‘भारतले नेपाल खानेभयो, गंभीर षडयन्त्र हुँदैछ।’ नेपालको यो मनोआतंक होस् अथवा भारतको प्रायोजित खेल, यसको कुनै अर्थ छैन। भारतले कुनै हालतमा पनि नेपाल खान सक्दैन। किनभने आजको नेपाल सन १९७५ को सिक्किम होइन। उसै पनि सिक्किम भारतको संरक्षित राज्य थियो। तर नेपाल, भारत नहुँदा पनि थियो। भारत भइरहँदा पनि नेपाल छ। भविष्यमा भारत अहिलेको जस्तो नहोला, तर हिमवत्खण्डको परिचय लिएर नेपाल सधैंभरि जिवित रहिरहनेछ।
हामी कहिल्यै पराजित भएनौं। त्यसैले ‘महाभारत’ महाकाव्यमा नेपालको नाम एउटा स्वतन्त्र राज्यका रुपमा लिइएको छ। तर शीर्षकमा बाहेक कतै भारत नामको राज्य महाभारतमा छैन। भारतका रजौटाहरू कहिल्यै एक भएनन्। त्यसैले तिनीहरू पहिले आर्यहरूबाट पराजित भए। त्यसपछि मुसलमानहरूले भारत जिते। तेश्रो पटक बेलायतको इष्ट इण्डिया कम्पनीद्वारा पराजित भए। त्यही इस्ट इण्डिया कम्पनीमार्फत बेलायती उपनिवेशवादले २०० वर्षभन्दा लामो समयसम्म भारतमाथि प्रत्यक्ष शासन गर्यो। अनौठो लाग्ला धेरैलाई, तर अहिले पनि भारत, बेलायतको अघोषित उपनिवेशकै रुपमा बाँचिरहेको छ।
म केही उदाहरण पस्किन चाहन्छु। एउटा हो राष्ट्र अथवा राष्ट्रिय गान। भारतमा दुईटा राष्ट्रिय गान छन्। एउटालाई राष्ट्रिय र अर्कोलाई राष्ट्र गान भनिन्छ। त्यसमध्ये एउटा हो– जन, गण, मन हे भारत भाग्य विधाता...। यो गाना बेलायती उपनिवेशका महाराजा जर्ज पञ्चमको स्तुति हो। हाम्रो ‘प्रचण्ड प्रतापी भूपति’ जस्तो। अर्को चाहिँ सायद ‘वन्दे मातरम्’ होला! ‘स्वाधीन’ भएको सत्तरी वर्षमा पनि भारतले यो स्तुती फेर्न सकेको छैन। तर हामी प्रचण्ड प्रतापी भूपतिको ठाउँमा ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ नेपालीको समानताको गीत गाउने ठाउँमा उभिन आइपुगेका छौं।
दोश्रो विश्वयुद्धले बेलायती उपनिवेशवादलाई चोइटिन थाल्यो। बाठो बेलायतले त्यसपछि एउटा नयाँ खेल खेल्यो। त्यो खेल थियो – ‘स्वाधीन’ भनिएका उपनिवेशको एउटा संगठन बनाउने र त्यसको टाउकोमा बेलायती सिंहासन राख्ने। त्यसलाई राष्ट्रमण्डल भनियो। भारत पनि त्यो राष्ट्रमण्डलको एउटा सदस्य हो।
बेलायतले आफ्नो कुनै पनि उपनिवेशमा दूतावास खोलेन। सबै मुलुकमा हाई कमिशन खोल्यो। बेलायतले नेपालमा दूतावास खोल्यो। तर भारतमा चाहिं हाई कमिशन! किन? किनभने, नेपालको इतिहास सदैव स्वतन्त्र थियो, छ र रहिरहनेछ भन्ने बेलायतको टुंगो हो। बेलायतलाई यो टुंगोमा पुर्याउने भनेको नेपालका गोर्खा सैनिक हुन्। गोर्खा रेजिमेण्ट हुँदैन थियो भने बेलायत जर्मनीको अधिनमा गैसक्थ्यो।
त्यसैले भारत ‘राष्ट्रमण्डल’ को सदस्य रहेसम्म, भारतको राष्ट्र/राष्ट्रिय ‘गान जन, गण मन’ रहेसम्म, भारतले हाम्रो मुलुकमाथि आक्रमण गर्ने नैतिक साहस राख्न सक्दैन। त्यो आक्रमण सिधै बेलायतको गद्दीसँग जोडिन्छ। त्यसैले भारतले अहिलेसम्म नेपालको लाम्टा चोक्टा मात्र लुछेको हो। पूर्वको सिमानको चिहान चौतारी, भद्रपुर पूर्वको जंगेपिलरदेखि पश्चिमतिरको दुई किलोमिटर लामो भूमि, नारायणीसँग जोडिएको बेतिया, नेपालका राजालाई रिझाएर कब्जा गरेको लिम्पियाधुरादेखि काली खोल्सीसम्मको भूभाग, सुस्ता र कंचनपुुरमा प्रतिरोध संघर्ष भैरहेको ठाउँमा पनि जमिन चोरचार गरिहन सक्छ। तर नेपालमा स्थलयुद्ध गर्ने आँट भारतले कहिल्यै गर्न सक्दैन।
नेपालीले विश्लेषण गर्ने हो भने एउटा सहज निष्कर्ष निकाल्न सकिन्छ। युद्धका औजारहरू बाहेक नेपाल, भारतभन्दा सबै क्षेत्रमा अगाडि छ। भारत नेपालभन्दा गरीब राष्ट्र हो। नेपालभन्दा भारत धनी भएको भए, प्रदेश नंबर २ मा किन हजारौं हजार भारतीयले नेपाली नागरिकता लिन्थे? धनी मुलुक छोडर, हजारौं हजार मान्छे गरीब मुलुकको नागरिकता लिन किन यता आउँथे? भारतमा धनी र गरीबबीचको खाडल अरब सागर भन्दा गहिरो छ। भारतीय शासन प्रणालीका कारण त्यहाँका धनी झनझन धनी हुँदै जाँदा छन् र गरीब झनझन गरीब हुँदै जाँदा छन्। असमानताको यो खाडल एक या दुई शताब्दीमा भरिने कुनै संभावना देखिएको छैन। कम्युनिस्ट, कांग्रेस, समाजवादी पार्टीलाई तिरस्कार गरेर एउटा उग्रहिन्दुवादी पार्टीलाई त्यत्तिकै उग्र समर्थन दिएर पाँच चौथाईको समर्थन दिने मतदाता छन् त्यहाँ। वर्षेनि राज्यबाट ठगिएका किसानहरू आत्महत्या गरिरहेका छन् त्यहाँ। वामपन्थी पत्रकार र लेखकको बाँच्ने अधिकार कुण्ठित गरिएको छ त्यहाँ। हाम्रोभन्दा राम्रो के छ भारतमा? परिवर्तनको चाहना पनि छैन।
त्यसैले नेपाली हो आफ्नो मुलुकलाई चिनौं। निम्छरो भए नेपाल पनि हार्छ। पुर्खाहरूको पौरख जोगाएर राख्ने साहस गर्ने हो भने नेपाललाई कसैले पराजित गर्न सक्दैन। बेलायतले पराजित गर्न नसकेको नेपाललाई, भारतले कसरी पराजित गर्न सक्छ। अहिले पनि भारतमा नेपाली पौरखका खम्बाहरू उभिएका छन्। मेघालयको राजधानी शिलोंग शहर नेपालीले स्थापना गरेको हो। गंगोत्तरीको मन्दीर जनरल अमरसिंह थापाले बनाएका हुन्। किल्ला कांगडा त त्यसै पनि बहुप्रचारित स्थान हो जहाँ अंग्रेजहरूले पनि नेपाली वीरताको सम्मान गरेका छन्। पूर्वमा दामोदर पाण्डेको सेनाले टिष्टा नदीमा खाँडो पखालेकै हुन्।
इतिहासको कुरा एकछिनका लागि बिर्सौ। अहिले पनि नेपालीहरूले नै भारतलाई बचाएका छन्। भारतबाट गोर्खा सैन्यलाई हटाइदिने हो भने कस्मिरमा पाकिस्तानले कहिल्यै हार्नु पर्दैन।
अहिलेका नब्बे प्रतिशत नेपाली वुद्धिजिवीहरूसँग नेपालको वास्तविक इतिहासको ज्ञान छैन। रोटी र बेटी भन्ने शब्दको धेरै प्रयोग हुन्छ नेपाल-भारतबीचको संबन्धमा। यो रोटी बेटी भारतसँग मात्र होइन, तिब्बतसँग पनि छ। मैले भृकुटीको कुरा गर्न खोजेको होइन। अहिले पनि नेपालको हिमाली जिल्ला र चीनको तिब्बतका नागरिकबीच रोटीबेटीकै संबन्ध छ। झापा, इलाम, पाँचथर र ताप्लेजुङको रोटी बेटीको संबन्ध दार्जिलिङ र सिक्किमसँग छँदैछ। बिहार र उत्तरप्रदेशसँगको संबन्ध चाहिँ रोटीबेटीको हुने अनि तिब्बत र नेपालका हिमाली जिल्ला अनि दार्जिलिङ र इलामबीचको संबन्ध चाहिँ नहुने कुनै विशेष प्रयोजन त नहोला!
अहिले पनि स्वाभिमानले नै नेपाललाई बचाउने हो। धनी बनाउने हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।