|

जनकपुरधाम : समयमै उखुको भुक्तानी नपाउँदा महोत्तरीका किसानहरू उखु पेलेर सख्खर बनाउन लागि परेका छन्। छठ पर्वको बेला मिठा (सख्खर) बाट बनाइएको परिकार मात्र प्रसादको रुपमा चढाइने भएकाले माग बढेपछि उखु किसानहरू सख्खर बनाउन लागि परेका हुन्।

छठ पर्वको एक महिना अगावैदेखि बजारमा मिठाको माग बढेसँगै राम्रो मूल्य पाउन थालेपछि उखु उत्पादक कृषकहरू सख्खर बनाएर बेच्नेतर्फ आकर्षित हुँदै गएको हो। छठको आवगमनसँगै यतिबेला उखुबाट सख्खर बनाई बिक्री गर्न किसानलाई भ्याई-नभ्याई छ। स्थानीय जातका उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको बढ्दो लोकप्रियताले स्थानीयलाई माग धान्न समेत मुस्किल पर्ने गरेको महोत्तरी गौशाला नगरपालिका ४ सूर्ती विकास चोकका मिठा उत्पादक उपेन्द्र साह बताउँछन्। उनी भन्छन्, ‘छठ पर्वमा घरघरमा सख्खरको आवश्यकता पर्छ त्यही भएर वर्षकै सबैभन्दा उच्च माग यही बेला भएकोले माग उच्च भएको हो।’

छठमा ठेकुवा, भुसुवा, खिर लगायतका सामग्रीहरू उखुवाट सख्खर नै बनाउने गरिएका कारण माग बढ्न गई उत्पादन गरी बिक्री वितरण गर्न किसानलाई भ्याई-नभ्याइ भएको अर्का मिठा उत्पादन महोत्तरीको गौशाला नगरपालिका ११ कालिपुर लक्ष्मी महतो बताउँछन्। उनी भन्छन्, ‘उखु उत्पादन गरेर काट्ने बेलामा चिनी मिलले न उखु काट्ने पुर्जी दिन्छ। न त समयमै उखुको भुक्तानी दिन्छ। त्यही भएर यस वर्ष उखु पेलेर सख्खर बनाएर बेच्न थालेको छु।’ 

अहिले १ क्विन्टल सख्खर बनाउने झण्डै १२ देखि १४ क्विन्टल उखु चाहिन्छ। यसरी उखुको जात अनुसार उखुको तौलमा घटबढ हुने तथा उखु कलिलो भएका कारण बढी उखु लाग्ने गरेको सख्खर कारिगर मो. जुमराती अन्सारीले जानकारी दिए। उनले भने, '९ क्विन्टल छिप्पिएको उखुमा एक क्विन्टल सख्खर तयार हुन्छ। तर अहिले उखु कलिलो भएर झण्डै १४ क्विन्टल उखुमा १ क्विन्टल मिठा तयार हुन्छ।’

यसरी सामान्य रुपमा झण्डै ६० रुपैयाँको हाराहारीमा खुद्रा मूल्यमा विक्री वितरण भए पनि अहिले छठमा मिठाका माग बढ्दा मूल्यबृद्धि भई ८० रुपैयाँ पुगेको किसानहरू बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.