|

रामेछाप : उच्च प्रविधियुक्त सुख्खा क्षेत्र खानेपानी आयोजनाअन्तर्गत रामेछाप नगरपालिका–७ र ८ मा खानेपानी पुर्‍याएपछि वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका स्थानीय उपभोक्ता हर्षित भएका छन्। छतिवने खानेपानी आयोजनको अन्तर्गत घरघरमै खानेपानी पुगेपछि खानेपानीको निकै सहज भएको उपभोक्ता ज्ञानुका कार्कीले बताइन्।

छतिवनेको पानी आउनु पहिले पानीको लागि राति १२ बजेदेखि लाइन बस्नुपर्थ्यो अहिले ढुक्क भएको छ कार्कीले भनिन्। दैनिक २ घण्टा पानी तान्दा प्रत्येक उपभोक्ताको घरमा दुई सय लिटर पानी झर्ने गरेको छ। सुख्खा क्षेत्र नमूना खानेपानी आयोजना अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापको १७ करोडको लगानीमा छतिवने भूमिगत खानेपानी आयोजना निर्माण गरि बस्तीमा पुर्‍याइएको हो।

सुकाजोर खोलामा ५० घनमिटरको भूमितग ट्यांकी निर्माण गरि विद्युतको प्रयोग गरेर लिफ्ट गरिएको सो खानेपानी आयोजनाबाट रामेछाप नगरपालिका वडा नम्बर ७ र ८ का १ हजार २८९ परिवार लाभान्वित भएका छन्। चार इञ्चको जिआई पाइपमा पानी तानिएको लिफ्ट खानेपानीको भर्टिकल हाइट ८१२ मिटर रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्यालले बताए।

इन्जिनियर सल्यालका अनुसार परीक्षणको रुपमा तानिएको पनि उपभोक्तालाई वितरण गरिएको हो। खानेपानी आयोजना पूर्ण रूपमा सम्पन्न गर्न भने अझै एक वर्ष लाग्ने उनको भनाई छ। खानेपानीको चरम अभाव भएकाले परीक्षणको रूपमा झारिएको पानी दैनिक दुई घण्टा उपभोक्तालाई वितरण गर्ने गरिएको छतिवने खानेपानी उपभोक्ता समितिका सचिव ढालविक्रम कार्कीको बताए।  

सो खानेपानी आयोजनाको लागि खानेपानी तथा सरफाई डिभिजन कार्यालय रामेछापको १७ करोडबाहेक रामेछाप नगरपालिकाले पाइपलाइन विस्तारको लागि २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसैगरी रामेछाप नगरपालिका वडा नम्बर ८ ले ३ लाख रुपैयाँ बराबरको पानी तान्ने मोटर सहयोग गरेको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले बताए। भूमिगत ट्यांकी निर्माण गरिएको सुकाजोर खोलादेखि खानेपानी पुर्‍याएको बस्तीसम्म ३ वटा लिफ्ना रहेका छन्। जसमा एक सय घनमिटरका दुईवटा र दुई सय घनमिटरको एउटा पानी पोखरी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.