|

काठमाडौंः रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन्।

आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर टीका लगाउने भएकाले मन्दिर परिसरमा भीड लागेको छ। हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ।

भाइटीकाको दिनमा दाजुभाई नहुने दिदी बहिनी र दिदी बहिनी नहुने दाजुभाई टिका थाप्न आउने हुँदा बिहानैदेखि मन्दिर खुला गरिएको हो। राजा प्रताप मल्लले बनाएको यो मन्दिर आज दिनभर नै खुला रहनेछ। आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले बि.स १७२७ मा उक्त पोखरी निर्माण गरेका थिए।

पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर परिसर बाहिर नै भाइटीका लगाइए छ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय अझै अन्यौलमा रहेको छ। भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै  भाइ टिका लगाउने व्यवस्था गरिएको हो। काठमाडौंको मुटुमा रहेको रानी पोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ।  अहिले रानीपोखरी पानी सुकेको खेत जस्तो उजाड देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.