अर्थ

८० कराेडमा धाम बन्ने, ३० फिट अग्लाे गणेशकाे मूर्ति स्थापना गरिने
SHARES

कात्तिक २३, २०७५

    चितवन : भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई  ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ। 

    भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो। गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ। 

    यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताए। निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उनकाे भनाइ थियो। प्रदेश सरकारले यस आर्थिक वर्षमा  ८० लाख विनियोजन गरिसकेको छ। स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताए। 

    साना–साना योजनाबाट मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको र यसका करीब  ८० करोड लाग्ने अनुमान गरिएको छ। विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन्।

    गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ। ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडोमा कैलाश पर्वतको स्वरूप रहेको स्थानमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिने छ। मूर्तिसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ।

    दौडिन र साइकल चलाउन सकिने गरी तलाउको वरिपरि पाँच किलोमिटरको प्याराफिट बनाइने र त्यसमा आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिँदैछ। तलाउको छेउमा हात्ती, जरायोजस्ता जनावरका झुण्डका मूर्तिहरु पनि निर्माण गरिने छ। तलाउमा डुङ्गा सयरको व्यवस्था गरिने छ। यसअघि विसं २०६४ यता सो क्षेत्रमा रु ८० लाख खर्चेर दुई सभाहल, शौचालय, मठमन्दिर जीर्णाेद्वार गरिएको अध्यक्ष चुकेले बताए। 

    सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर छन्। गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने र धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीयस्थलसँग जोडेर एकीकृत विकास गर्ने समेत योजना रहेको उनकाे भनाइ थियो।

    गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिकस्थल हो। पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रूपमा गणेशस्थान स्थापित भएको स्थानीयवासीले बताए।

    भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले गणेशस्थान क्षेत्रलाई देवघाटपछिको दोस्रो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको बताइन। मुख्य शहरी क्षेत्रको कोलाहाल छलेर उक्त ठाउँमा पुगेपछि छुट्टै शान्तिको अनुभूति हुने गरी विकास गरिने उनकाे भनाइ थियो। गणेशस्थान क्षेत्र नारायणगढ र भरतपुरको निकट छ। गणेशस्थान नजिकै बागेश्वरी र देवघाट क्षेत्रसमेत छ। 

    उक्त समितिका अध्यक्ष चुकेले गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरी गरी सर्वसाधारणबाट सहयोग जुटाउन लागिएको बताए। महायज्ञबाट  २० करोड हाराहारी सङ्कलन हुने अपेक्षा गरिएको छ। यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]