ब्लग

मादल र मखमलीबिनाको तिहार, युवासँगै बाहिरिएको रौनक
SHARES

कात्तिक २३, २०७५

    सुर्खेत : गाँउघरका आँगनदेखि करेसामा रंगिविरंगी मखमली र सयपत्रीहरू ढकमक्क फुल्थे। मादलको आवाज चार गाँउपारीबाट सुनिन्थ्यो। लाहुरेहरू रेडियो क्यासेट घन्काउँदै उकालो चढ्थे। घर घरमा कमेरो माटो लिपिन्थ्यो। तिहारको रौनक नै बेग्लै हुन्थ्यो। तर आजभोलि आधुनिकताको नाममा मादलको साटो लाउड स्पीकर बजिरहेका छन्।

    देउसी भैलोमा पनि लाउड स्पीकरको संगीतमा रम्दै गरेका युवा भेटिन्छन्। न तिनीहरूले भट्याउन जानेका हुन्छन् न त मादल बजाउन नै। अहिले देउसी भैलोमा पनि आधुनिकताले छपक्कै छोपेको छ। परम्परा जोगाउनभन्दा पनि अहिले त पैसा समाउन र साथीभाइसँग पिक्निकमा रमाउनलाई देउसी भैलो खेल्ने चलन बढेको छ। तर त्यतिमा मात्रै सीमित छैन देउसीभैलो।

    आजभालि देउसी-भैलो खेल्ने परम्परार संस्कृति जोगाउनभन्दा पनि केही पैसा संकलन गरेर कुनै काम गर्ने योजना बनाउने गरेको देखिन्छ। वीरेन्द्रनगर सुर्खेतमा नै एउटा ज्येष्ठ नागरिकहरूको देउसी भैलो टिमले स्थानीय मन्दिरको भौतिक पूर्वाधारको निर्माण गर्ने र परम्परा जोगाई राख्नका लागि देउसी-भैलो खेलेको ७९ वर्षे गंगा बहादुर ढकालले बताउँछन्। ‘हामीले राधाकृष्ण मन्दिरको भौतिक संरचना निर्माण गर्नका लागि मादल बोकेर भैलो खेल्न हिडेका छौँ’ उनी अगाडि थप्छन् ‘बूढापाकाको पुरानो भैलो हो।’

    वीरेन्द्रनगर ७ का चुडामणी वाग्लेले आफ्नो रीतिथिती, परम्परा र संस्कृतिको मौलिकताको संरक्षण गर्न र बचाउनको लागि मादल बोकेर देउसी-भैली खेल्न हिडेको बताए। ‘अहिले पहिलेको जस्तो आफ्नोपन हुने खालको देउसी भैलो नै छैन, उफर र डेगमा नाच्छन्’ उनले भने ’तर हामीले पुरानो संस्कृति र परम्पराको संरक्षणका लागि मादल बोकेर भैली खेल्न हिडेको छौँ।' अहिलेको नयाँ पिढीले पनि संस्कृतिलाई बचाउनका लागि लाग्न उनले आग्रह गरे।

    सयपत्रीको ठाउँ लिँदै प्लास्टिक

    सयपत्री र मलमलीको ठाउँमा प्लास्टिकका मालाले स्थान लिएका छन्। पछिल्लो समय बदलिँदै गएको तिहारले सामाजिक एकता र मौलिक संस्कृति अनि परम्परामाथि आधुनिकता नामको अर्कै संस्कृतिले धावा बोलिरहेका छन्।

    आधुनिकतासँगै गाउँघरमा मखमली पनि फुल्न छोडेको छ। आँगनमै उत्पादन हुने मखमली र सयपत्रीको मालामा भन्दा शहरमा पाइने कृत्रिम मालातर्फ मानिसहरू आकर्षित हुन थालेका छन्। नेपाली समाज मालामा पनि परनिर्भरतर्फ उन्मुख भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी नीता शाहीले प्रायः तिहारका समान बजारबाटै किनमेल गरेकी छन्।

    शाहीले पनि प्लास्टिकका माला नै किनेकी छन्। 'भएसम्म त टीकाका लागि सकेसम्म मखमली र सयपत्री फूल प्रयोग गर्ने सोच भए पनि मखमली र सयपत्री पाइन्छ की पाइन्न भन्ने चिन्ताले पलास्टिकका माला किनेकी हुँ' शाहीले आफ्नो बाध्यता सुनाइन्।

    अर्काको देखासिखी र महत्व नबुझेकै कारण तिहारमा सयपत्री, मखमली फूल फुल्न छोडेको छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो रहन्छ भन्ने पौराणिक कथन पनि अब पलास्टिकमा विलय हुने खतरा बढेको छ।

    गाउँमा तिहारको महत्व पनि घट्न थालेको आभाष हुँदैछ। तिहारमा दाजुभाइ र छरछिमेकीमा देखिने एकता र सद्भाव विस्तारै कम हुँदै गएको छ। दलीय राजनीतिक विकृति, गाउँमा युवाको कमीका कारण तिहारको सद्भाव हराउन थालेको देखिन्छ। आजभोलि युवाहरूको लाम खाडी तिर छ। गाँउघरमा रमाइलो र रौनक ल्याउने पिँढी पराइदेशमा कुल्ली काम गर्दैछन्। अनि रौनक पनि आयोस कसरी?

धर्मराज जिसी

जिसी थाहाखबरका सुर्खेत संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]