|

जनकपुरधाम : छठ पर्वको तयारीलाई लिएर जनकपुरधाम बजारमा सर्वसाधारणको चहल पहल बढेको छ। छठमा चाहिने आवश्यक सामग्रीहरू केरा, दउरा, सुप्पा, ढकीया, धुप, उखु, भन्टा, बेसार,अदुवाको बोट आदि सामान किन्न आउने तथा बेच्न जानेको खुद्रा बजारमा चहलपहल बढेको छ।

खास गरी सब्जी (तरकारी) बजारहरूमा छठ पर्वको अधिकांस सामग्रीहरू पाउने भएको कारणले सब्जी बजारहरूमा सर्वसाधारणहरूको भीड बढेको हो। जनकपुरको बजारमा प्रत्येक वर्ष झै यस वर्ष पनि भारतीय केरा ट्रकमा लोड गरेर ल्याइएको छ भने एक केराको घरीको हथा अनुसार ४०० देखि ६०० सम्ममा बिक्री वितरण हुँदै आएको तरकारी तथा फलफूल व्यवसायी संघ जनकपुरका अध्यक्ष रुदल साहले जानकारी दिए।

भारतको हाजिपुर, पटना तथा सिलिगुडी र नेपालको सप्तरीस्थित ईनर्वा र भण्टाबारीबाट आएका केराहरू जनकपुर क्षेत्रमा ट्रकका ट्रक बिक्री हुँदै आएको छ। भारतीय व्यापारीहरू प्रत्येक वर्ष जनकपुरमा केरा लिएर व्यापार गर्न आउँछन्। यसैगरी बासबाट बनेको बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त रहेको छ।

मुख्यतः सन्तान प्राप्ति, रोगनिदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसर लगायतका दर्जनौं पोखरी र सरोवरहरूलाई विभिन्न संघ-संस्था र युवा क्लवहरूले सरसफाई गरी बिजुल, पण्डाल लगायतका व्यवस्था मिलाउन व्यस्त छन्।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्राेत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा सम्मापन हुनेछ। छठ पर्व व्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्यवस्तुहरू अनिवार्य रुपमा वार्ने गरिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.