|
फाइल तस्बिर

  • निरु गौतम

बुटवल : नेपालमै पहिलोपटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ। देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरुले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो।

सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्नेलगायतका काम शुरु भइसकेको छ। उक्त कार्यक्रममा सहभागी हुने भिक्षुलाई निःशुल्क प्रवेश दिने र पवित्र धार्मिक कार्यमा सहभागी हुन चाहने अरु बौद्ध धर्मावलम्बीलाईसमेत आवतजावतमा सहज बनाउने निर्णय लुम्बिनी विकास कोषले गरेको छ। यही कात्तिक २८, २९ र ३० गते मायादेवी परिसरमा यो कार्यक्रम हुनेछ।

अखिल नेपाल भिक्षु महासङ्घ, अमेरिकन बुद्धिष्ट एशोसिएसन, थाइ बुद्ध विहार र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। कार्यक्रम व्यवस्थापनको जिम्मा लुम्बिनी विकास कोषले लिएको छ। मन्दिर परिसरमा घाँस काटेर सफा गरिएको छ। बत्ती र फूलमालाले सजाउन बाँकी रहेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए।

तीनदिने त्रिपिटक वाचन कार्यक्रममा १८ देशका ७०० भिक्षु, लामा, आनी तथा उपासक सहभागी हुनेछन्। कार्यक्रम गर्न ३५ लाख रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान छ। सहभागी भिक्षुको भोजन, आवास र यातायातको व्यवस्थापन भइसकेको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए। भारत बोधगयालगायतका बौद्ध क्षेत्रमा थुप्रै धार्मिक कार्यक्रम भए पनि लुम्बिनीमा यस्ता कार्यक्रम आयोजना हुन सकेका थिएनन्। पहिलो पटक यति ठूलो धार्मिक कार्यक्रम हुनेभएपछि यहाँका पर्यटन व्यवसायी खुशी छन्।

आयोजकका अनुसार पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाइ भिक्षुको नेतृत्वमा हुनेछ। भोजनपछि नेपाली भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन गरिनेछ। त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र कम्बोडियाका भिक्षुको नेतृत्वमा पाठ गरिनेछ। दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नुहुनेछ। यसपछि चिनियाँ तथा जापानी भिक्षुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ।

तेस्रोदिन त्रिपिटक पाठ वाचन थाइ भन्तेहरुको नेतृत्वमा हुनेछ। पछिको सत्रमा नेपाली अनागरिकहरु र आनीहरुले पाठको नेतृत्व लिनुहुनेछ। पाठ सकिएपछि सहभागी सबैको तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने आयोजकले बताएका छन्।

भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो। जसलाई सबै बौद्ध सम्प्रदाय (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि)ले मान्ने गर्छन्। यो बौद्ध धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो र यसमा भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरिनिर्वाण हुनुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको छ। यो ग्रन्थ पाली भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ। विनय पिटक, सुत्त पिटक र अपिधम्म पिटक गरी त्रिपिटक नामकरण गरिएको हो। अपि धम्म पिटक र सुत्तपिटक भगवन् बुद्धकै पालामा लेखिएको र विनयपिटक इशापूर्व दोस्रो शताब्दीमा राजा अशोकका पालामा लेखिएको मान्यता छ।

यस पटक लुम्बिनीमा तीन वटै पिटकसँगै भगवान् बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई पहिलो पटक धर्मदेशना गर्दा सुनाएका वसन्त जातक सूत्र र शाक्य र कोलीय राज्यहरुकाबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध अन्त्यका लागि देशना गरेका महासमय सूत्र पनि पाठ गर्ने कार्यक्रम छ। त्रिपिटक पाली, देवनागरी, थाइ भाषा र शैलीमा वाचन गरिनेछ। हरेक भाषाका गुरुले गरेको वाचनलाई आफ्नो शैलीमा पछ्याउँदै अलग अलग देशका बौद्ध गुरुले वाचन गर्ने कार्यक्रम संयोजक भिक्षु महास्थवीरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.