|

जनकपुरधाम : तराई मधेशका जिल्लाहरुमा मनाइने छठ पर्व मधेशी तथा पहाडी समुदायको प्रेम र सद्भावको साझा पर्वका रुपमा विकसित हुँदै गएको छ। मधेशका जिल्लाहरुमा मनाइने गरिएको पर्व राजधानी काठमाण्डौं तथा पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरुमा समेत धुमधामसँग मनाउन थालिएपछि यो पर्व धार्मिक सद्भावका रुपमा स्थापित हुँदै सबैको साझा पर्व हुँदै गएको हो।

विशेषगरी पूर्वीका मधेशका समुदायले मात्र अंगालिरहेको छठपर्व हाल आएर पहाडी, नेवार, जनजाति यहाँसम्मकी मुस्लिम समुदाय लगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ। आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व आइतबारदेखि सुरु भई बुधबार सम्पन्न हुँदै छ। मुख्यतः मंगलबार अस्ताउँदो सूर्य र बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत सम्पन्न हुने छठको पूजाका लागि घर–घरमा विशेष तयारीसमेत थालिएको छ।

मूलघर ओखलढुङ्गा भई हाल जनकपुरधाममा बसोबास गर्दै आएको मनिका खतिवडा छठ विगत ६ वर्षयता छठ मनाउँदै आएकी छिन्। जिल्लाका विभिन्न जातजातिहरुले समेत यो पर्व मनाउहरुको संख्यामा ह्वात्तै बढोत्तरी भएको प्रदेशसभा सांसद तथा सेभ द हिस्टोरिकल गंगा सागर सरसफाई अभियानका रामअशिष यादव बताउँछन्। जिल्लाको पूर्वी भेगमा कमला नदीसँगै रहेको जनकनन्दनी गाउँपालिकाको खजूरीमा पहाडे र मधेशी समुदायको मिश्रित बसोबास रहेको स्थानहरुमा समेत छठ पर्व मनाउनेको संख्या हरेक वर्ष बृद्धि हुँदै गएको छ।

महोत्तरी बर्दिबास नगरपालिकाकी नेवार समुदायकी विमला मोक्तानले विगत ४ वर्ष अघिदेखि छठ पर्व मनाउँदै आएको बताइन्। पुर्ख्यौली काभ्रे घर भएकी मोक्तान छठ पर्वको बारेमा सुने पनि पर्व मनाउने तर्फ पहिले कुनै चासो नदिएकी उनले मधेसी, पहाडीसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाइलो लाग्ने गरेको बताइन्। विभिन्न जातजातिहरुले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदान प्रदान समेत हुने उनी बताउँछिन्। छठ पर्व आफ्नो पूरै परिवार र छिमेकीहरुसित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाइन्।

यस्तै महोत्तरी गौशाला नगरपालिका वडा नं. १ की कोपिला भारती विगत ७ वर्षदेखि छठ पर्व मनाउँदै आएकी र अब छठ पर्व नगरी नहुने जस्तो लोकप्रिय बन्दै गएको बताए। विशेष हर्ष–उल्लास, परिवार, मित्रहरु, आफन्तजनसँग भेटघाटको अवसरका रुपमा समेत यो पर्व बन्दै गएको उनी बताउँछन्। धनी, गरिब, हिन्दू, मुस्लिम, महिला–पुरुष, पहाडी मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ।

पटक–पटक मधेसमा आन्दोलनका क्रममा मधेसी र पहाडीबीच बढेको दुरी कम गर्न समेत यो चाडले योगदान दिने वरिष्ठ पत्रकार विष्णुमणि खनाल बताउँछन्। उनले भने, ‘जातीय, वर्गीय, मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न मद्दत मिल्छ। पूर्वीय संस्कृति माथि बिस्तारै पाश्चात्यको पकड बढिरहेको बेला यो पर्वको व्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको झन् महत्व बढदै गएको बुझिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.