|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको प्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ। राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको विपक्षी डेमोक्र्याट पार्टीको आरोप छ। 

डेमोक्र्याट पार्टीबाट सिनेटमा प्रतिनिधित्व गर्ने नेता चक स्कमरले ट्वीट गर्दै लेखेका छन्, 'स्पष्टरूपमा राष्ट्रपतिले लुकाउनुपर्ने केही कुरा हुनुपर्छ।' ट्रम्प निर्वाचित भएको राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तक्षेपसम्बन्धी अनुसन्धानमा आफ्नो अनुकूल हुन वाधा पुर्‍याउने आशंकामा महान्यायाधिवक्तालाई हटाइएको आरोप धेरैले लगाएका छन्।

अमेरिकी अनुसन्धानबाट सन् २०१७ को मार्चमा सेसन्स अलग भएदेखि ट्रम्पले उनको आलोचना गर्दै आएका छन्। सेसन्ससँग असन्तुष्ट र त्रसित ट्रम्पले उनलाई जवरजस्ती राजीनामा गर्न लगाएको समाचारमा जनाइएको छ। राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन्।

आफ्नो राजीनामापत्रमा सेसन्सले लेखेका छन्, 'प्रिय राष्ट्रपति महोदय, तपाईँको आग्रहमा म आफ्नो पदबाट राजीनामा दिँदैछु।' मिति उल्लेख नभएको राजीनामा पत्रमा उनले सेवा गर्ने मौका दिएकोमा ट्रम्पलाई धन्यवाद दिन चाहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, 'सबैभन्दा महत्तवपूर्ण कुरा म महान्यायाधिवक्ता पदमा रहँदा हामीले विधिको शासन पुनःस्थापित गर्न सक्यौँ र त्यसलाई कायम गर्न सक्यौँ।'

सेसन्सले राजीनामा दिएपछि उनलाई राष्ट्रपति ट्रम्पले धन्यवाद दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'हामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उहाँको आगामी दिन अझ राम्रो होओस् भन्ने कामना गर्दछौँ।'

सेसन्सको ठाउँमा तत्कालका लागि उहाँका वरिष्ठ सहयोगी ’चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरलाई जिम्मेवारी दिइएको छ। सन् २०१६ को अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.