|

जनकपुरधाम : अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेस तथा मिथिलाञ्चलवासीको महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधामसहित आसपासका जिल्लाहरूमा सुरु भएकोे छ।

तराई मधेसको मुख्य पर्वहरू मध्ये मिथिलानी महिलाहरूको विशेष कठोरताको पर्वको रूपमा रहेको छठको तयारी जनकपुरधामसहित तराई मधेसको जिल्लाहरूमा सुरु भएको हो। नियम निष्ठा र विधिपूर्वक मनाइने साझा सांस्कृतिको रूपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरूको जोहो र किनमेल गर्न सर्वसाधारण अहिले व्यस्त छन्। बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त रहेका देखिएका छन्।

मुख्यतः सन्तान प्राप्ती, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगा, धनुष, अंगराज, महराज, अग्नीकुण्ड, रत्नसागर, बाल्मीकि सागर लगायतका दर्जनौं पोखरी र सरोवरहरूलाई विभिन्न संघ संस्था र युवा क्लवहरूले सरसफाई गरी बिजुली, पण्डाल लगायतका व्यवस्था मिलाउन व्यस्त छन्।

चार दिन सम्म मनाइने सम्पूर्ण शक्तिको स्राेत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुने गर्दछ। छठपर्ब ब्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तुहरू अनिर्वाय रुपमा बार्ने चलन रहेको छ।

मधेसी समुदायका बीचमा मनाइँदै आएको यो महत्वपूर्ण छठ पर्व केही वर्ष यतादेखि यहाँका पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ। प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै नेपाली समुदायका महिलाहरु समेत छठ पर्व मनाउन थालेको जनकपुरकी रिता लामा बताउँछिन्। उनले भनिन, ‘पहिले हामी मनाउँदैनथ्याै। तर विस्तारै देखासिकीको आधारमा हामीले पनि अब प्रत्येक वर्ष छठ मनाउँछौं। 

मिथिलाञ्चलको घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसंगै छठको लोक गीत गुञ्जि रहेको छ। दिपावलीको दिन देखि छठ गीत बजाउने क्रम पनि बढेको छ। तिहार र छठमा प्रयोग हुने सामग्रीमा समानताका कारणले दुवै पर्वको तयारी लगभग सँगसँगै सुरु भइसक्छ। हुन त विपन्नले भिक्षा मागेर पनि गर्छन् किनकी एक वर्ष छुटाउँदा पनि अर्को वर्ष दोब्बर पुजन सामग्री चढाउनै पर्ने धार्मिक मान्यता छ ।

जनकपुरधाम उप-महानगरपालिका १ पूलचोककी रामदेवी राम अर्को वर्ष गर्दा झैं झन्झटिलो हुने जाने भएकाले थोरथोर पैचौं लिएर भए पनि किनमेल सुरु गरेकी बताउँछिन् । उनले भनिन, ‘यस पटक नगर्दा अर्को वर्ष दोब्बर खर्च र धेरै मिहिनेत लाग्छ। त्यसैले जसरी भएपनि गर्छु तीन सन्तान एवं पतीका लागि यो पर्व गरिरहेकी उनले सबै सामग्री किन्न झन्डै १० हजार रुपैयाँ खर्च हुने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.