|

  • काशीराम शर्मा

बाँके : अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुन्। नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्छन्। नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दशैँतिहारमा टीका लगाउँदै आएका छन्।

'यसपालि साइतको टीका लगाउन नपाइने भयो', उनले भने, 'यसपालि त टीका शुक्रबार परेकाले छ, १ बजे नमाज पढेर २ बजेतिर टीका लगाउन जान्छु ।' चुन्नाले नेपालगञ्ज–१, धम्बोझी निवासी पुनम सिंहको हातबाट टीका लगाउँदै आएका छन्।

'मैले जहिले पनि साइतकै टीका लगाएको छु', उनले भने, 'यसपालि शुक्रबार टीका परेकाले साइतमा लगाउन नपाइने भयो।' आफूलाई सेल र फिनी रोटी अति नै मनपर्ने बताउँदै उनले स्कूल पढ्दादेखि नै छिमेकी एकजना बाहुन बाजेको घरमा फिनी र सेलरोटी पाक्दा खान जाने गरेको विगत सम्झिए।

नेपालगञ्जको घरबारीटोल पहाडी समुदायको बाक्लो बसोबास रहेको बस्ती हो। त्यही बस्तीमा हुर्किएका चुन्नाले भने, 'छिमेकी भनेका हरेक समस्या पहिला काम लाग्ने मान्छे हुन्, आफन्त त पछि आइपुग्छन्। यही सोचका साथ म पनि छिमेकी साथीहरू दुवै समुदायको पर्वमा रमाउन थालेँ।'

स्कूल पढ्दा तिहारमा देउसी भैलो खेल्न जाने गरेको सम्झिँदै उनले भने, 'मुस्लिम समुदायको चाड बकरइदमा हिन्दू साथीहरूलाई बोलाएर खुवाउने गरेको छु।' चुन्नाले हिन्दू धर्मावलम्बीको चाडमा आफैँ खानपिन गर्छन्। दशैँमा रामबागमा रहेको शक्तिको घरमा गएर चुन्नाले टीका लगाए। 'तिहारमा धम्बोझीमा गएर टीका लगाउँछु', उनले भने।

'म हलाल गरेको मासु खान्छु, त्यो कुरा उहाँहरूले बुझ्नुभएको छ, म दशैँ र तिहारमा जाँदा दिदीबहिनीले हलाल गरेकै मासु ल्याउनुहुन्छ। कहिले सिङ्गै कुखुरा ल्याउनुहुन्छ। म आफैँ काट्छु र बनाउन लगाउँछु', चुन्नाले भने, 'हाम्रो परिवार मुस्लिम र हिन्दू दुवैको चाडमा रमाउने गर्छ।' हिन्दूहरुको पर्व भएकाले तिहारमा हिन्दू समुदायका मानिसको निधारमात्रै होइन, नेपालगञ्जमा मुस्लिम समुदायका व्यक्तिको निधारमा पनि सप्तरङ्गी टीका देख्न सकिन्छ।

नेपालगञ्ज एउटा सद्भाव र सभ्यता बोकेको शहर हो। चुन्नामात्रै होइन, नेपालगञ्जमा रक्षाबन्धन, दशैँतिहारमा टीका लगाउनेहरू धेरै छन्। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि रक्षाबन्धन, दशैँ र तिहारमा टीका लगाएर रमाउँदै आएका छन्। ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा गएर उनले त्यहाँका दिदीहरूसँग टीका लगाउने गरेका छन्।

हिन्दूहरुले दशैँको दुर्गा मूर्ति सेलाउन जाँदा मुस्लिम युवाले बाटोमा बसेर पानी बाँडेका थिए। ईदमा बिपीचोकमा मुस्लिम समुदायले सामूहिक नमाज पढेर बाहिर निस्किँदा हिन्दू युवाले पानी वितरण गरे। यो नेपालगञ्जको छुट्टै पहिचान हो। यहाँ हिन्दू, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन्।

यहाँको विशेषता के हो भने मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकर भनिएको स्वर सुनिन्छ। शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जायमान हुन्छ। हिन्दूहरू मन्दिर जाँदा मस्जिद भएर जानुपर्छ। मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरू भएर जानुपर्छ। हरेक दुई तीन सय मिटरको दूरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वार रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.