|

जनकपुरधाम : महोत्तरीको गौशाला बजार चौतर्फी फड्को मारेको छ। एक दशकपछि पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग कालोपत्र सडकले जोडिएको गौशालामा एक दर्जनभन्दा बढी बैंकहरूको शाखा विस्तार गरेका छन्।

तत्कालीन माओवादीको नेतृत्वमा भएको १२ वर्षे सशस्त्र जनयुद्ध र मधेसको सशस्त्र द्वन्द्वका कारण विकास ठप्प भएको गौशालामा कालोपत्रे सडकबाट पूर्व-पश्चिम राजमार्ग जोडिनुको साथै, वित्तीय संस्था, उच्च शिक्षासँगै निर्वाचित जनप्रतिनिधिले नगरको मुकाम गौशला बनाएपछि गौशला गुल्जार बनेको छ। स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसँगै स्थानीय तहका जनप्रतिनिधिहरू विकासमा सक्रिय भएपछि यहाँको चौतर्फी विकासमा पछिल्लो समय गति लिँदै गएको हो। पुस्तौँदेखि कालोपत्रे सडक बन्ने आँखा भिजाएर बसेका यहाँका जनतालाई यसवर्ष कालोपत्रे सडकको स्वाद पाएका छन्।

कालेपत्रेले आवतजातमा सहज हुनुको साथै व्यापारीका लागि लगानीको बाटो खुलेको छ। कालोपत्रे भएसँगै गौशाला बजारदेखि पूर्व पश्चिम-राजमार्ग जोड्ने सडक कच्ची हुँदा १ घण्टा पुग्न लाग्ने सडक अहिले कालोपत्रे हुँदा १५ मिनेट पार गर्न सकिने भएको छ। यसरी कालोपत्रे भएसंगै समय र पैसाको बचत भएपछि पूर्व-पश्चिम राजमार्ग क्षेत्र र छिमेकी जिल्ला सिन्धुलीबाट किनबेच गर्नेको संख्यामा बढोत्तरी भएपछि यहाँको व्यापार व्यवसाय ह्वात्तै बढेको गौशाला बजारमा विजुली पसल सञ्चालन गर्दै आएका लालकिशोर महतोको भनाई छ। उनले भने, ‘जनयुद्धकालमा यहाँको एक मात्र कृषि विकास बैंक लुटिएपछि असुरक्षाका कारण बजार व्यवसाय ठप्प थियो, तर अहिले सडक, सञ्चार, विद्युतसँगै चौतर्फी विकास हुन थालेपछि यहाँको व्यापार व्यवसायले फड्को मार्न थालेको छ।’

गौशाला र यस क्षेत्रका आम नागरिकलाई बैंकिङ सुविधाका लागि महोत्तरी सदरमुकाम जलेश्वर, बर्दिबास तथा जनकपुर धाउनुपर्ने बाध्यताबाट हाल मुक्त हुँदै गौशालामा बजारमा सरकारी तथा निजी गरी जम्मा ९ वटा बैंकका शाखाहरू स्थापना भएपछि टाढा जानुपर्ने बाध्यता हटेको छ। जसमध्ये यहाँ सरकारीमा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड तथा निजीमा सेन्चुरी,सहयोगी विकास, सिद्धार्थ र सिटिजन्स लगायतका बैंकहरू स्थापना हुँदा कारोबारमा सहज सेवा उपलब्ध भएको गौशाला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वीरेन्द्रकुमार साहले बताए। 

पहिले स-साना सरसामान किन्न समेत पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास तथा राजधानी जनकपुरधाम जानुपर्ने बाध्यताबाट अहिले छुटकारा मिलेको छ। प्रायः हरेक सरसामान अहिले यहाँकै बजारमा उपलब्ध हुने भएकोले बाहिर जानुपर्ने बाध्यताबाट छुटकारा मिलेको गौशालास्थित माँ पंचधुरा अटो मोबाइलसका सञ्चालक सरोजकुमार सिंहले बताए।

यसरी मधेस आन्दोलनको क्रममा यहाँका पहाडी समुदायका कतिपय व्यक्तिहरू सदाका लागि विस्थापित भए पनि कतिपय पुनःस्थापित हुँदै गएको छ। यहाँको विकासमा पहाडे समुदायका व्यक्तिहरूको उल्लेखनीय योगदान रहकोले मधेसी र पहाडी समुदायको मिश्रित बसोबासमा विकासले बढी गति लिने गौशाला नगरपालिकाका १ का वडा अध्यक्ष भीमबहादुर रानाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.