पति मानसिक रोगी, छोरालाई पोलियो

|

लहान : सप्तरीको बोदे बर्साइन नगरपालिका २ नेगडाकी करिब ३५ वर्षीया ललकुदेवी आर्थिक अभावमा उपचार गराउन नसकेपछि आर्थिक सहयोगको याचना गरेकी छन्। पछिल्लो केही वर्षदेखि अल्सर, जण्डिस र बाबासिरको व्यथाले पिरोलएकी पासवानले गरिबीका कारण बिहान बेलुकाको छाक टार्न धौ धौ परिरहेका बेला उपचार गराउन नसकेपछि सहयोगको याचना गरेकी हुन्। 

रोगले च्यापेपछि पछिल्लो तीन वर्षदेखि ऋण, सापटी, गाउँमा चन्दा संकलन गरेर लहान, विराटनगर तथा छिमेकी भारतको दरभङ्गा लगायतका ठाउँहरूमा उपचार गराएको भएपनि निको नहुँदा थप कष्ट झेल्नु परेको उनले बताइन्। ‘झुपडी बाहेक बेचविखन गर्ने केही नभएकाले गाउँले तथा आफन्तसँग ऋण लिएर उपचार गराएँ। तर निको भएन। अहिले रोग बल्झिएर अप्ठ्यारोमा छु’ उनले भनिन्, ‘धरानस्थित वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पाँच लाख रुपैयाँ लाग्छ भनेपछि त्यतिकै घर फर्कियौं।’

पति मानसिक रोगी, छोरालाई पोलियो 

आर्थिक अभावले आफ्नै उपचार नहुँदा कष्ट झेलिरेहेकी ललकुदेवी पति धर्मलाल पासवानले मानसिक सन्तुलन गुमाउँदा थप पीडामा परेकी छन्। उनले त्यही कारणले १० कक्षामा पढ्दै गरेका जेठा छोरा बिक्रमले बीचमै पढाई रोकिएको गुनासो गरिन्। ‘म स्वयम् बिरामी, पति मानसिक रोगले थलिएका र कान्छो छोरा पनि पोेलियो लागेर अशक्त रहेकाले बिहान बेलुका चुलो बाल्न पनि संकट पर्न थालेपछि कसरी उपचार गर्नु ?' उनले दुःखेसो गरिन्। 

‘आर्थिक अभावले १० कक्षा पढ्दा पढ्दै छोड्न बाध्य भएँ' छोरा बिक्रमले भने, ‘पढेर शिक्षक बन्ने सपना चकनाचुर भयो।’ बाबु आमाको स्वास्थ्य अवस्था दिनहुँ बिग्रिंदै गएकाले उपचार गराउन कुनै उपाय नभएपछि बाध्य भएर पढाई छोडेको उनले बताए। ‘आमाको उपचार गराउन आफन्तबाट लिएको ऋण दुई लाख रुपैयाँ नाघिसक्यो। तिर्ने कुनै उपाय छैन। कसरी पढ्ने?’ 

नगरले गरेन सहयोग 

आर्थिक अभावमा उपचारका लागि समस्या भएपछि घरबाट चार किलोमिटरको दूरीमा रहेको बोदे बर्साइन नगरपालिका कार्यालयमा पुगेको भए पनि नगरप्रमुख आतेशकुमार सिंहले उपचारका लागि सहयोग गर्न कुनै बजेट नरहेको बताएपछि निराश भएर फर्किएको उनको गुनासो छ। ‘चुनावमा गरिबको पनि मत चाहिने।अहिले गरिबलाई समस्या पर्दा बजेट छैन भन्नु हामीमाथि अन्याय हो’ उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.