|

जनकपुरधाम : केरा उत्पादनको लागि तराई मधेश वा समग्र नेपालको भूमि राम्रो मानिए पनि छठ पर्व तथा अन्य चाडपर्वको समयमा बजारको माग पूरा गर्न भने विदेशमै भर पर्नु परेको छ। नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुनुका साथै तराई क्षेत्र केराका लागि उर्भर मानिए पनि केरा खेती प्राथमिकतामा नपर्दा केरा बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको हो। 

छठ पर्वमा अर्घका रूपमा केरा मुख्य मानिन्छ। छठमा केराको माग उच्च हुने तर उत्पादन भने घट्ने जनकपुरका फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष रुदल साहले बताए। मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष साहको भनाइ छ। उनका अनुसार अघिल्लो वर्ष आर्थिक वर्ष झण्डै ८० लाख बढीको केरा जनकपुर भित्र्याइएको थियो। तर यस वर्ष झण्डै ७२ लाख लाख बराबरको विभिन्न प्रजातिका केरा जनकपुरमा मगाइएको अध्यक्ष साहले जानकारी दिए। उनले भने, ‘यस वर्ष झण्डै १२ ट्रक केरा जनकपुरधामको लागि मगाइएको छ।' 

जनकपुरधाम गोपाल केरा (सिंगापुरी) नेपालको सप्तरी जिल्लास्थित भारदह तथा ईनर्वाबाट आयात गरिए पनि मालभोग केरा भारतको चम्पारणबाट मगाउने गरिएको फलफूल तथा करकारी व्यवसायी समितिका सचिव रवीन्द्र साहले जानकारी दिए। मलमासका कारण यो वर्षको छठ पर्व १५ दिनपछि सर्नु र सोभन्दा अगावै स्थानीय कृषकको केरा उत्पादन हुँदा केरा खेतमै खेर गएको उनले बताए।

छठ पर्व यस वर्ष १५ दिनपछि परेको हुनाले केराको उत्पादन भएर खेर जाँदा अघिल्लो वर्षहरूको तुलनामा यसवर्ष ७० प्रतिशतले महँगो भएको बताउँछन्। सचिव साहले भने, ‘यस वर्ष छठ पर्व ढिलो भएका कारण केराको उत्पादन अगावै हुँदा मूल्यवृद्धि भयो। यसभन्दा अघिल्लो वर्ष जनकपुरमा झण्डै २५ ट्रकभन्दा बढी केरा आएकोमा यसवर्ष १२ ट्रक केरा मात्र मगाइएको छ।’

एक ट्रक अर्थात १० चक्काको ट्रकमा केरामा १२०० घरी केरा आउँछ। यसरी प्रत्येक केराको घरीलाई ५०० आसपासको मूल्यमा विक्री गरिन्छ। नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन गरिन्छ। सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको व्यवसायीको भनाइ छ। भारतबाट आउने केरा सस्तो पर्छ। भारतले किसानको लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.