|

रौतहट : सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि मनाइने छठ पर्व हिजो शनिबारबाट विधिवत् रूपमा शुरु भएको छ। यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ। यी दुवै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो।

यमपञ्चको गोवर्धन पूजा हुना साथ पवित्र छठ पूजाको तयारी आरम्भ हुने गरेको छ। व्रतालु महिला छठ पूजाको लागि पकाउन विभिन्न पकवानका लागि माटोको नयाँ चुलो बनाउने, माटोको ढकनालगायतका सामग्रीहरूको जोहो गरी किनमेल गर्ने गरिने चलन छ।

घरमा निर्माण गरिने सामग्रीहरूको पनि जोहो गर्दै व्रतको लागि बजारबाट किनेर ल्याइने सामग्रीको पनि किनमेल शुरु भएको छ। यतिबेला रौतहट सदरमुकाम गौरसहित सीमावर्ती भारतको वैरगनिया बजारहरूमा छठ पूजाका लागि कपडा किन्नेहरूको भीड लाग्न थालेको स्थानीय सतेन्द्र प्रताप सिंहले बताए। बजारमा सामानहरू किन्ने ब्रतालुहरूको भीडले बिहान ६ बजेदेखि राति १० बजेसम्म पसलहरूमा लाग्ने गरेको उनी बताउछन्।

व्रतालुहरूले बाँसबाट तयार हुने छैंटी, डालो, सुपली, नाग्लो, घैटो, माटोको ढक्कन, सरबा, हाथी, कोशियालगायतका सामानहरू व्रतालुहरूले घरमा ल्याउने क्रम जारी छन्। यसैगरी साठी धानको खोजी पनि गरेका छन्। लोपन्मोख हुँदै गएको साठी धानको छठ पूजामा निकै नै ठूलो महत्व छ, धानबाट निस्कने चामलबाट व्रत आरम्भ भएको दोश्रो दिन अर्थात् खरर्नाका दिनमा दूधमा उक्त चामललाई राखेर खीर बनाई छठी मातालाई प्रसाद चढाएपछि श्रद्धालु भक्तजनहरूलाई प्रसाद वितरण गरिने प्रचलन रहेको गौरका स्थानीय युवा पुष्पराज यादवले बताए। कसार, ठेकुवा तथा अन्य पकवानको लागि गहुँ, सरिहन धानलगायतको जोहो व्रतालुहरूले गर्न थालेका छन्।

पहिलो दिन ब्रतालुहरू चोखो खाना खाने गर्दछन् जसलाई (नहाय खाय) भनिन्छन् भने दोश्रो दिन दिनभरी निराहार बसेर साँझ साठी धानको चामलबाट बनेको खीर, पूरी, मिठाइ राखेर प्रसाद चाढउने गरिन्छ। तेश्रो दिन साँझको अर्घ दिने तथा चाथौ दिन बिहानको अर्घ दिएपछि छठ पर्व विधिवत रूपमा समापन हुने यादव बताउँछन्। छठ पर्वमा व्रत गरे दुःख र दरीद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ। छैठौँ दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नांलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति गीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने चलन रहँदै आएको छ।

यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने जनविश्वास रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्वअध्यक्ष शैलेन्द्र कुमार गुप्ताले बताए।

यता छठ पर्वको लागि नजिकै रहेको पोखरी, तलाउ, तथा नदीको किनारमा रहेका घाटहरूलाई बेहुली झै सजाउने कार्य भइरहेको छ। रौतहटको सदरमुकाम गौर, गरुडा, मौलापुर, बौधीमाइ शिवनगर तथा चन्द्रपुरका बजारहरूमा रहेका नदी, ताल तलैया अहिले बेहुली झैँ सिंगारिएको छन्। भक्तजनहरूलाई बस्न कठिनाइ नहोस भन्दै चादी नदीमा पूजाअर्चना गर्न सहज बनाउनको लागि घाटलाई व्यवस्थित बनाएको छठ पूजा समिति चन्द्रपुरका अध्यक्ष सुरेन्द्र साहले बताए।

त्यस्तै छठ पर्वको समयमा चोरी, लुटपाटलगायतको अपराधिक र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त पारी नियमित रूपमा गस्ती गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.