|

अमेरिकाको क्यालिफोर्निया जंगलमा भएको आगलागीमा परी मृत्यु हुनेहरूको संख्या २३ पुगेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। उद्धारकर्ताहरूले आगलागीबाट प्रभावितहरूको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ।

राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन्। 'आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,' बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताए।

आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ। भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ। आगलागी प्रभावित क्षेत्रका झण्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ।

बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो। आगलागीका कारण अस्पताल, ग्यास स्टेशन, रेष्टुरेन्टलगायत गरी छ हजार ७०० भन्दाबढी भवनहरु क्षतिग्रस्त भएका छन्।

आगलागी भएको जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रुपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ। उद्धारका लागि केही व्यक्तिहरूलाई खटाइएको भएपनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन।

उनीहरूले प्रारम्भिक रूपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरूकै कारण जंगलमा आगलागी भएको र उनीहरूको ज्यान गएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.