|

काठमाडौं : यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन शुक्रबार भाइटीका मनाइँदैछ। यो पर्व आरोग्य, ऐश्वर्य र दीर्घायु प्राप्तिको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई पञ्चरंगी वा सप्तरंगी टीका लगाउने परम्परा छ। 

यो पर्वलाई भ्रातृद्वितीया पनि भनिन्छ। संस्कृत भाषाको यो शब्द अपभ्रंश भई भाइटीका बनेको बताइन्छ। ‘भ्रातृ’ शब्दले दाजु र भाइ दुवैको प्रतिनिधित्व गर्छ। भारत र नेपालकै तराई क्षेत्रमा भरद्वितीया वा भइयादुज नामले मनाइन्छ। काठमाडौंको नेवार समुदायले मनाउने किजापूजामा पनि भाइ (दाजु)को पूजा नै हुन्छ। 

बिहान सबेरै उठी स्नान गरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्ने पर्व, भाइटीका। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तक (पृ.७२२\२३) अनुसार  यमुना नदीमा नुहाई यमको पूजा गर्दा यमलोक देख्नुपर्दैन भन्ने वचन पद्मपुराणमा पाइन्छ। यो पर्व नमनाउँदा पुराणले बताएका अन्य सबै धर्मकर्मको फल नष्ट हुने बताइएकाे पुराणविद् प्रियंवदा काफ्लेले बताइन्। 

स्कन्दपुराणमा दिदीबहिनी र दाजुभाइले यस दिन गर्नुपर्ने विधानबारे उल्लेख पाइन्छ। यस दिनका लागि दिदीबहिनीले दाजुभाइलाई निम्तो गर्ने वा नगरे पनि दाजुभाइ दिदीबहिनीको घर जाने उनीहरूले बनाएको भोजन गर्ने विधान छ।

पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि बताइएको छ। हिन्दु परम्परामा जन्मदिनमा दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्ने विधान छ। तर यस दिन दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवीको पूजा गर्छन्। सूर्यपुत्र यम (राज) र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा  छ।

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका लगाउने, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए। टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला अदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।

भाइटीकाको टीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। भाइटीका लगाउन मध्याह्न हुनुपर्ने भएकाले यो समय निकालिएको अध्यक्ष गौतमले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.