|

सुनसरी : सुनसरी सदरमुकाम इनरुवामा चाडपर्वका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम गर्ने प्रतिस्पर्धा चलेको छ। दशैँ, तिहार र छठपर्वको अवसर पारेर इनरुवाका विभिन्न वडामा स्थानीय अगुवा युवाले सांस्कृतिक माहोल तताउन थालेका हुन्।

राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुलाई इनरुवासम्म ल्याएर दशैँको सप्तमीका दिनदेखि नै इनरुवामा सांस्कृतिक कार्यक्रम हुने क्रम बढेको स्थानीय चन्दन मेहताले बताए। कहिले इनरुवा–३ सखुवागाछीमा, कहिले महेन्द्र चोक, कहिले इनरुवा–२ मा रहेको क्लासिक होटल नजिक, कहिले जिल्ला समन्वय समिति सडकमा त कहिलो भूमिसुधार कार्यालयको अगाडि सांस्कृतिक कार्यक्रम हुने गरेको छ।

युवाको सक्रियतामा ठूला चाडपर्व लक्षित गरेर आयोजना हुने सांस्कृतिक साँझहरू रमाइलोका साथै आपसी खुशीयाली साटासाट गर्ने साझा थलो हुने गरेको इनरुवाका युवा पत्रकार वीरेन्द्र मेहताले बताए।

गएराति मात्र सुनसरी सदरमुकाम इनरुवा–२ भूमि सुधार कार्यालयको अगाडि १२औँ सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो। मैथली तथा नेपाली समुदायका कलाकारको सक्रिय सहभागितामा सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको स्थानीय चुना निरौलाले बताए। यसैबीच चाडपर्वको बेला सुनसरीका विभिन्न ठाउँमा जुवा खेल भइरहेको  स्थानीयवासीले बताएका छन्।

नेपालीको दोस्रो ठूलो चाड तिहार र दीपावली पर्वमा मनोरञ्जनको नाममा जिल्लाका विभिन्न ठाउँमा जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ। स्थानीयस्तरमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा डाइस, फ्लास, कौडा, म्यारिजलगायतका जुवा खेल भइरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्लाको इनरुवा, इटहरी, धरान, हरिपुर, श्रीपुर, नरसिंह, भोक्राहा, देवानगञ्ज, हरिनगरा, दुहवी, रामधुनी, बराहक्षेत्रलगायत क्षेत्रमा जुवाजन्य खेल भइरहेको प्रत्यक्षदर्शीको भनाइ छ। प्रहरीले देखाउनका लागि अपवादमा एक दुईजनालाई नियन्त्रणमा लिएको भए पनि ठूलाबडालाई छुट दिने गरेका कारण जुवाजन्य खेल भइरहेको स्थानीयवासीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.