सागर वृद्धाश्रमको सहयोगार्थ भैली खेलेकाे छ। बृद्धबृद्धाको स्याहार सुसार, औषधि उपचार, खानपानमा सहयोग गर्न भैलो खेलेको इन्सेकका भोला महतले बताए। कोहलपुर नगरपालिका १४ हवलदारपुरस्थित समाज सेवा संस्था नेपालले दृष्टिविहीनको सहयोगार्थ देउसी भैलो खेलिरहेको छ।

देउसी भैलो खेलेर संकलन भएको रकम दृष्टिविहीनको आर्थिक उपार्जनमा खर्च गरिने संस्थाका विनोद थापाले जानकारी दिए। ‘अघिल्ला वर्षका तिहारमा देउसी भैली खेलेर जम्मा गरेको रकम मनोरन्जन र खानपिनमा सकिन्थ्यो। यसवर्ष सामाजिक कार्यमा लगाउने भएका छौँ,’ उनले भने। 

देउसी भैलो खेलेर संकलन भएको रकम पिकनिक र खानपिनमा सकाउने प्रचलन बाँकेमा बढे पनि यस बर्ष सामाजिक कार्यमा लगाउनेको संख्या बढेको छ। यसले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। ‘भैलो खेलेर जम्मा गरेको जथाभावी सक्नुभन्दा सामाजिक र विकास निर्माणको काममा लगाउन अभियान चलाउनु राम्रो हो,’ बालअधिकारको क्षेत्रमा क्रियाशील शिद्धराज पनेरुले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.